२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

१० करोडको शैक्षिक भवन बन्दै

प्रताप विष्ट

हेटौंडा — कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले हेटौंडास्थित वनविज्ञान क्याम्पसका लागि करिब १० करोडको लागतमा ५ तले शैक्षिक भवन निर्माण गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका—१० मा निर्माण गर्ने उक्त शैक्षिक भवनको प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार शिलान्यास गरे । 

एएफयू स्थापनापछि हेटौंडामा वनविज्ञान संकायको डिन कार्यालय स्थापित छ । १० वर्षअघि विश्वविद्यालय गठन भएर साढे ६ वर्षअघि वनविज्ञान संकाय डिन कार्यालय सञ्चालनमा आएपछि पहिलो पटक यत्ति ठूलो संरचना निर्माण गर्न लागिएको हो ।


भवनको अभावमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सञ्चालित छ । सरकारले विश्वविद्यालय स्थापना गरे पनि भौतिक संरचनाको अभावमा लामो समयदेखि वनविज्ञान संकाय कष्टकर अवस्थामा सञ्चालित छ । अहिले पनि वनविज्ञान संकायको प्रशासनिक शाखाहरू त्रिभुवन विश्वविद्यालयको वनविज्ञान संस्थानअन्तर्गत हेटौंडास्थित क्याम्पसको प्रशासनिक भवनमा आड लिएर बस्न बाध्य छ ।


उक्त भवन पनि भारत सरकारको सहयोगमा निर्माण भएको हो । एएफयूअन्तर्गतको वनविज्ञान संकायको स्नातक तहमा ३ सय २० जना, स्नातकोत्तर तहमा एक सय र विद्यावारिधि उपाधिका लागि तीन विद्यार्थी अध्ययनरत छन् ।


२ वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता भएर डिनको कार्यालयले भवन निर्माण गर्ने स्थल पनि उपलब्ध गराइसकेको छ । करिब १३ करोड लागत अनुमानसहित टेन्डर आहृवान गरिएकोमा प्रस्ताव आहृवान गरेका निर्माण कम्पनीमध्ये बानियाँ निर्माण सेवासँग ९ करोड ८९ लाख रुपैयाँमा निर्माण सम्झौता भएको कृषि तथा वनविज्ञान विश्वविद्यालय वन संकायका डिन बलराम भट्टले बताए ।


पाँचतले भवन निर्माणपछि शैक्षिक क्रियाकलापका लागि वनविज्ञान संकायलाई सहज हुने डिन भट्टको भनाइ छ । उक्त शैक्षिक भवनमा कुल २० वटा कोठा हुने छन् । ती कोठामध्ये पाँच वटा प्रयोगाशाला, एउटा पुस्तकालय र एक सभाकक्ष हुने छन् । नयाँ भवन पूर्णतः शैक्षिक भवनको रूपमा रहने छ । सरकारको लगानीमा निर्माण हुन लागेको भवनलाई कम जमिनमै निर्माण गर्ने उद्देश्यले पाँच तलाको अग्लो बनाउने योजना छ ।

प्रकाशित : असार १०, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?