पाङसाङमा भ्यु टावर प्रस्ताव

कान्तिपुर संवाददाता

धादिङ — पर्वतीय पर्यटन प्रवर्द्धन गर्न धादिङको रुवीभ्यालीस्थित पाङसाङमा भ्यु टावर निर्माण गरिने भएको छ । हिमाल दृश्यावलोकनका ४२ सय मिटर उचाइमा निर्माण हुने भ्यु टावरवाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश, लाङटाङ र गौरीशंकरलगायत हिमशृंखला नजिकैबाट हेर्न सकिनेछ । 

काठमाडौंबाट धादिङबेंसी हुँदै दुई दिनमा पुग्न सकिने उक्त स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टरमा काठमाडौंबाट १८ मिनेटमै पुगिने उक्त स्थान पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरूङले बताए । ‘पहिलो चरणको अध्ययनपछि फेरि पनि वस्तुगत अवस्थाको अध्ययन भइरहेको छ,’ उनले भने, ‘तीनै तहको सरकार मिलेर योजना अघि बढाउँदा छिट्टै टावर बनाउन सकिन्छ ।’

भ्यु टावर निर्माण गर्ने योजनाका लागि प्रदेश ३ सरकारले चालु वर्ष ६० लाख विनियोजन गरेको थियो । पर्यटन बोर्ड वा प्रदेश सरकारबीच कसले काम गर्ने भन्ने निर्णय हुनै बाँकी रहेकाले उक्त बजेट कार्यान्वयन हुन पाएको छैन । पाङसाङबाट प्याल्दोर पिक जाने पर्यटकीय पदमार्गमा लागि पनि ५० लाख विनियोजन गरिएको छ । ‘स्थानीय तहसँग मिलेर हामी आफैं निर्माण गर्ने पक्षमा छौं,’ पर्यटन बोर्डका सदस्य दीपक महतले भने ।

नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकाले पर्वतीय पर्यटनको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेर थप अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धनको काम एकसाथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो ।

पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ति उत्पादनदेखि विदेशी विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने ‘माउन्टेन हब’ निर्माण गर्दा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थान छनोट गर्न लागिएको सम्भाव्यता अध्ययन गर्न पाङसाङ पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए । ‘सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त ठाउँ काठमाडौंबाट सबैभन्दा नजिक दूरीको रुवीभ्याली हो,’ उनले भने, ‘यहाँको गणेश हिमशृंखलाअन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा अधिक सम्भावना छ ।’

पाल्दोर आधार शिविर र पाङसाङ पासमा राष्ट्रिय योजना आयोगका पदाधिकारीले स्थलगत अवलोकन गरेका हुन् । आयोग उपाध्यक्ष कँडेल नेतृत्व टोलीले स्थलगत अवलोकन गरेको हो । अध्ययन भ्रमणमा आयोग सदस्य रामकुमार फुयाल, धादिङ क्षेत्र २ का सांसद खेमप्रसाद लोहनी र पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङलगायत थिए ।

पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालले यसअघि पाल्दोर पिकमा विभिन्न दातृ निकायसँग मिलेर प्रारम्भिक अध्ययन गरिसकेका छन् । उक्त अध्ययनपछि नै सांसद लोहनी र संघको मागमा सरकारले बजेट विनियोजन गरेको छ ।

प्रकाशित : असार २, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

खण्डहर बन्यो कारागार

कृष्ण थापा

नुवाकोट — जिल्लाको पुरानो राणाकालीन जेल भत्केर खण्डहर बनेको छ । जेलको भवनमाथिको जस्तापाता खिया लागेको छ । दायाँबायाँको गारो लडेको छ । भवनका निदाल, दलिन, थाम ढलेका छन् ।

हाल विदुर नगरपालिका २ स्थित कारागारका भत्किएका भवनमा झारपात र बुट्यान उम्रेका छन् । संरक्षण अभावमा कारागार जंगल जस्तै बनेको स्थानीय बताऊँछन् । ‘हेर्दैमा भुतबंगलाजस्तो भएको छ’ ईश्वर खड्काले भने, ‘सरोकारवाला निकायको बेवास्ताले भग्नावशेष भएको छ ।’

उनले यहाँ कारागार मात्र नभई थ्रुपै पुरानो वस्तु संरक्षण गर्न चासो हुनुपर्नेमा जोड दिए । पश्चिम १ नं. नुवाकोट, रसुवा धादिङको लागि उक्त कारागार राणा शासनको बेला निर्माण गरिएको थियो । पहिला नौतले हाल साततले दरबार नजिक मल्लकालीन कारागार थियो । उक्त मल्लकालीन कारागार शाहकाल हुदै राणा शासनसम्म थियो ।

पछि कारागार साँघुरो भएपछि राणाकालमै १९९८ सालमा टुडिखेलमुनि १ रोपनी २ आना २ पैसा ३ दाममा जग्गा लिएर निर्माण गरियो । त्यतिबेला पाइपको चलन नभएकाले पानी बोकेरै कैदीबन्दी खान्थे । साततले दरबार तलबाट पानी बोकेर कारागारमा ल्याउन गाह्रो भएपछि नजिकै पिउने पानी ल्याउन सजिलो हुने भएकाले उक्त टुडिखेलमुनि कारागार सारिएको स्थानीयको भनाई छ ।

नुवाकोटमा शाहकाल अघि नै मल्लकालमा कारागार भएको स्थानीयको भनाई छ । जघन्यराज्य विरुद्धको अपराधमा गरेमा तत्कालीन नौतले हाल साततले दरबारमा कैदीलाई ल्याएर राजा पृथ्वीनारायण शाह दण्ड दिने व्यवस्था गरेका थिए । दरबारको छैटौ तलामा राखेर दण्ड दिने गरेको स्थानीयको भनाई छ । नुवाकोट डाँडा साततले दरबार, गारद घर, रंगमहललगायत वरिपरिका दरबारबाट रहेको सरकारी कार्यालयहरू २०२८ सालमा ६ किमी तल विदुरमा सदरमुकाम सारियो ।

सबै सरकारी कार्यालय गएपनि उक्त कारागार सारिएको थिएन । राणाकालीन कारागारमा कैदीबन्दीलाई साँघुरो भएको भन्दै विनपा १ ढुंगेस्थित साविक कृषि विकास कार्यालयको जग्गा बनाउने मन्त्रीपरिषदले निर्णय गर्‍यो । ०६० सालमा ११ रोपनी भन्दा बढी जग्गा लिएर नयाँ कारागार बनाउन थालियो । ०६ भदौमा कैदीबन्दीलाई ढुंगेमा राख्न थालिएको हो ।

उक्त कारागार ५० कैदीबन्दीलाई भनेर बनाइएकोमा अहिले अहिले१ सय ५८ कैदीबन्दी छन् । विनपा६ मा चण्डीपोखरीमा ७ हजार भन्दा बढी कैदीबन्दी राख्ने गरी राष्ट्रियस्तरको सुविधा सम्पन्न कारागार निर्माणभैरहेको छ ।

प्रकाशित : असार २, २०७६ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्