कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नारायणीमा सानो जहाज

सय फिट लम्बाइ र २५ फिट चौडाइ क्रुजमा २ सय जना अट्ने छन् । पहिलो तला वातानुकूलित (एसी) र दोस्रो तला खुला हुने छन् 
रमेशकुमार पौडेल

चितवन — पर्यटकीय उद्देश्यका लागि नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलपुरदेखि देवघाटसम्म चल्ने दुई तले क्रुज सिप (सानो जहाज) को तल्लो खण्ड बनाउने काम पूरा भएको छ ।

नारायणीमा सानो जहाज

पर्यटकहरू बस्ने दुई तहको माथिल्लो खण्ड बनाएर आउँदो दसैंदेखि सेवा सुरु गर्ने सञ्चालकको योजना छ । राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले देशमै पहिलो पटक क्रुज सञ्चालन गर्न लागेको हो ।


प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सय फिट लम्बाइ र २५ फिट चौडाइ क्रुजमा दुई सय जना अट्ने छन् । पहिलो तला वातानुकूलित (एसी) हुने छ । दोस्रो तला खुला हुने कँडेलले बताए । भारतीय इन्जिनियर र प्राविधिकहरू चितवन नै आएर क्रुज बनाउन जुटेका हुन् । क्रुजको स्टेसन नारायणगढ बजारदेखि ६ किलोमिटर पश्चिम मंगलपुरको ज्ञानेश्वर सामुदायिक वननजिक काप्रेघाटमा रहने छ ।


काप्रेघाटमा नै क्रुज बन्दै छ । दुईवटा इन्जिन रहने क्रुजको तल्लो खण्ड बनाउने काम गत चैतको अन्तिमबाट सुरु भएको थियो । निकै महत्त्वपूर्ण मानिएको यो खण्डलाई बिहीबार पानीमा राखिएको थियो । क्रुजका आधार खण्ड पानीमा मज्जाले तैरिएपछि निर्माणमा संलग्न प्राविधिक र कम्पनी सञ्चालकहरू उत्साहित भए । क्रुजको महत्त्वपूर्ण खण्ड तयार भएको हुँदा माथिल्लो खण्ड दुई महिनाभित्रै बन्ने प्रबन्ध निर्देशक कँडेलले बताए ।


‘हामी एक वर्षदेखि अध्ययन र अनेक खालका परीक्षणमा संलग्न थियौं । नारायणी नदीमा क्रुज चल्न सक्छ भन्ने प्रमाणित भएपछि चैतको अन्तिम साताबाट निर्माणमा नै जुट्यौं । क्रुजको महत्त्वपूर्ण तल्लो खण्ड बने पनि पानीमा तैरन सक्ने/नसक्ने पक्का गरेपछि बल्ल आधिकारिक रूपमा बोलेका छौं,’ कँडेलले भने । भारत केरलाको ग्रान्डियर मरिन इन्टरनेसनलका इन्जिनियर र प्राविधिकहरू काप्रेघाटमा नै आएर क्रुज बनाउँदै छन् ।


निर्माण सकिएपछि देखिने जहाज ।


निर्माण कम्पनीका निर्देशक इन्जिनियर ओजुस सेवासटिएनका अनुसार नर्वेजियन प्रविधिको प्रयोग गरेर क्रुज बनेको छ । ‘हामीले भारतका नदी र समुद्रका लागि पनि काम गर्दै आएका छौं । नारायणी नदीको पानीको स्तर, रफ्तार र अन्य प्राविधिक विषयलाई ख्याल राखेर काम गर्नुपर्ने भएका कारण यही नै आएर क्रुज बनाउन थालेका हौं । दुई महिनाभित्र निर्माण र साजसज्जाको सबै काम पूरा हुने छ,’ सेवासटिएनले भने ।


ज्ञानेश्वर सामुदायिक वन पछिल्लो समय भरतपुर नारायणगढ क्षेत्रको नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको छ । वन समितिले काप्रेघाट क्षेत्रमा पर्यटन प्रवर्द्धनको योजना बनाएको थियो । त्यही क्षेत्रमा राईनो वाटर इन्टरटेन्टमेन्ट फ्रालिले त्रुजको पोर्ट बनाएको छ । क्रुज चढ्नेहरूको प्रवेश शुल्क वन समितिले पाउने सम्झौता भएको कँडेलले बताए । वन समितिका अध्यक्ष राजन अधिकारी क्रुज सिप देशकै प्रमुख पर्यटकीय आकर्षण हुने बताउँछन् ।


‘नारायणीजस्तो ठूलो नदीमा जल यातायातको समेत चर्चा हुने गरेको छ । यस्तो सम्भावना भएको नदीमा पर्यटकीय उद्देश्यले क्रुज सञ्चालनको तयारी अन्तिम चरणमा छ । विदेश गएर समुद्रमा मात्रै क्रुजको आनन्द लिएकाहरूलाई अब देशभित्रै यो सेवा उपलब्ध हुने भएको छ,’ वनका अध्यक्ष राजन घिमिरेले भने । बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा क्रुज सञ्चालन गर्ने योजना छ । दैनिक ६ सय जनाले सेवा लिन सक्ने छन् ।


‘बिहान ब्रेक फास्ट खाँदै, अपराहृनमा लन्च खाँदै र साँझ डिनर खाँदै त्रुजको मज्जा लिन सकिने छ । एक पटक चढेपछि क्रुजमा तीन घण्टा बिताउन सकिने छ,’ कँडेलले भने । मंगलपुर काप्रेघाटबाट छुटेको क्रुज देवघाट पुगेर काप्रेघाटमै फर्केर यात्रु ओराल्ने छ । चितवन वन्यजन्तु हेर्नका लागि देशविदेशमा प्रख्यात छ । ज्ञानेश्वर क्षेत्रमा दुर्लभ एकसिंगे गैंडा पनि बस्ने गर्छ । गैंडा हेर्न सौराहा आउने पर्यटक पनि क्रुज चढ्न मंगलपुर आउने छन् ।


‘चितवनमा वन्यजन्तु हेर्न भन्दै वर्षमा दुई तीन लाख पर्यटक आउने गरेका छन् । क्रुजले पनि उनीहरूलाई मंगलपुर आउन अभिप्रेरित पक्कै गर्ने छ । हामी प्रवर्द्धनका लागि योजना बनाएरै लागेका छौं,’ कँडेलले भने । क्रुज निर्माणमा ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको कँडेलले जानकारी दिए ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?