१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाढीपहिरो : महिला–बालिका बढी प्रभावित

सोमबार दिउँसोसम्म हेटौंडा–सिस्नेरी–काठमाडौं सडक खण्डबाहेक सबै सडक सुचारु, महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन लोकपथको अवरोध हट्यो, बीपी राजमार्गअन्तर्गतको काभ्रे–सिन्धुली खण्डमा एकतर्फी सवारी सुचारु 

मकवानपुर, हेटौंडा र धादिङ — अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेशमा सबैभन्दा बढी महिला र बालिका प्रभावित भएका छन् । प्रदेशभर (उपत्यकाबाहेक) हालसम्म १७ जनाको मृत्यु भएको र पाँच हराइरहेका छन् । 

बाढीपहिरो : महिला–बालिका बढी प्रभावित

प्रहरीले हालसम्म बाढीपहिरोमा फसेका चार सय २३ जनालाई उद्धार तथा स्थानान्तरण गरिसकेको प्रदेश ३ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले जनाए ।


उनका अनुसार प्राकृतिक विपद्मा परी १३ घाइते भएका छन् । मृत्यु भएकामा अधिकांश महिला र बालिका छन् । हालसम्म मृत्यु भएकामध्ये महिला ७ , बालिका ६ र पुरुष चार जना रहेका छन् । घाइते १३ मध्ये पाँच महिला, ६ पुरुष र एक/एक बालक र बालिका रहेका छन् । पाँच जना बेपत्ता भएकामध्ये तीन पुरुष र एक/एक जना महिला र बालिका छन् ।


पाँच दिन अवधिमा मकवानपुरमा सोमबारसम्म बाढीपहिरोका कारण ५ जनाको मृत्यु र पाँच जना घाइते छन् । प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका अनुसार बाढीपहिरोका कारण हालसम्म सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् । दुईजना घाइते भएका छन् । त्यस्तै, काभ्रेमा तीन जनाको मृत्यु हुनुको साथै दुई घाइते छन् ।


धादिङमा दुई जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता छन् । अर्को एक जना घाइते अवस्थामा रहेका छन् । त्यस्तै, बाढीपहिरोका कारण सिन्धुलीमा पनि दुई जनाको मृत्यु र तीन जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । बाढीपहिरोले हालसम्म १९ वटा घरगोठमा क्षति पुर्‍याएको प्रहरीको तथ्यांकले देखाएको छ । पाँच दिनको अवधिमा दुई बोलेरोका साथै एक/एक वटा ट्रक, एक्जाभेटर, ट्याक्टर, ट्रक र टिपरमा क्षति भएको प्रदेश प्रहरी प्रवक्ता पौडेलले बताए ।


मानवीय तथा भौतिक क्षति बढेसँगै प्रहरीहरू उद्धारमा खटिएका छन् । प्रदेशमा करिब तीन हजारभन्दा बढी प्रहरी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएको प्रवक्ता पौडेलले बताए । ‘कार्यालय, कारागार र हिरासतको सुरक्षामा रहेका प्रहरीबाहेकका सबै प्रहरीहरू अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा खटाएका छौं,’ उनले भने, ‘हाम्रो साधन स्रोतले भ्याएसम्म उद्धारका काममा खटिएका छौं ।’ उनका अनुसार प्रदेश २ मा समेत प्रदेश ३ बाट प्रहरी उद्धारका लागि पठाइएको छ ।


उनका अनुसार सोमबार दिउँसोसम्ममा हेटौंडा–सिस्नेरी–काठमाडौं सडक खण्डबाहेक सबै सडक सुचारु रहेका छन् । महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन लोकपथमा भएको अवरोध हटिसकेको छ भने बीपी राजमार्गअन्तर्गतको काभ्रे–सिन्धुली खण्डमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।


विस्थापितहरू सामुदायिक भवनमा

१५ दिनको नवजात शिशु च्यापेर शिलुमाया रुम्बा मकवानपुरको भीमफेदीस्थित सामुदायिक भवनमा आश्रय लिएर बसिरहेकी छन् । त्यस्तै, स्थानीय सुमित्रा गोम्जा पनि २० दिनको बच्चा च्यापेर त्यही भवनमा बसिरहेकी छन् । उक्त भवनमा रुम्बा, गोम्जा मात्र होइन ६ घरधुरीका ३० जना चार दिनयता आश्रय लिएर बसेका छन् ।


