१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

स्वकीयमा अपांगता भएकी महिला

प्रताप विष्ट

हेटौंडा — स्वकीय सचिव राख्दा आफन्त, राजनीतिक कार्यकर्ता नै मन्त्री, सांसद र उच्च पदस्थको प्राथमिकतामा पर्दै आएका छन् । प्रदेशसभा सदस्य ओमबहादुर घलानले अपांगता भएकी एक महिलालाई नियुक्त गरेका छन् ।

स्वकीयमा अपांगता भएकी महिला

नाता, आफन्त, कार्यकर्ता कोही नपर्ने हेटौंडा उपमहानगरपालिका ३ लेवटकी देवीमाया घलानलाई नियुक्त गरेका हुन् । दुवै खुट्टा नभएकी घलान व्हिलचियरको सहायतले यताउता गर्छिन् ।


अपांग स्वावलम्बन जीवन पद्धति नामक गैरसरकारी संस्थाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका घलानले देवीमायाको अवस्था र क्षमता देखेर स्वकीय सचिवमा राखेका हुन् । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्ने २८ वर्षीया घलानको कम्प्युटर, अंग्रेजी र नेपाली भाषा राम्रो छ ।


देवीमाया संस्थाले नै भाडामा लिएको कोठामा बस्छिन् । अपांगता भएकाहरूका निम्ति विभिन्न तालिम पनि सञ्चालन गर्छिन् । अरूका स्वकीय सचिव सांसदकोमा पुग्छन् तर प्रदेशसभा सदस्य घलान केही सहयोग आवश्यक परे देवीमायाकोमा पुग्छन् । ‘मैले राम्रो र ठिक मानिस स्वकीय सचिव पाएको छु,’ सांसद घलानले भने ।


जन्मँदै दुवै खुट्टा नभएकी घिस्रेर हिँड्ने घलान अहिले हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नाकोत्तर अध्ययन गर्दै छिन । अपांग सरोकार केन्द्र मकवानपुरकी सचिवसमेत रहेकी घलान अपांगता भएकोमा उनलाई अलिकति पनि हिनताबोध छैन । व्हिलचियर नपाउँदा हत्केलाले टेकेर स्कुल आउँदाको याद उनको मनमा अझै ताजै छ । उनले भनिन्, ‘अंग नभए पनि दिमाग हुन्छ, तर, त्यसका लागि परिवार र समाजको साथ चाहिन्छ ।’ अवसर पाए अपांगता भएकाले पनि केही गर्न सक्ने उनले बताइन् ।


बाबु जितबहादुर र आमा जमुनाको ६ जना सन्तानमध्ये चौथो सन्तानका रूपमा २०४८ फुस ५ गते जन्मिएकी घलानले समाजमा अझै पनि अपांग र सबलांगलाई हेर्ने दृष्टिकोण नबदलिएको भन्दै दुखेसो पोखिन् । कक्षा ८ सम्म अध्ययन गरेको हेटौंडा–३ स्थित बाल उज्ज्वल माविले ३० औं वार्षित्सवको अवसरमा उनीसहित २ जनालाई सम्मान गरेको थियो । पहिला उनको व्हिलचियर पनि थिएन । हातले टेकेर आउँथिन् । १४ वर्षपछि पनि विद्यालय आउँदा अपांगमैत्री वातावरण नदेख्दा उनले दुःख व्यक्त गरिन् ।

प्रकाशित : असार ३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?