कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विवादका कारण आएन बजेट

स्थानीय तह
नगेन्द्र अधिकारी

काभ्रे — पार्टीगत विवादका कारण जिल्लाका ३ स्थानीय तहले अझै वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनमा असार १० भित्रमा प्रस्तुत गरिसक्नुपर्ने उल्लेख छ । 

अघिलो वर्षको बजेटको समीक्षा नभई अर्को तयारी गर्न नहुने अडानका कारण पाँचखाल नगरपालिमा बजेट आउन सकेको छैन । ‘चालु आवमा भएका खर्चको प्रभावकारिताबारे समीक्षा नभईकन अर्को योजना बनाइनुहुन्न भन्ने हाम्रो कुरा हो,’ नेकपाका तर्फबाट निर्वाचित वडाअध्यक्ष हरि खतिवडाले भने, ‘वडालाई कम बजेट राखेर नगरमा अलि धेरै बजेट राख्न खोजिएपछि विरोध गरेका हौं, अब कुरा मिलेको छ, छिट्टै बजेट ल्याउँछौं ।’ कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुख निर्वाचित पाँचखाल नगरपालिकाको कार्यपालिका र नगरसभामा नेकपाका सदस्य बढी छन् ।


नगरप्रमुख महेश खरेलले कुनै विवाद नभएको दाबी गर्दै तयारी नपुगेकोले केही ढिला भएको स्विकारे । ‘कुनै विवाद भएको छैन, चालु आवको समीक्षा र विषयगत समितिको बैठक सुरु भएको छ,’ खरेलले भने, ‘अन्य तहले पनि नीति तथा कार्यक्रम १० गते पेस गरेर कर्मकाण्ड मात्रै पूरा गरेका छन्, हामी प्रस्तुत गर्दा योजनागत रूपमा प्रस्तुत गर्छौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहालको समय व्यवस्थापन नभएको भन्दै नगर सभाको मिति पर धकेलिँदै आएको थियो । तर नेकपा पक्षका सदस्यले समीक्षा नै नभएको दाहाललाई भेटेरै जानकारी गराएपछि उनले आउन आलटाल गरेका थिए ।


तेमाल गाउँपालिकामा पनि पार्टीगत टकरावका कारण गाउँसभा हुन सकेको छैन । अध्यक्ष र उपाध्यक्षले गौरवका आयोजनाका नाममा ठूलो बजेट गाउँपालिकामा नै केन्द्रित गरेको र वडालाई कम बजेट विनियोजन गरेको भन्दै बहिष्कार गर्दै आएका थिए । ‘गौरवका आयोजनामा पनि राख्ने र वडाको सिलिङ पनि बढाउने सहमतिपछि २७ गते गाउँसभा गर्ने तय भएको छ,’ प्रवक्ता ज्ञानबहादुर तामाङले भने । कांग्रेसका तर्फबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित भए पनि कार्यपालिका र गाउँसभा सदस्य नेकपातर्फबाट निर्वाचित बढी छन् ।


खानीखोला गाउँपालिकाले असार २६ मा मात्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने भन्दै प्रवक्ता मानबहादुर गोलेले सामाजिक सञ्जालमा सूचना राखेका छन् । विकट मानिने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रवक्तालाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।


जिल्लाका धुलिखेल नगरपालिका, रोशी र महाभारत गाउँपालिकाले मात्रै हालसम्म बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । पनौती नगरपालिकाले सोमबार मात्रै १ अर्ब २६ करोड १ लाख २६ हजारको बजेट प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम र बजेटको सिलिङ मात्र प्रस्तुत गरेका बनेपा, नमोबुद्ध, पनौती नगरपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले योजनागत रुपमा बजेट बाँडफाँड गर्न अझै सकेका छैनन् ।

प्रकाशित : असार २४, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?