बर्डफ्लुपीडितलाई क्षतिपूर्ति दिइने

(हेटौंडा) — मकवानपुरका बर्डफ्लुपीडित कृषकहरूले क्षतिपूर्तिस्वरूप रकम पाउने भएका छन् । वर्डफ्लु लागेर मरेका होइन, मारिएका कुखुराका धनीहरूले सरकारबाट क्षतिपूर्ति पाउने भएका हुन् । 

वैशाखको पहिलो साता वर्डफ्लुका कारण हेटौंडा उपमहानगरको—७, ८ र १६ मा कुखुरा मर्न थालेपछि पुश सेवा कार्यालयका प्राविधिकले नष्ट गरेका थिए । सरकारी प्राविधिकले नष्ट गरेका कुखुराको क्षतिपूर्ति सम्बन्धित कृषकलाई उपलब्ध गराउन लागेको हो ।


बर्डफ्लु कारण २ लाख ८९ हजार कुखुरा मरेका थिए । ६६ हजार ५ सय ४६ कुखुरा प्राविधिकले नष्ट गरेका थिए । बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले नष्ट गरेको कुखुराको भने किसानले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । सरकारले प्राकृतिक जलाशय, मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडामार्फत किसानलाई क्षतिपूर्ति रकम सोमबारदेखि वितरण गर्न लागेको छ ।


जिल्लाका ५४ किसानको ६८ हजार कुखुरा नष्ट गरेबापत ४ करोड ४२ लाख ११ हजार ७ सय ४६ रुपैयाँ वितरण गर्न लागेको प्राकृतिक जलाशय, मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख सानुकाजी पछाईंले बताए । क्षतिपूर्ति रकम केकसरी वितरण गर्ने भनेर जिल्ला प्रशासन कार्यालय हेटौंडामा सरोकारवालासँग बैठक बसेको थियो । एउटा कुखुराको बढीमा ६ सय ७५ रुपैयाँ क्षतिपूर्ति पाउने छन् ।


बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले पठाएको विवरणको आधारमा किसानको लागतको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने छ । ‘हामीले यहाँबाट पठाएको विवरणभन्दा २५ प्रतिशत घटेर क्षतिपूर्ति स्वरूपको रकम आएको छ,’ मकवानपुर जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले भने, ‘यसबाट किसानलाई पक्कै केही राहत मिल्ने छ, बर्डफ्लुबाट कुखुरा मरेकाहरूलाई भने समस्या भएको छ ।’


बर्डफ्लुबाट खोरै नष्ट भएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कुखुरा व्यवसायी संघले विभिन्न निकायमा पहल गरिरहेको छ ।


बर्डफ्लुका कारण मकवानपुरमा करिब ३२ करोड रुपैयाँ बराबरको क्षति भएको कुखुरा व्यवसायी संघ मकवानपुरको दाबी छ । वैशाख ५ गते हेटौंडाको ७, ८ र १६ नम्बर वडामा बर्डफ्लु लागेका कुखुरा नष्ट गरिएको थियो ।

प्रकाशित : असार ७, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?