कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरीमध्ये १२% किशोरी

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाभित्र किशोरीहरू आमा बन्ने क्रम बढेको छ । हेटौंडा अस्पतालका अनुसार आव ०७५/७६ मा २० वर्षमुनिका २९७ किशोरी आमा बनेका छन् । उक्त वर्ष हेटौंडा अस्पतालमा २ हजार ४ सय ४२ जना सुत्केरी भएका थिए ।

हेटौंडा अस्पतालका अनुसार सुत्केरी भएका मध्ये १२ दशमलव १६ प्रतिशत किशोरी आमा बनेका छन् । ‘सबैभन्दा कम उमेरका १६ वर्षका २ किशोरी आमा बनेका थिए,’ अस्पतालको तथ्यांकमा छ ।


गत आवमा उपमहानगरपालिकाभित्र २० वर्षमुनिका ३३० जना किशोरीले पहिलो पटक आफ्नो गर्भ जाँच गराएका थिए । चार पटक गर्भ जाँच गराउनेको संख्या २९० रहेको छ । अघिल्लो आवमा हेटौंडा उपमहानगरपालिकाभित्र २० वर्षभन्दा कम उमेरका ५ सय २७ किशोरी गर्भवती भएका थिए । तीमध्ये १ सय ७९ गर्भवतीले मात्र चार पटक गर्भ जाँच गराएका थिए ।


‘यो तथ्यांकले बालविवाहसँगै कम उमेरमै गर्भवती हुँदा र गर्भमा रहेको शिशुको जोखिमलाई सहज ढंगले बुझ्न सकिन्छ,’ हेटौंडा अस्पतालका डा. प्रवीण श्रेष्ठले बताए । उनले भने, ‘बालविवाहका कारण गर्भवती महिला र शिशु उच्च जोखिममा छन् ।’ २० वर्षभन्दा माथिका २ हजार ८ सय ६७ जना महिलाले गत आवमा पहिलो पटक गर्भ जाँच गराए ।


यसमध्ये २ हजार ३ सय गर्भवतीले ४ पटक गर्भ जाँच गराएका छन् । अघिल्लो आवमा २० वर्षभन्दा बढी उमेर समूहका २ हजार ७ सय २८ महिलाले पहिलो पटक गर्भ जाँच गरेका थिए । ४ पटकसम्म १ हजार ३ सय ८९ गर्भवतीले गर्भ जाँच गराएका थिए ।


गर्भावस्थाका बारेमा पहिलो पटक परीक्षण गर्नेको संख्या उल्लेख्य भए पनि स्वास्थ्यका दृष्टिले आवश्यक ४ पटक गर्भ जाँच गराउने महिलाको संख्या भने निकै कम देखिन्छ । ४ पटक गर्भ जाँच गराउने गर्भवतीलाई सरकारले प्रोत्साहनस्वरूप यातायात खर्चसमेत प्रदान गर्ने गरेको छ । नियमित गर्भ जाँच गर्ने क्रममा गर्भमा रहेको भ्रूणको अवस्था, गर्भवतीको अवस्थाका बारेमा जाँच गर्ने गरिन्छ साथै आवश्यकताअनुसार गर्भवतीलाई सुई लगाउने, औषधि खुवाउने र पोषणसम्बन्धी अभिमुखीकरणसमेत गराउने गरिन्छ ।


संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हक स्थापित गरेको छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय हुने व्यवस्था रहेको छ । यी सबै ऐन, कानुन, नीति, कार्यविधिको व्यवस्था भए पनि बालविवाह कम हुन सकेको छैन ।


हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हेटौंडा उपमहानगरभित्र पनि विकट र साबिकका ६ गाविस मिसिएर हेटौंडा उपमहानगरपालिका बनेकाले त्यस्ता विकट स्थानमा शिक्षा र चेतनाको कमीका कारण बालविवाह कायमै रहेको बताए । हेटौंडा उपमहानगरभित्र गत आवमा २० वर्षभन्दा कम उमेरका ४० जना गर्भवतीले औषधिका माध्यमबाट गर्भपतन गराएका छन् भने शल्यक्रिया गरी ४८ जनाले गर्भपतन गराएका छन् । गत आवमा २० वर्षमुनिका ९६ जनाले औषधि प्रयोग गरी गर्भपतन गराएका थिए भने १२६ जनाले शल्यक्रिया गरी गर्भपतन गराएका थिए ।


हेटौंडा उमहानगरपालिका १९ वडामा विभाजित छ । उपमहानगरपालिकाभित्र विकट ग्रामीण बस्ती छन् । मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ, कैलाश गाउँपालिका र पूर्वी क्षेत्रमा पर्ने बकैया र वाग्मती गाउँपालिकामा कलिलै उमेरमा आमा बन्नेको संख्या बाक्लो छ ।


