१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तोकिएको मितिमा आएन

नगेन्द्र अधिकारी

काभ्रे — वर्षे अधिवेशन आहृवान गरिसकेका स्थानीय तहले समयसीमाभित्र बजेट नभई नीति तथा कार्यक्रम पेस गरेर औपचारिकता पुर्‍याएका छन् । काभ्रेका १३ मध्ये केहीले मात्रै त्यसको परिपालना गरेका छन् । केहीले त्यसोसमेत गरेनन् ।

तीनवटै तहका सरकारले आफ्नो बजेट आफैं बनाउने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान असार १० गतेसम्म पेस गरिसक्ने उल्लेख गरेको छ ।


धुलिखेल, मण्डनदेउपुर नगरपालिका, बेथानचोक र महाभारत गाउँपालिकाले मात्रै आय र व्ययको अनुमान (बजेट) पेस गरेका हुन् । रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ६५ करोड ८ लाखको बजेट अंक निर्धारण गरे पनि पूर्ण बजेट नै पेस गरेन ।


नमोबुद्ध नगरपालिका पनि आर्थिक विधेयक पेस गरेर बजेट अंक तोके पनि विवरण पेस गरेन । भुम्लु गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट पेस गरेनन् । पनौती, पाँचखाल र बनेपा नगरपालिकाले बजेट अधिवेशन सुरु गरे पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेनन् । पनौतीले २३ गते गर्ने तयारी गरेको नगरप्रमुख भीम न्यौपानेले बताए ।


पाँचखालमा प्रमुख अतिथिका कारण नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय केही पर सरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले असार १८ वा १९ गते आउन सक्ने बताएकाले सोहीअनुसारको तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए ।


बनेपा नगरपालिकाले अधिवेशन सुरु गरे पनि २० गते मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको छ । खानीखोला र चौरीदेउराली गाउँपालिकाले असार १५/१६ गते मात्रै प्रस्तुत गर्ने तयारी थालेका छन् । खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले सबै काम सकिए पनि प्रस्तुत गर्न केही दिन लाग्ने बताए । तेमाल गाउँपालिकामा भने दलीय द्वन्द्वका कारण प्रस्तुत हुन सकेन । बहुमतमा रहेका नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका कारण नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन नसकेको हो ।


बाबुआमा स्याहार गर्नेलाई सम्मान

जिल्लाका विभिन्न स्थानीय तहले नौला कार्यक्रमसहितका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । रोशी गाउँपालिकाको नीति तथा कार्यक्रममा बाबुआमाको स्याहारसुसार र संरक्षण गर्नेमध्ये वडाबाट २ जनाका दरले सम्मान गरिने उल्लेख छ । सुत्केरीलाई पोषिलो खानाअन्तर्गत कुरिलोको प्याकेट वितरण गरिने छ ।

प्रकाशित : असार ११, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?