दुर्गममा महिलालाई कानुनी साक्षरता
रावतबेसी, नुवाकोट — महिलालाई आफ्नो गाउँमै कानुनी ज्ञान पाउन भनेर गाउँपालिकाले न्यायिक सचेतना दिन थालेको छ । रावतबेसी, पुरानोगाउँ, गाउँखर्क, बेतिनी, देउराली, सरमथलीका महिलालाई दुप्चेश्वर गाउँपालिकाले न्यायसम्बन्धी अंश मुद्दा, बलात्कार, बालविवाह, विवाद दर्ताबारेमा जानकारी दिन थालेको हो ।
‘आफ्नो त छोरी–छोरी छन्,’ दुप्चेश्वर गाउँपालिकाले ३ पुरानोगाउँकी नानीमैया तामाङले विवाह दर्ता नहुँदाको समस्या सुनाउँदै भनिन्, ‘छोरा नभएकाले गरीखाने ठाउँ पाइँदैन कि भन्ने चिन्ता लागेको छ । बिहे दर्ता छैन ।’
उनका श्रीमान् महेन्द्रबहादुर बेपत्ता भएको १३ वर्ष भयो । उनीहरू ६ छोरी छन् । दुई छोरीको बिहे भइसक्यो । श्रीमान् महेन्द्रबहादुर रोजगारीका लागि भारत गएका थिए ।
‘पैसा कमाउएर ल्याउँछु भनेर हिँडेका थिए अझै फर्केनन्,’ नानीमैयाले भनिन्, ‘श्रीमान् आउँछन् कि भनेर बाटो हेरेर बसेको बस्यै छु ।’ नानीमैया छोरीहरू बिहे गरेर गइसकेपछि अंश पाउँछु कि पाउँदिनँ भन्ने चिन्ता सताएको बताउँछिन् । उनका सासुससुरा समेत बितिसके । उनका देवर र भतिजाहरू छन् । घरखेत र बारी अंशवण्डा नभएको उनले बताइन् ।
‘मैले गरी खाने खेतबारी अंश पाइन्छ कि पाइँदैन होला ?’ उनले गाउँमा कानुनसम्बन्धी वकिललाई सोधिन् । वकिलद्वय सुरेन्द्र अधिकारी र दिलीप कोइरालाले जनप्रतिनिधिले वडा मुचुल्का र वडाले सिफारिस गरिए अंश भागवण्डा सबैलाई लगाउन पाउने बताइदिए । त्यसपछि नानीमैयाको अनुहारमा खुसी छायो । उनले पहिलो पटक अंशवण्डाबारे जानकारी लिएकी हुन् ।
नानीमैयाजस्तै अन्य महिलाले बालविवाह, महिलाका अधिकार विषयमा जानकारी लिएका थिए । गाउँमा बिहे भएर पनि विवाह दर्ता गर्ने चलन अझै कम छ ।
‘बाँचुन्जेल गरीखाने खेतबारी नपाइने हो कि भनेर चिन्ता सताएको थियो,’ रिमा तामाङले भनिन्, कानुन थाहा नभएर पाइने पो हो कि भन्ने लागेको थियो ।’ दुर्गम गाउँमा गरिएको न्यायिकसम्बन्धी सचेतनाबारे स्थानीयले बालविवाह, जन्मदर्ता, सम्बन्धविच्छेद, यौनहिंसा, मानव बेचबिखन र सजायबारे स्थानीयले जिज्ञासा राखेका थिए ।
प्रकाशित : असार १०, २०७६ ०७:३३