१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सट्टेबाजीको आरोपमा नगदसहित पक्राउ

रमेशकुमार पौडेल

चितवन — विश्वकप क्रिकेटको विभिन्न खेलमा जीत हार हुने देशलाई आधार बनाएर सट्टेबाजी गरेको आरोपमा चितवन प्रहरीले मङ्गलवार साँझ तीन लाख ४५ हजार रुपैयाँसहित मुकेशकुमार साहलाई पक्राउ गरेको छ ।

सट्टेबाजीको आरोपमा नगदसहित पक्राउ

नवलपरासी प्रतापपुर गाउँपालिका-८ घर भएका ३३ वर्षीय साह भरतपुर-३ बेलचोकमा डेरा गरेर बस्ने खाद्यान्न व्यापारी भएको प्रहरीले जनाएको छ । उनी बेलचोकबाटै समातिएका हुन् ।


चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाको कमाण्डमा खटेको टोलीले साहुलाई मंगलबार बेलुका साढे ८ बजे पक्राउ गरेको हो । विश्वकप क्रिकेटको खेलमा व्यापक सट्टेबाजी भएको भन्ने सूचनाको आधारमा प्रहरीले विभिन्न ठाउँमा सट्टेबाजमा संलग्न व्यक्तिहरूको खोजी गर्दै जाँदा साह पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।


प्रहरीले साहको साथबाट नगदका साथै पाँच थान मोबाइल, एउटा ट्याब र विभिन्न बैंक र मनी एक्सप्रेसका भौचरहरू बरामद गरेको छ । ‘मोबाइलबाट ठाउँ ठाउँका व्यक्तिसँग सम्पर्क गर्ने, जित्ने देशको अन्दाज गर्न लगाएर बाजी राख्ने, बैंक र मनी एक्सप्रेसबाट पैसाको कारोबार गर्ने गरेको पत्ता लाग्यो’ डीएसपी कोइरालाले भने । उनले भारतीयहरूलाई समेत सट्टेबाजमा संलग्न गराएको प्रहरीको भनाइ छ ।


साह विरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको महल अन्तर्गत जुवा खेल्न सट्टेबाजी गर्न नहुने अपराधमा मुद्दा चलाइने डिएसपी कोइरालाले बताए ।

प्रकाशित : असार ११, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?