त्रिभुवन राजपथ र छोटो मार्ग अवरुद्ध

सुवास विडारी

मकवानपुर — हेटौंडाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथ र छोटो मार्गहरु वर्षासँगै आएको पहिरो कारण अवरुद्ध भएका छन् । त्रिभुवन राजपथ, हेटौंडा-फाखेल-काठमाडौं, हेटौंडा-सिस्नेरी-काठमाडौं, कान्तिलोकपथ सडक वर्षात्सँगै खसेको पहिरो कारण अवरुद्ध भएका छन् ।

शुक्रबार विहानको वर्षात्सँगै भीमफेदी गाउँपालिका-१, बाघझोरामा आएको बाढीका कारण त्रिभुनवराजपथ र छोटो मार्गहरु अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईन्द्रसरोवर गाउँपालिका-२, देउराली भन्दाएक किलोमिटर तल शुक्रबार बिहान पानीले लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको भएपनि हाल भने उक्त पहिरो हटाइसकिएको छ ।


अहिले बाटो अवरुद्धहुँदा काठमाडौंबाट हेटौंडा र हेटौंडाबाट काठमाडौं हिँडेका सवारी बाघझोरामा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । उक्त स्थान हेटौंडाबाट सात किलोमिटर उत्तरतर्फ पर्दछ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर २ र ३ को सीमा छेपारो गएको पहिरो हटाउन नसक्दा अझै सडक अवरुद्ध नै रहेको छ ।


वर्षाका कारण पूर्णरुपमा सडकमा भएको पहिरो हटाउन नसकेकोले अवरुद्ध बनेको सडक खुलाउन नसकिएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


निरन्तर परेको वर्षासँगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन । कान्तिलोक पथअन्तर्गत् भीमफेदी गाउँपालिका-८, गंगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो पहिरो र मंगलबार बिहान लेनडाँडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अवरुद्ध बनेको हो ।


हेटौंडा-५, गर्दोहीमा वर्षात्सँगै आएको भेलका कारण तीनवटा घर डुवानमा परेका जिल्ला प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सिंहका अनुसार डुवान क्षेत्रमा प्रहरी परिचालन गरी डुवा प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ ।


यसैगरी, प्रदेश ३ को मुकाम हेटौंडा आसापास रहेका राप्ती, कर्रा, त्रिवेणी, सामरी खोलाको बहाब समेत बढेको छ । वर्षात्सँगै विभिन्न स्थानमा गएको सानासान पहिरोका कारण विद्युत् सेवा अवरुद्ध रहेको छ ।

प्रकाशित : असार २७, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?