कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ऐतिहासिक दुगुनागढीको पुनर्निर्माण

सिन्धुपाल्चोक — भूकम्पको चार वर्षपछि भोटेकोसी गाउँपालिकाको दुगुनास्थित ऐतिहासिक दुगुनागढी पुनर्निर्माण थालिएको छ । प्रदेश र स्थानीय सरकारको सक्रियतामा झन्डै १ सय ६० वर्ष पुरानो गढी पुरानै स्वरूपमा ठड्याउन थालिएको हो । 

प्रदेश सरकारको ३० लाख बजेटमा ऐतिहासिक स्थल दुगुनागढी पुरानै, ढाँचा र स्वरूपमा ठड्याइरहेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘भूकम्पले यहाँको प्रत्येक छेउको संरचना धाँजा फटाउँदै ध्वस्त बनाएको थियो, हालै पुनर्निर्माणपछि चिटिक्क आकर्षक देखिन थालेको छ,’ पौडेलले भने ।


आगामी आवमा दुगुनागढीलाई थप बजेट राखेर आकर्षक बनाउँदै अन्य पर्यटकीय संरचनासँग जोडेर लैजाने उनले सुनाए । उनका अनुसार सानो र ठूला दुई दुगुनागढीको लगभग आधा संरचनाको काम भइसकेको छ । पुरातत्त्व विभागले समन्वयका लागि पत्र पठाएपछि हालको काम भने थाति राखिएको छ ।


‘पहिलेझैं प्राचीन स्वरूपमा त्यहाकै ढुंगाको प्रयोग गरिएको छ त्यसले पुरानै संरचनाको महसुस हुन्छ,’ उनले भने । पर्खाल भत्किएकै स्थानबाट उठाएर त्यही प्रयोग गरिएकोले दुगुनागढीको शोभा बढेको उनको कथन छ । विसं. १९१२ मा भएको नेपाल र तिब्बतीबीच भएको लडाइँमा नेपालको युद्ध सुरक्षाका लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उक्त गढी निर्माण गरेका हुन् । नेपालको ऐतिहासिक १० गढीमध्ये दुगुनागढी एक हो ।


यसको मौलिकता फर्काउँदै स्थानीय आफैं स्थलगत संरक्षणमा जुटिरहेको दुगुनागढी संरक्षण समितिका सोनाम शेर्पाले बताए । उनले समितिद्वारा ऐतिहासिक महत्त्व बोकेको दुगुनागढीको शिलालेख संरक्षण गरेर राखिएको जानकारी दिए ।


दुगुनागढी जोड्दै होमस्टे

भोटेकोसी गाउँपालिका दुगुनास्थित ऐतिहासिक दुगुनागढीसँगै पहिले होमस्टे प्रयास गरिएका यार्मासिह, छिम्थाङजस्ता गाउँलाई फर्काउन पहलकदमी लिइरहेको दुगुनाका वडाध्यक्ष कैलाश पौडेलले बताए । ‘गाउँको पुनर्निर्माण सकेसँगै ऐतिहासिक दुगुनागढीलाई मौलिक स्वरूपमा स्थापित गर्ने लक्ष्य लिएका छौं, त्यहीअनुसार काम भइरहेको छ,’ उनले भने ।


दिनिथाङ, दुगुना हुँदै चर्चित भैरवकुण्ड पुग्ने ३० लाख बजेट छुट्ट्याएर सडकको डीपीआर सकेर अन्य काम भइरहेको वडाध्यक्ष पौडेलले जनाए । चाँडै सडक निर्माण गरी चौडा बनाएर दुगुनालाई थप सुरक्षित बनाउने उनको योजना छ ।

प्रकाशित : असार ५, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?