१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हनुमन्ते त्रास

बालकोट, दुवाकोट, निकोसेरा क्षेत्रमा सडक निर्माणका क्रममा परम्परागत रुपमा वर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास टालिएपछि प्रत्येक वर्ष डुबान समस्या
लीला श्रेष्ठ

(भक्तपुर) — वर्षा लाग्यो कि हनुमन्ते खोला आसपासका बासिन्दालाई सधैंजस्तो त्रास हुन्छ । यसपटक पनि लगातारको वर्षासँगै आएको बाढीले आसपासका बस्ती प्रभावित बनायो । राममन्दिरस्थित शान्ति निकेतन मावि जलमग्न छ । विद्यालयको अस्थायी टहरा डुबेको छ । 

हनुमन्ते त्रास

प्रत्येक वर्ष डुबानको सास्ती झेल्दै आएको शान्ति निकेतन तीन दिनयता थप डुबानमा छ । ‘बुधबारबाट परेको वर्षाता कारण पुनः विद्यालय डुबेको छ,’ विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले भने, ‘डुबानमा परेको १३ मध्ये ११ वटा कक्षाकोठा सञ्चालित थिए, डेक्सबेन्च, शैक्षिक सामग्री लगायतमा क्षति पुग्यो ।’


कक्षाकोठा डुबानमा परे पनि पढाइलाई भने प्रभावित हुन नदिने विद्यालयले जनाएको छ । भूकम्पका कारण आंशिक क्षति भएको पुरानो भवनमा कक्षा सञ्चालित छ । एउटै कोठामा तीनवटा कक्षासम्मका विद्यार्थीलाई अध्यापन गराउन बाध्य भएको प्रधानाध्यापक कर्माचार्य बताउँछन् । ‘पुस्तकालय, ल्याब, कम्प्युटर कक्षा, स्टाफ कक्ष, प्रशासन लगायतमा विद्यार्थीलाई अध्यापन गराउँदै आएका छौं,’ उनले भने ।


२०२६ सालमा स्थापित शान्ति निकेतनमा शिशुदेखि कक्षा १० सम्मका ५ सय ६७ विद्यार्थी अध्ययनरत छन् । करिब ११ आना क्षेत्रफलमा निर्मित ४ तले सरकारी भवन अपुग भएपछि विद्यालयले जग्गा भाडामा लिएर कक्षाकोठा निर्माण गरी विद्यालय सञ्चालन गरेको छ । भाडामा बनेको अस्थायी र स्थायी १३ वटै कक्षाकोठा डुबानमा परेको छ । डुबानले कष्ठपूर्ण रूपमा पुस्तकालय, ल्याब, कम्प्युटर कक्षा, स्टाफ कक्ष, प्रशासन लगायतमा अध्यापन गराएको विद्यालयले जनाएको छ ।


२१ वर्षदेखि शान्ति निकेतनमा अध्यापन गराउँदै आएका कर्माचार्यका अनुसार २०७२ पछि पटकपटक विद्यालयले डुबान झेल्दै आएको छ । ‘पहिले पहिले आक्कलझुक्कल रूपमा हनुमन्तेमा आएको बाढी बस्ती छिर्थ्यो,’ उनले भने, ‘अहिले पानी पर्‍यो कि डुबानको डर हुन्छ ।’ डुबानमा परेको कक्षाकोठाको विकल्पका रूपमा क्षतिग्रस्त विद्यालय भवनमा विद्यार्थी अध्यापन गराउँदै आएको उनी बताउँछन् । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि अझै नक्सापासमा अल्झिनुपरेको विद्यालय प्रशासनको गुनासो छ । भूकम्प गएको ५० महिना बितिसक्दासमेत क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण हुन सकेको छैन ।


क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि नगरपालिकामा नक्सा पेस गरेको प्रधानाध्यापक कर्माचार्यले बताए । भवन अभावका कारण नयाँ शैक्षिक सत्रका लागि भर्ना हुन आएका १ सयभन्दा बढी विद्यार्थीलाई भर्ना गर्न नसकिएको उनले बताए ।


‘अघिल्लो वर्ष ६ सय ८ जना विद्यार्थी थियो, ठाउँ अभावले ५ सयमा झार्ने लक्ष्य थियो सकेनौं,’ उनले भने । त्यस्तै, राममन्दिरजस्तै मंगलतीर्थ, बाराहीस्थान, सल्लाघारीलगायत क्षेत्रसधैं डुबानमा पर्ने गरेको छ । सूर्यविनायक नगरपालिका २, ३ बालकोट, चाँगुनारायण नगरपालिका २ दुवाकोट मोड, मध्यपुर थिमि निकोसेरा क्षेत्रमा लगातारको वर्षात् र ढल निकासा नहुँदा सधैंको डुबान हुने गरेको छ । बालकोट, दुवाकोट, निकोसेरा क्षेत्रमा सडक निर्माणका क्रममा परम्परागत रूपमा वर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास टालिदिएपछि प्रत्येक वर्ष डुबानको समस्या झेल्नुपरेको निकोसेराकी रविका भण्डारीले बताइन् ।


सडक विस्तारका क्रममा पानी निकासका लागि परम्परागत रूपमा बग्दै आएको स्थानमै ढल राखेर निकासा टालिएको स्थानीयको गुनासो छ । मध्यपुर थिमि बोडेदेखिको ढल निकोसेरामा आएर रोकिने र कमेरोटार जग्गा एकीकरण आयोजनाअन्तर्गतको राधेराधे क्षेत्रतर्फ ढल निकासा नहुँदा निकोसेरा क्षेत्र डुबानमा परेको स्थानीय राजीव खत्रीले बताए । ‘बस्ती डुबानमा परेपछि घरमा ओहोरदोहोर गर्नसमेत समस्या परेको छ,’ उनले भने, ‘तीन दिन देखिको अविरल वर्षाले पाँच फिटभन्दा माथिसम्म डुबान भएको छ ।’


ढल तथा पानी निकासको लागि वडा कार्यालय, डिभिजन सडक कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा आवेदन दिँदा पनि समस्याको समाधान नभएको उनीहरूको गुनासो छ । मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठल भने अव्यवस्थित प्लानिङका कारण निकोसेरा क्षेत्रमा ढल थुनिएर डुबान परेको बताए । प्लानिङको नाममा सडकमाथि ढलको पाइप राख्ने, बोडे गाँखुदेखिको ढलको निकासा नहुनुले निकोसेरा क्षेत्र डुबानमा परेको उनी बताउँछन् ।


अविरल वर्षा र ढल निकासा नहुँदा निकोसेरा क्षेत्रको २५ घर प्रभावित भएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । ढल निकासाका लागि कमेरोटार जग्गा एकीकरण आयोजनाले व्यवस्थापन गरेको र निकोसेरा क्षेत्रका लागि अध्ययन भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।


त्यसैगरी, तीन दिनदेखिको अविरल वर्षाका कारण सूर्यविनायक नगरपालिका ८ घ्याम्पेडाँडा क्षेत्रको विभिन्न स्थानमा पहिरो गएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाका अनुसार सूर्यविनायकबाट पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, रानीकोट, पाटी भञ्ज्याङ जाने मुख्य सडकको ४ स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छ । जगातीबाट डोलेश्वर, आशापुरी सडकको विभिन्न स्थानमा पहिरो गएको उनले बताए । अवरुद्ध सडक सुचारु गर्न वडा कार्यालयले डोजर, स्काइभेटरको प्रयोग गरी पहिरो पन्छाउन सुरु गरेको समेत उनले बताए ।


प्रकाशित : असार २९, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?