कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उपमहानगरको बजेट २ अर्बभन्दा बढी

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७६/०७७ का लागि करिब २ अर्ब ८ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालू आवमा चौथो नगरसभा संशोधनसमेत गरी १ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

उपमहानगरपालिकाले चालू आवभन्दा आगामी आवमा करिब २६ करोड रुपैयाँ वृद्धि गरेर बजेट ल्याउन लागेको हो । चालू आवको भन्दा आगामी आवमा आन्तरिक आयमा वृद्धि हुने भएकाले बजेटको आकार पनि बढेको मेयर हरिबहादुर महतले बताए ।

आगामी आवदेखि हेटौंडा अस्पतालका डाक्टर तथा कर्मचारीको तलब सिधै प्रदेश—३ सरकारले खुवाउने भएको छ । त्यो रकम घट्दा पनि हेटौंडाको बजेट भने बढ्ने भएको हो । हेटौंडामा कुनै पनि क्षेत्रमा कर वृद्धि नगरीकन करको दायरा फराकिलो पारेकाले आन्तरिक राजस्व वृद्धि हुन जाने उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले आगामी आवमा ६ वटा योजनालाई गौरवका योजना अगाडि सारेको छ ।

निर्वाचनमा नगरवासीप्रति गरेको प्रतिबद्धता पूरा गर्न ६ वटा गौरवका योजनालाई आगामी आवमा अगाडि सारिएको मेयर महतले बताए । उपमहानगरपालिकाका गौरवका योजना प्रदेश सरकारसँगको सहकार्यमा सम्पन्न गर्ने योजना छ ।

हेटौंडाको बस टर्मिनल, कर्रा करिडोर, हेटौंडा चक्रपथ, भ्यु टावर, हेटौंडा उपमहानगरपालिकास्थित चन्द्रोदय माविको चौरमा प्याराफिट गर्ने योजनालाई गौरवका योजनाको रूपमा राखेको उपमहानगरपालिकाका प्रतिनिधिले बताए । यसैगरी, हेटौंडामा अटो भिलेज निर्माण र हेटौंडामा कृषि उपजको थोक बजारका लागि प्रदेश सरकारसँगको सहकार्यमा काम गर्न योजना बनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा उपमहानगरपालिकाले ३१ करोड ७५ लाख रुपैयाँ सिलिङ बजेट उपलब्ध गराएको छ । वडाहरूले सिलिङ बजेटको सीमामा रहेर योजना छनोट गर्न वडा कार्यालयलाई निर्देशन गरेको छ ।

हेटौंडाको साविकको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा एक करोड ५० लाख रुपैयाँ सिलिङ बजेट तोकेको छ । यस्तै, हेटौंडा उपमहानगरपालिका १, ३, १२, १३, १४,१५, १६ र १७ मा प्रत्येक वडालाई एक करोड ७५ लाख रुपैया सिलिङ बजेट तोकेको छ ।

दुर्गम र विकट क्षेत्रको रूपमा रहेको हेटौंडा उपमहानगरपालिका १८ लाई २ करोड र १९ लाई २ करोड २५ लाख रुपैयाँबराबरको योजना छनोट गर्न सिलिङ बजेटको व्यवस्था गरेको छ । कुनै पनि योजना छनोट गर्दा ७ लाख रुपैयाँभन्दा कमको छनोट गर्न रोक लगाएको छ ।

मकवानपुरका स्थानीय तह अहिले आव ०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न जुटिरहेका छन् । जिल्लाका १० वटै स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छन् । जिल्लाको पर्यटकीय नगरपालिकाको रूपमा रहेको थाहा नगरपालिकाले आगामी आवका लागि ७६ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याउँदै छ ।

चालू आवमा उक्त नपाले ५५ करोड ९९ लाखको बजेट ल्याएको थियो । १२ वटा वडामा विभाजित उक्त नपाले प्रत्येक वडालाई न्यूनतम १ करोड २० लाख रुपैयाँको सिलिङ बजेटको व्यवस्था गरेको छ । करको दायरा फराकिलो बनाएकाले बजेट चालू आवको भन्दा आकार ठूलो भएको मेयर लवशेर विष्टले बताए ।

प्रकाशित : असार ८, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?