कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

डुबान प्रभावितको माग : खोलामा स्थायी तटबन्ध

सुवास बिडारी

हेटौंडा — हरेक वर्ष वर्षा सुरु भएसँगै केही दिनका लागि घरबाट अन्यत्र सर्नु उनीहरूका लागि सामान्य भइसक्यो । उक्त घटना शुक्रबार पनि दोहोरियो । हेटौंडा–५, गर्दोई, शान्तिनगर, क्याम्पा डाँडा तथा कर्राको तल्लो भागका स्थानीयवासी कर्रा खोलाको पानी बस्ती छिरेसँगै आफ्नो घर छाडेर नजिकको आफन्त वा स्थानीय तहले तोकिदिएको स्थानमा गएर रात काटे ।

डुबान प्रभावितको माग : खोलामा स्थायी तटबन्ध

‘तलको कोठाभरि नै पानी पस्यो । हामीले माथिल्लो तलामा बसेर रात काट्यौं । सुतेको छैन,’ हेटौंडा ५, गर्दोईकी स्नेहा थापाले शनिबार भनिन् । उनीहरू उक्त स्थानमा बसाइँ सरेर आएको करिब आठ वर्ष भए पनि प्रत्येक वर्ष यस्तै समस्याबाट गुज्रिन बाध्य भएको बताइन् ।


‘हरेक वर्ष हामी डुबानमा पर्ने अनि प्रहरी, सशस्त्र र सेनाहरू उद्धारका लागि आउने भइरहेको छ,’ उक्त स्थान हेटौंडा मुख्य बजारबाट करिब चार किलोमिटर पूर्वपट्टि पर्छ । हेटौंडा ५, शान्ति नगरका मिलन अर्यालले कर्रा खोलाको बहाब क्याम्पा खेल मैदान हुँदै बस्ती डुबाएसँगै आफूहरू आफन्तको घरमा रात काटेको बताए । ‘राति पानी रोकिएसँगै विस्तारै कर्रा खोलाको बहाब घट्यो र हामी डुबान मुक्त भयौं ।’ उनका अनुसार डुबानपश्चात अहिले खानेपानी र विद्युत् नहुँदा समस्या भइरहेको छ । ‘घरहरू सफा गर्न आवश्यक पानी नहुँदा समस्या भइरहेको छ । सबैको घरहरू दुर्गन्धित अवस्थामा छन्,’ उनले थपे ।


हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानियाँका अनुसार कर्रा खोलाले हरेक वर्ष त्यस क्षेत्रलाई डुबानमा पार्ने भएका कारण दीर्घकालीन रूपमा समस्या समाधान गर्न जरुरी रहेको छ । ‘वडासँग ठूलो योजना सञ्चालन गर्ने बजेट हुँदैन । प्रदेश र संघीय सरकारले त्यस क्षेत्रमा ढल निर्माण र दीर्घकालीन समाधान हुने गरी कर्रा खोलामा बलियो तटबन्धन गरिदिएको खण्डमा यो समस्या सधैंका लागि समाधान हुन्छ । अन्यथा हरेक वर्ष यो समस्या दोहोरिन्छ,’ उनले भने, ‘यस विषयमा स्थानीय, प्रदेश र संघीय सरकार जानकार भए पनि बेवास्ता गरेको छ ।’


उनका अनुसार तत्कालका लागि समस्या समाधान गर्न हेटौंडा–५ र ८ को सिमानामा रहेको कर्रा खोलाको मूल प्रवाहलाई परिवर्तन गर्न स्काभेटरको सहारामा खोला खन्ने काम भइरहेको छ । कर्रा खोलाले आफ्नो मूल प्रवाहलाई परिवर्तन गरेर त्यस क्षेत्रमा प्रवेश गरेसँगै करिब दुई सय ५० घर डुबानमा परेको उनले बताए । डुबान प्रभावितलाई सेना, प्रहरी र सशस्त्रको सहारमा त्यस क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ स्थानान्तरण गरिएको र हेटौंडा ५ स्थित बालज्योति माविमा खानेबस्ने व्यवस्था गरिएको उनले बताए । दुर्गन्धका कारण रोग फैलन सक्ने डर त्यस क्षेत्रको स्थानीयमा रहेको भन्दै उनले त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले शिविर आयोजना गर्न जरुरी रहेको बताए ।


हेटौंडा खानेपानी व्यवस्था बोर्डले विद्युत् अभावको कारण खानेपानी आपूर्ति गर्न नसकेको जनाएको छ । ‘हामीले वडासँगको सहकार्यमा ट्यांकरमार्फत् खानेपानी वितरण गरिरहेका छौं । विद्युत् प्रवाह सुरु भएसँगै त्यस क्षेत्रमा रहेको हाम्रो ट्यांकी सञ्चालनमा आउने छ र हामी पानी वितरण गर्ने छौं,’ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख सुदर्शन ढकालले भने ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मकवानपुरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मकवानपुरको थाहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा खोला र भेलले बगाएर तीन जनाको मृत्यु भएको हो ।


मकवानपुरको थाहानगरपालिका–३ मा दम्की खोलाले बगाउँदा १४ वर्षीया स्कुले छात्राको मृत्यु भएको छ । स्थानीय जनकल्याण माविमा ६ कक्षामा अध्ययनरत बालिका सन्तमाया बलामी स्कुलबाट घर फर्कने क्रममा खोला तर्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


मकवानपुरको इन्द्रसरोवर–२ मा शुक्रबार साँझ भेलले बगाउँदा एक युवतीको मृत्यु भएको छ । इन्द्रसरोवर २, हेचुलीमा १४ वर्षीया सृष्टि डिमडुङगलाई घरनजिकै आएको भेलले बगाएको प्रहरीले जनाएको छ । कैलाश गाउँपालिका–१० मा शुक्रबार साँझ खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । कैलाश १० का अन्दाजी ५०/५५ वर्षका सानु कान्छा सुनारलाई डुडु खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।

प्रकाशित : असार २९, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?