प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले भने, ‘बालविवाहलाई नियन्त्रण गर्न नसकेसम्म किशोरी अवस्थामा आमा बन्नेको संख्या घट्दैन । ’ प्रकाशित : श्रावण ६, २०७६ ०७:३७

प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुरमा ६.४९% जमिन मात्र सुरक्षित

प्रताप विष्ट

हेटाैडा — भूक्षय र पहिरोको दृष्टिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना–ठुला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् ।

जिल्लाको कुल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६६० हेक्टर (६ दशमलब ४९ प्रतिशत) जमिन मात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ । ७४ हजार १३२ हेक्टर जमिन (कुल जमिनको ३० दशमलब ७३ प्रतिशत) खहरे र बाढीपहिरोबाट सधैं जोखिममा छन् ।

त्यस्तै, ६३ प्रतिशत जमिन (५१ हजार हेक्टर भूभाग) भूक्षयका कारणले उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका पूर्वप्रमुख पुष्पराम थापाले बताए । उनले भने, ‘अवैज्ञानिक खेती प्रणाली, भूमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रूपमा पहिरो र भूक्षयको जोखिममा रहेका छ ।’

भूक्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रो हो । भूसंरक्षणका महत्त्वपूर्ण उपाय अवलम्बन नगरिएकाले मकवानपुरको ठूलो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । भौगर्भिक सूचना प्रणालीबाट अध्ययनपश्चात् मकवानपुरमा एक हेक्टर क्षेत्रफलभन्दा सानो पहिरोको संख्या ७५१ छ । एकदेखि २ हेक्टरभित्रका पहिरो १५६ वटा, दुईदेखि तीन हेक्टरसम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा रहेको छ । तीन हेक्टरदेखि १० हेक्टरसम्म क्षेत्रफल ओगटेको पहिरो ८५ वटा रहेको भूसंरक्षण कार्यालयका पूर्वप्रमुख थापाले बताए ।

५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशील अवस्थामा रहेका छन्् । संवदेनशील पहिरो मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गापास्थित साविकको नामटार गाविसमा मात्र १३ वटा छन् । भूकम्पले मात्र साविकको नामटार गाविसको १, २ र ३ नम्बर वडाको जमिन चिराचिरा पारेको छ । उक्त क्षेत्रका भूकम्पपीडितहरू बस्ती नै छाडेर अन्यत्र टहरा बनाएर बसेका छन् । नामटारका अधिकांश भूकम्पपीडितले बस्ती नै स्थानान्तरणको माग गरिरहेका छन् ।

नामटारको तारेभीर, भीमफेदी गापाअन्तर्गत पर्ने साविकको भैंसे ५ को रातो पहिरो, राक्सिराङ गापामा पर्ने राक्सिराङ गाविस ५ को परेवाभीरको पहिरो र इन्द्रसरोवर गापाको साविकको मार्खु गाविस ९ को छहरे पाखोको पहिरो सबैभन्दा बढी संवेदनशील अवस्थाका छन् । यी चारवटा पहिरोका कारण नामटार तथा राक्सिराङको बस्ती र मार्खुको पहिरोले कुलेखानी जलाशय उच्च जोखिममा रहेको कार्यालय पूर्वप्रमुख थापाले बताए । उनभने, ‘ समयमै विशेषगरी यी चार वटा पहिरोको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ सबैको ७४ध्यान जानु जरुरी छ ।’

जिल्लाको कुल भूभागको ४८ दशमलब ७५ प्रतिशत क्षेत्रफल चुरे क्षेत्रले ओगटेको छ । भूबनोटको दृष्टिकोणले यस जिल्लाको लागि यो चुनौतीको रूपमा रहेको छ । चुरे क्षेत्रको खहरेबाट बर्सेनि मकवानपुर जिल्लाको २ सय बिगाभन्दा बढी उर्वरा जमिन बगरमा परिणत हुँदै आएको छ भने सय परिवारभन्दा बढी सुकुम्वासी बन्दै आएका छन् । मनहरी, हाँडीखोला, पदमपोखरी, चुरियामाई, हटिया, हाँडीखोला, छतिवन, फापरबारी, राईगाउँ र धियाल चुरे क्षेत्रमा पर्दछन् ।

ती क्षेत्रमा रहेका सरकारी वन होस् वा उपभोक्ताहरूले संरक्षण गरेको जंगल होस् अहिले सबैभन्दा बढी मासिएका छन् जसले गर्दा आगामी दिन चुरे क्षेत्रको भूक्षय र विनाशको दरमा वृद्धि हुने कुरामा विज्ञ एकमत देखिन्छन् । जंगल मास्ने क्रममा र मानवीय गतिविधिमा भने कमी आउन सकेको छैन । मकवानपुरमा मात्र करिब १५० किलोमिटरभन्दा बढी लम्बाइमा फैलिएको चुरे पहाडको वन विनाशका खहरेले चुरे आसपासका बस्ती र उर्वर जमिनलाई क्रमशः बगरमा परिणत हुँदै गएका छन् ।