सामुदायिक भवनमा आश्रय लिएकामा १५ दिनदेखि २ महिनासम्मका चार जना सुत्केरी छन् । गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘उक्त टोलबाट २६ घरका ९२ जनालाई उद्धार गरी विभिन्न ठाउँमा ल्याएर राखेका थियौं, वर्षा कम भएपछि धेरै जना फर्किसकेका छन् ।’


तर शिशुसहितका सुत्केरीहरू अझै समुदायिक भवनमै बसिरहेको उनले बताए । ‘उनीहरूको घर जोखिममा छ,’ अध्यक्ष लामाले भने, ‘सामुदायिक भवनमा बसेकामध्ये नवजात शिशु र सुत्केरीलाई समस्या छ ।’ वडा सदस्य सनककुमार घिसिङले स्थानीय रेडक्रस र गाउँपालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।


खेत बन्यो बगर

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा आइतबार राति भारी वर्षापछि आएको बाढीले सडक, उर्वरा जमिन र तरकारी खेतीमा क्षति पुर्‍याएको छ ।


हालसालै बनाइएका विद्यालय भवन र केही घर पहिरोले बगाएको छ । केही पसल र घरभित्र भेल पसेको छ । थाहा नगरपालिकाको २, ३, ७ र ८ वडामा बाढीले बढी क्षति पुर्‍याएको हो । बाढीले दामन–डाँडाबास सडकको अधिकांश भाग बगाएको छ ।


थाहाको घर्तीखोला र फाँटबजारमा सयौं रोपनीमा लगाएको तरकारी खेती बगरमा परिणत भएका छन् । ‘थाहा नगरपालिकाको २ र ३ मा करिब ३ सय रोपनीका लगाएको तरकारी खेती बाढीले नष्ट गरेको छ,’ थाहा नपाका मेयर लवशेर विष्टले भने, ‘ तरकारी खेतीमात्र करोडौको क्षति भयो ।’


यसैगरी, दामन–डाँडाबास सडक खण्डको झन्डै एक किलोमिटर सडककै बगाएको छ । बाढीले खइटे खोलाको पुललाई क्षति पुर्‍याएको छ । घर्तीखोलास्थित बायखोला र स्थानीय खहरे खोलाले केही गोठसमेत बगाएको छ । गोठमा राखेको आलुसमेत बाढीले बगाएको स्थानीय लक्ष्मण विष्टले बताए । थाहा नगरपालिका ८ आग्रामा हालै निर्मित पञ्चकन्या प्राविको चार कोठे भवन पहिरोले बगाएको छ ।


यसैबीच, मकवानपुरमा भारी वर्षाले खहरे खोलासँगै आएको पहिरोले घर बगाउँदा सोमबार आमाछोरीको मृत्यु भएको छ । इन्द्रसरोवर १ टौमासको खहरे खोलाले घरसहित बगाउँदा कान्छीमाया बलामी र बबिता बलामीको मृत्यु भएको हो । उनीहरू घरमा सुतिरहेको अवस्थामा खहरेसँगै आएको पहिरोमा परेका हुन् । प्रहरी र गाउँलेको खोजीपछि शव फेला पारेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


होङ्सी सिमेन्टमा क्षति

मध्यरातमा उर्लेको धादिङको मलेखु खोलाले चिनियाँ सहयोगमा निर्माणाधीन होङ्सी नारायणी सिमेन्टमा क्षति पुर्‍याएको छ । बाढीले मजुदर आवास, निर्माणाधीन संरचनामा क्षति पुगेको हो । बाढीले ३ वटा जिप, २ टिपर, २ डोजरसमेत बगाएको छ । खोलामा बाढी आएपछि अढाइ सय चिनियाँ र ३ सय नेपाली मजदुरले लत्ताकपडासमेत झिक्न पाएनन् ।


मजदुर र प्राविधिक बस्ने आवास घेरेर बाढी दुवैतर्फ पसेपछि २ कोरियाली र ५ चिनियाँबीचमै फसेका थिए । ती सातै जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरिएको स्थानीय व्यवस्थापक तुलसी थापाले बताए । दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित आएको उद्योगको आगामी ९ महिनामा निर्माण भई उत्पादन थाल्ने लक्ष्य थियो ।

प्रकाशित : असार ३१, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?