बीपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रे — शनिबार दिउँसोभरीको प्रयासपछि बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्ड एकतर्फी खुलाइएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रे माफर्त ५ वटा डोजर र सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास आयोजनाका २ वटा डोजरले राजमार्गमा खसेको लेदो र पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।


रोशी गाउँपालिकाको मंगलटारमा खहरे खोलाले पुरेको बा१६प ३५४९ नम्बरको कार पनि प्रहरीको सहयोगमा निकालिएको थियो । कालढुंगाको भ्याकुरे र माम्ती खोलामा पानीको सतह बढेका कारण साना सवारी साधनलाई ओहोरदोहोर गर्न केही असहज भएपनि ठूला सवारीसाधन चल्न थालेको सापकोटाले जानकारी दिए ।
अरनिको राजमार्ग भने नियमित सञ्चालनमा छ । जिल्लाका ग्रामिण भेगको यातायात भने पूर्ण रुपमा ठप्प छ ।
यसैबीच रोशी-११ स्थित भिमेश्वर स्कुलको ग्याविन बाल भत्कँदा नजिकै टहरामा सुतिरहेकी ६५ वर्षीया कृष्णदेवी रायमाझीको मृत्यु भएको छ। परिवारका अन्य सदस्य अर्को घरमा भएकोले बाँचेका छन्। सुरक्षित हुने भन्दै उनी घर भन्दा ५०० मिटर दुरीमा रहेको टहरामा सुत्दै आएकी थिइन्।