शिवालिक क्षेत्रका जंगल पनि त्यही गतिमा मासिँदै छन् । विगतमा तत्कालीन जिविसले निर्देशिका जारी गरेसकेपछि सरकारी तथा गैरसरकारी संस्थाहरूले आफूखुसी त्यस क्षेत्रमा योजना सञ्चालन गर्न नमिल्ने जिविसको ठहर थियो । तर सबैले आफूखुसी काम गरिरहेका छन् । चुरे शिवालिक क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरूले काम गरिरहेका छन् ।

प्रभावकारिता भने अत्यन्त न्यून छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको चुरे क्षेत्रको विनाश र भूक्षय बर्सेनि २ दशमलब ७५ प्रतिशतले हुने गरेको छ । यो क्रम नरोकिए बर्सेनि जंगलको विनाश र भूक्षयको प्रतिशत बढ्दै जाने भएकाले कम्तीमा दुई दशकपछि मुलुकको अन्नभण्डारको रूपमा चिनिएको तराईका जिल्लाका उर्वरा जमिन बालुवामा परिणत हुने जिल्ला समन्वय समितिको ठहर छ । चुरे संरक्षणका लागि चुरे राष्ट्रपति कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन गरिएको छ । उक्त कार्यक्रमले चुरे संरक्षणको काममा गति प्रदान गरेको थियो ।

गत आवदेखि चुरे राष्ट्रपति कार्यक्रम स्थानीय तहमा गएको छ । विगतमा मकवानपुरमा बकैया गापाको केही क्षेत्रमा संरक्षणका काम पनि भएका थिए । तराई क्षेत्रलाई दुःख दिन बकैया नदीको संरक्षणको काम भएको थियो । ८ सय ८५ किमि लामो रहेको उक्त चुरे क्षेत्र पहाडी तथा तराईका गरी ३४ जिल्लामा फैलिएको छ । पर्वतीय शृंखलामध्ये सबैभन्दा कान्छो र होचो पहाडको रूपमा रहेको चुरे क्षेत्रको माटो अस्थिर र भिरालो भएकाले वर्षाको पानीले नै यो क्षेत्र भूक्षय तथा पहिरोबाट ग्रसित हुने गर्दछ ।

मुलुकको १२ दशमलब ७ प्रतिशत भूभाग ओगटेको चुरे क्षेत्रको विनाश आफैंमा मात्रै सीमित नरहेर तराईको उर्वरा भूमिको विनाशको कारण बन्न पुगेको छ । ०२१ देखि ०३६ सम्ममा प्रतिवर्ष १८ हजार ८ सय हेक्टरका दरले जंगल र जमिन विनाश हुँदै गएको थियो ।

चुरे क्षेत्रको बनावटै अति भिरालो एवं कमलो माटो, गेग्रिरिन र बालुवा मिलेर बनेको छ जसले गर्दा मानवीय गतिविधिबिना नै
जोखिममा रहेको उक्त क्षेत्र अहिले मानवीय गतिविधि र विकास निर्माणका चापमा परेकाले चुरे क्षेत्रको आयु क्रमशः छोटिँदै गएको छ । चुरे क्षेत्रको आयुसँग तराई क्षेत्रको उर्वरा जमिनको भविष्य पनि गाँसिएको छ, त्यसैले चुरे क्षेत्रको दिगो संरक्षण, संवर्द्धन र विकासका कार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने धारणा विज्ञहरूको छ ।

चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने साविकको धियाल गाविसबाट विगतमा बस्ती नै उठाएर अन्यत्र स्थानान्तरण गरिएको थियो । केहीपछि पुनः धियालमा अतिक्रमण गरेर बस्ती नै बस्यो । जंगलहरू फँडानी भए भने अर्कोतर्फ ढंगा र बालुवा रातारात तराईतिर ढुवानी गरियो । चुरे क्षेत्रको दोहनको कारणले तराई क्षेत्रमा हिउँदमा पानी सुक्ने र वर्षायाममा बस्ती डुबानमा पर्दै आएको छ ।

भूक्षय र पहिरोको उच्च जोखिममा रहेका मकवानपुरको अधिकांश भूभागमा डोजर चलाएर पहाडलाई घाइते बनाउने काम भएको छ भने अर्कोतर्फ मुलुक ठूला सिमेन्ट उद्योगहरू मकवानपुरमा छन् । त्यसका चुनढुंगाको खानी पनि यहीँ नै छन् । जसले गर्दा मकवानपुरका विभिन्न भागका पहाडलाई कोतर्ने र खोतल्ने काम गरिएको छ । मकवानपुरमा हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट र रिद्धिसिद्ध सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी सबै खानी मकवानपुरका उत्तर–पश्चिमी क्षेत्रको पहाडी भूभागमा छन्।

प्रकाशित : श्रावण ४, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×