टहराबाट विद्यार्थी पक्की भवनमा

प्रताप विष्ट

(हेटौंडा) — टहरामा बसेर घाम, पानी र चिसो खेपेका विद्यार्थीले चार वर्षपछि पक्की भवनमा पढ्न पाएका छन् । हेटौंडा उपमहानगरपालिका—१९ गणेश आधारभूत विद्यालयका ७६ विद्यार्थी गत सातादेखि पक्की भवनमा अध्ययन गर्न पाएका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । त्यही जोखिमयुक्त भवन र टहरामा विद्यार्थी पढ्दै आएका थिए । कोठाको अभावले गर्दा एउटै कोठामा २ वटा कक्षा राखेर पढाउने गरिएको थियो । 

जाइकाको १ करोड ७६ लाख २६ हजारको सहयोगमा २ तले, ८ कोठे भवन निर्माण भएको हो । उक्त विद्यालय भवन भूकम्पप्रतिरोधी र अपांगमैत्री छ । उक्त सुविधायुक्त भवन निर्माण भएपछि टहरा र जोखिमयुक्त भवनमा बसेरपढ्नुपर्ने बाध्यताबाट उनीहरू मुक्त भएको शिक्षक इन्द्र लामाले बताए । जाइकाले पहिलो चरणमा निर्माण गरेको ७ वटा विद्यालय भवनमध्ये ४ वटा निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । थप ३४ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहा नगरपालिकामा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, वाग्मती, मनहरी र राक्सिराङ गाउँपालिकाका गरी ३४ विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिसकेको छ । मकवानपुरमा पहिलो चरणमा ११० वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिएको थियो । पुनर्निर्माण प्राधिकरणको शिक्षासम्बन्धी जिल्ला आयोजना कार्यान्वयन एकाई आव ०७३/०७४ र ०७४/०७५ मा १ सय ३६ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । चालु आवमा शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन आयोजना एकाईले ६५ वटा विद्यालय भवन निर्माण गर्दै छ । मकवानपुरमा हालसम्म सरकारी, गैरसरकारी गरेर २ सय ५५ वटा विद्यालय निर्माण भइसकेका छन् । ती निर्माण भएका विद्यालयमा करिब १ हजारवटा कक्षाकोठा तयार छन् । अहिले सरकारी तथा गैरसरकारीतर्फबाट ५ सयवटा कक्षा तयार भइरहेको जिल्ला कार्यान्वयन एकाई शिक्षाका प्रमुख बद्री पाठकले बताए ।

जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन एकाईमार्फत मकवानपुरमा ४१ विद्यालयको भवन निर्माण गरिरहेको छ । तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको छ । ३ वटा हस्तान्तरण गर्न बाँकी छ । प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । एस्थर वेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालयको भवन बनाउने जिम्मा लिएको थियो । त्यसमध्ये ८ वटा भवनको पुनर्निर्माण गरिसकेको छ । २ वटा निर्माणाधीन छन् । यूएसआईडीले ६ वटा विद्यालय भवन निर्माण गर्दै छ । जिल्ला आयोजना कार्यान्वयन एकाईसँग अनुमति लिएर उनीहरूले विद्यालय भवनको पुनर्निर्माण गरेका हुन् । भूकम्पपछि मकवानपुरमा ४ सय ९ वटा विद्यालयका ७ सय ४७ वटा भवनमा रातो स्टिकर लगाइएको थियो ।

रातो स्टिकर लगाइएका सबै भवन पुनर्निर्माण गर्नुपर्ने बताइए पनि पुन: निरीक्षण गरी मर्मतबाट पनि केही भवन सञ्चालनमा आइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाईले जनाएको छ । ‘सुरुमा हामीले ७ सय ४७ वटा भवनको २ हजार ३ सय ९० वटा कोठामा रातो स्टिकर लगाएका हौं, पुन: निरीक्षण गर्दा केही भवन मर्मतबाट पनि चल्ने अवस्था भएकाले मर्मत गरेर सञ्चालनमा आइसकेको छ,’ इन्जिनियर सञ्जीव पुडासैनीले बताए । मकवानपुरमा करिब २ हजार १ सय ५ कक्षाकोठा भूकम्पबाट क्षतिग्रस्त भएका हुन् । यही गतिमा निर्माण कार्य भयो भने मकवानपुको विद्यालयको पुनर्निर्माण कार्य आगामी २०७७ सम्म सम्पन्न हुने अनुमान छ ।

