कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दोलखामा ‘रोपाइँ समिति’

राजेन्द्र मानन्धर

दोलखा — ठाउँठाउँमा विभिन्न खाले समितिहरू बनिरहेकै हुन्छन् । दोलखाको रामकोटमा भने रोपाइँ समिति बनेको छ । समितिले धान रोपाइँको तालिका बनाइदिन्छ । त्यसैका आधारमा दोलखा सदरमुकाम चरिकोटछेऊको खेतमा धमाधम रोपाई भइरहेको छ ।

दोलखामा ‘रोपाइँ समिति’

रोपाइँको निहुँमा वर्षेनी झगडा र झमेला हुन थालेकाले समिति र तालिका प्रकाशनको उपाय निकालिएको हो ।


रोपाइँमा झगडाको कारण पानीको स्रोत हो । धान फल्ने राम्रा राम्रा खेत भएको तर पानी कम भएकाले समिति बनाइएको स्थानीय हिमाल न्यौपानेले बताए । ‘समितिले सामूहिक भेला गरी रुटिङ बनाउँछ, त्यसैको आधारमा रोपाइँका दिनहरू तोकिन्छन्,’ उनले भने ।


यो उपायले कृषकहरुबीच समन्वय र सदभाव बढेको स्थानीय रामप्रसाद न्यौपानेको भनाई छ । ‘पहिला पहिला रोपाइँ गर्ने बेला आयो की किचलो सुरु हुन्थ्यो,’ उनले भने, ‘अहिले पालो अनुसार अर्मपर्मसहित रोपाइँ भइरहेको छ ।’ एक पटक खेतमै दाजुभाइबीच कुटाकुट हुँदा केही घाइतेलाई अस्पताल नै भर्ना गर्नु परेपछि समिति खडा गरिएको उनी बताउँछन् ।


दोलखामा यतिखेर रोपाइँको चटारो छ । असार १५ सम्म यस जिल्लामा आधा धान खेत रोपाइँ भइसक्छन् । रामकोट रोपाई समितिले जेठ ९ गतेदेखि असारको २० गतेसम्मको तालिका सार्वजनिक गरेको छ । निर्णयअनुसार प्रत्येक दिन दुई वटा परिवारको खेत रोप्ने कार्य भइरहेको समिति अध्यक्ष भगवान् न्यौपानेले बताए ।


रामकोटमा दैनिक दुई परिवारका खेत रोप्न सकिने दुई वटा पानीका मुहान छन् । मुहानलाई न्यायोचित बाँडफाँड गरेकाले पानी अभाव हुन छाडेको उनले जानकारी दिए । उनका अनुसार तालिकाअनुसार पानीको स्रोत उपलब्ध गराइदिने कार्यका लागि प्रति परिवार वार्षिक पाँच सय बुझाउनुपर्छ ।

समितिमा सात जना सदस्य छन् । उनीहरुले उक्त बस्तीका झन्डै ७० परिवारका रोपाइँलाई व्यवस्थापन गर्छन् । तालिका निर्माण गर्दा कर्मचारी र शिक्षकलाई प्राथमिकतामा राखिन्छ ।

उनीहरूलाई सकेसम्म बिदाको दिन परिने समितिले जनाएको छ । तालिका अनुसार रोपाई हुन थालेपछि खेतालाको समस्या हुन छाडेको छ । मिलाएर रोपाई गर्दा पानी र खेतालाको व्यवस्था हुनाले किसानहरू खुसी देखिन्छन् ।

प्रकाशित : असार ११, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?