कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

किर्ते कागजात बनाएर वडाध्यक्षले लिए ६ लाख

अनिश तिवारी

सिन्धुपाल्चोक — लिसंखुपाखर गाउँपालिका– ६ पेटुका वडाध्यक्ष कैलाश थापाले खानोपानी योजनाको नाममा किर्ते कागजात बनाएर गाउँपालिकाबाट ६ लाख भुक्तानी लिएको सार्वजनिक भएको छ ।

किर्ते कागजात बनाएर वडाध्यक्षले लिए ६ लाख

उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेर उनले गाउँका ४५ परिवारका लागि खानेपानी ट्यांकी बनाएको र धारा जडान गरेको योजना देखाएर २०७४ मंसिर १९ गते रकम भुक्तानी लिएका हुन् । स्थानीय प्रेमकुमार तामाङका अनुसार गाउँपालिकाबाट योजनाको सूचना नपाए पनि सूचनाको हक प्रयोग गरेर जिल्ला सूचना अधिकारीमार्फत पाएको डकुमेन्टको आधारमा योजना सम्पन्न भएको डेढ वर्षपछि घटनाको रहस्य खुलेको हो ।


फर्जी बिलमा ‘ललितपुरको न्यु कनेक्सन मार्केटिङ’ बाट खानेपानी योजनाको नाममा ३ लाख ७१ हजार ५ सयमा पाइप खरिद गरिएको देखाइएको छ ।


विवरणमा ३ लाख ३८ हजार एक सय श्रमिकको पारिश्रमिक र विभिन्न व्यक्तिको एक्जाभेटर प्रयोग गरेको देखाइएको छ । हुँदै नभएको योजनाको लागि २०७४/२०७५ मा ६ लाखको इस्टमेट गरिएको रेकर्डले देखाएको छ । २०७४ कात्तिक १ देखि १० गतेसम्म १८ कामदारले योजनाको काम गरेको र एक्जाभेटर प्रयोग भएको देखाइएको छ ।


तत्कालीन योजना इस्टमेट र भुक्तानीमा सहयोग पुर्‍याउने प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखा अधिकृत सुरेन्द्र तितजु एवं प्राविधिक टोलीले भुक्तानीमा सहयोग गरेका थिए । पाख्रिनले भने आफूले दबाबमा परेर भुक्तानी दिएको बताए । ‘प्राविधिक टोली, अनुगमन समिति र वडाको सिफारिस आएकाले कागजी रूपमा ठिक थियो,’ उनले भने, ‘तर योजना नै सञ्चालन नभएको रहेछ ।’


‘माइन्युट, भर्पाइ बिलदेखि सम्पूर्ण कागजात र हस्ताक्षर किर्ते तयार गरिएको छ,’ प्रेमले भने, ‘वडाध्यक्षज्यू आफैंले आफैंलाई

भुक्तानी दिन निवेदन लेख्नुभएको छ, यो सूचना पाउन हामीले एक वर्ष प्रयास गर्‍यौँ,’ उनले भने । उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि २०७५ अनुसार जनप्रतिनिधि वा बहालवाला कर्मचारी उपभोक्ता समितिमा बस्न नपाउने प्रावधान छ ।


वडाध्यक्ष थापाले यस विषयमा छलफल गर्न नचाहेपछि पेटुका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीको माग गरेर उजुरी दर्ता गराएका छन् । सञ्चारकर्मी स्थलगत रिपोर्टिङमा गए पनि खानेपानी योजना सञ्चालन गरेको भनिएको स्थानमा कुनै संरचना बनेको देखिएन । योजना सञ्चालन भएको भनिएको स्थानमा २०६६ सालमा एम्फोडेपो नेपाल नामको संस्थाले खानेपानी ट्यांकी बनाएको थियो । स्थानीय रामकुमार तामाङले भने, ‘यहाँको धारा पहिले नै उक्त संस्थाले बनाएको हो । यहाँ अर्को योजना बनेको सुनियो, तर हामी उपभोक्तालाई थाहा छैन,’ उनले भने ।

२०७३ माघ १ मा खानेपानी आवश्यक भएको भन्दै १ सय २७ जनाको उपस्थितिमा निर्णय गरिएको माइन्युट छ । खानेपानीको समस्या झेल्नुपरेको पेटकुमा लिसंखुपाखरले खत्री र भुमेस्थान गाउँका लागि पेटकु खानेपानी योजनाको लागि ६ लाख विनियोजन गरेको थियो । ‘काम नै नगरी जनताका लागि आएको रकम जनप्रतिनिधिले नै हडप्नु अचम्म भयो,’ रामकुमारले भने ।


वडाअध्यक्ष थापाले रकम निकालेको स्विकारे । उनले भने, ‘स्थानीय र उपभोक्ता समितिसँग मौखिक छलफल गरेर ६ लाख रुपैयाँ स्थानीय जेठलमा निर्माणाधीन माइखोला केन्द्रीय खानेपानी योजनामा रकमान्तरण गर्ने निर्णय गरेको दाबी गरे । उनले डेढ वर्षदेखि ६ लाख रुपैयाँ आफ्नो खातामा रहेको बताए । ‘स्थानीयकै इच्छानुसार खानेपानी उपभोक्ता समितिको अध्यक्ष बनेको हुँ,’ उनले भने । उनी दुई योजनाको उपभोक्ता समितिमा अध्यक्ष बनेका छन् ।

प्रकाशित : असार ३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?