भूकम्प आउनुअघि मकवानपुरका अधिकांश विद्यालय जीर्ण थिए । छात्रा एवं अपांगतामैत्री थिएनन् । कैयौं स्कुलमा शौचालय थिएन । जर्जर र जीर्ण जोखिमयुक्त भवनमा पढ्दै आएका थिए ।

‘भूकम्पले त्यस्ता जीर्ण र जर्जर विद्यालय भवन सबै भत्काइदियो, अहिले सुविधायुक्त नयाँ भवन बनेका छन् र बन्ने क्रममा छन्,’ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भने । ‘केही समय विद्यार्थी र शिक्षकले समस्या भोग्नुपरे पनि त्यसको परिणाम राम्रै देखिएको छ ।’ मकवानपुरका ५ सय १६ विद्यालय मध्ये भूकम्पबाट ५४ वटा मात्र पूर्ण रूपमा सुरक्षित थिए ।

प्रकाशित : असार ७, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

बर्डफ्लुपीडितलाई क्षतिपूर्ति दिइने

कान्तिपुर संवाददाता

(हेटौंडा) — मकवानपुरका बर्डफ्लुपीडित कृषकहरूले क्षतिपूर्तिस्वरूप रकम पाउने भएका छन् । वर्डफ्लु लागेर मरेका होइन, मारिएका कुखुराका धनीहरूले सरकारबाट क्षतिपूर्ति पाउने भएका हुन् । 

वैशाखको पहिलो साता वर्डफ्लुका कारण हेटौंडा उपमहानगरको—७, ८ र १६ मा कुखुरा मर्न थालेपछि पुश सेवा कार्यालयका प्राविधिकले नष्ट गरेका थिए । सरकारी प्राविधिकले नष्ट गरेका कुखुराको क्षतिपूर्ति सम्बन्धित कृषकलाई उपलब्ध गराउन लागेको हो ।

बर्डफ्लु कारण २ लाख ८९ हजार कुखुरा मरेका थिए । ६६ हजार ५ सय ४६ कुखुरा प्राविधिकले नष्ट गरेका थिए । बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले नष्ट गरेको कुखुराको भने किसानले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । सरकारले प्राकृतिक जलाशय, मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडामार्फत किसानलाई क्षतिपूर्ति रकम सोमबारदेखि वितरण गर्न लागेको छ ।

जिल्लाका ५४ किसानको ६८ हजार कुखुरा नष्ट गरेबापत ४ करोड ४२ लाख ११ हजार ७ सय ४६ रुपैयाँ वितरण गर्न लागेको प्राकृतिक जलाशय, मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख सानुकाजी पछाईंले बताए । क्षतिपूर्ति रकम केकसरी वितरण गर्ने भनेर जिल्ला प्रशासन कार्यालय हेटौंडामा सरोकारवालासँग बैठक बसेको थियो । एउटा कुखुराको बढीमा ६ सय ७५ रुपैयाँ क्षतिपूर्ति पाउने छन् ।

बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले पठाएको विवरणको आधारमा किसानको लागतको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने छ । ‘हामीले यहाँबाट पठाएको विवरणभन्दा २५ प्रतिशत घटेर क्षतिपूर्ति स्वरूपको रकम आएको छ,’ मकवानपुर जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले भने, ‘यसबाट किसानलाई पक्कै केही राहत मिल्ने छ, बर्डफ्लुबाट कुखुरा मरेकाहरूलाई भने समस्या भएको छ ।’

बर्डफ्लुबाट खोरै नष्ट भएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कुखुरा व्यवसायी संघले विभिन्न निकायमा पहल गरिरहेको छ ।

बर्डफ्लुका कारण मकवानपुरमा करिब ३२ करोड रुपैयाँ बराबरको क्षति भएको कुखुरा व्यवसायी संघ मकवानपुरको दाबी छ । वैशाख ५ गते हेटौंडाको ७, ८ र १६ नम्बर वडामा बर्डफ्लु लागेका कुखुरा नष्ट गरिएको थियो ।

प्रकाशित : असार ७, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्