कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रबलीकरणले गति लिएन

हेटौंडा — भूकम्पले आशिंक क्षति भएका निजी आवास प्रबलीकरण (रेक्टोफिटिङ) ले गति लिन नसकेको पुनर्निर्माणमा खटिएका प्राविधिकले बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अव्यवाहारिक नीति र कम अनुदान रकमका कारण प्रबलीकरणले गति लिन नसकेको हो । 

प्रबलीकरण गर्न २ किस्तामा १ लाख रुपैयाँ दिने नीति प्राधिकरणको छ । एक लाख रुपैयाँले प्रबलीकरण नहुने भएकाले लाभग्राही इच्छुक नदेखिएका हुन् । मकवानपुमा प्रबलीकरणतर्फ १२ हजार ९ सय ४६ लाभग्राही छन् । तीमध्ये ७ हजार २ सय ४६ जना लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ लगेका छन् ।


‘दोस्रो किस्ता एकजनाले पनि लगेका छैनन्,’ जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) मकवानपुरका इन्जिनियर रविन पाठकले भने, ‘प्रबलीकरणका बारेमा सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने देखिन्छ ।’ प्रबलीकरण गर्ने विधि, ज्ञान र अनुदान रकमको कमीका कारणले मकवानपुर जिल्लामा गति लिन नसकेको विज्ञको ठम्याइ छ । भूकम्प गएको ५० महिना बितिसक्दा मकवानपुरका भूकम्पपीडितमध्ये ४५ प्रतिशतभन्दा बढीले निजी आवासीय भवन निर्माण गरेका छन् ।


अनुदान सम्झौता भएकामध्ये ८२ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन् । अनुदान सम्झौता गरेकामध्ये हालसम्म मकवानपुरमा १३ हजार ७० जना ४५.२१ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको कार्यान्वयन एकाईका प्रमुख सुदीप आचार्यले बताए । उनका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३४ हजार ३ सय ९ मध्ये २७ हजार ८ सय ३४ जना अर्थात ८० प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।


करिब ७ हजार लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । अनुदान सम्झौता भएका लाभग्राहीले प्रथम किस्ताको रकम बुझेर लगेको कार्यान्वय एकाईका इन्जिनियर रविन पाठकले बताए । उनले भने, ‘२२ हजार १ सय ६२ अर्थात् ९० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लगेर घर बनाइरहेका छन् ।’ तेस्रो किस्ता १७ हजार २७ लाभग्राहीले बुझेर लगेका छन् ।


१३ हजार ७० जना लाभग्राहीले घर निर्माण गरिसकेका छन् । यस अवधिमा १४ लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । भवन बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन् । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा बढी थाहा नगरपालिकाका भूकम्पपीडितले आवासीय भवन निर्माण गरिसकेका छन् । यहाँ २ हजार ९ सय ९५ घर बनिसकेका छन् ।


हेटौंडा उपमहानगरपालिकामा २ हजार १ सय, वाग्मती गाउँपालिकामा ६ सय ५०, बकैयामा ५ सय ५ घर पुनर्निर्माण गरिएको छ भने मकवानपुरगढीमा ७ सय, मनहरीमा १ हजार ४ सय ८० निजी भवन पुनर्निर्माण भइसकेको पाठकले बताए । यसैगरी, भीमफेदी गाउँपालिकामा १ हजार ४ सय ८०, राक्सिराङमा ८ सय, कैलाशमा १ हजार १ सय र इन्द्रसरोवरमा ९ सय ९८ घर पुनर्निर्माण भइसकेका छन् ।

प्रकाशित : श्रावण २, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?