ढाडे झिँगा मार्न जुनारमा विषादी

राजकुमार कार्की

रतनचुरा, सिन्धुली — जुनारमा लाग्ने औंसा कीरा नियन्त्रणका लागि विषादी छर्ने काम सुरु भएको छ । प्रधानमन्त्री जुनार सुपर जोन कार्यक्रम र कृषकको सहभागितामा विषादी छर्न थालिएको हो । गत वर्ष परीक्षणका रूपमा केही भागमा प्रयोग भएको विषादीबाट कीरा नियन्त्रण भएपछि उत्साहित भएर कृषकहरूले नै ५० प्रतिशत लगानीमा यो वर्ष जुनार हुने सबै क्षेत्रमा समेटेका हुन् । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ को नयाँखर्कमा जुनारमा विषादी छिट्दै ।तस्बिर : राजकुमार/कान्तिपुर

कृषि प्राविधिकका अनुसार ‘ब्याक्टेसेरा मिनाक्स’ नामक ढाडे झिँगाले जुनारको फलभित्र फूल पार्छन् । जुनारमा गुलियोपन बढदै जाँदा बढ्ने झिँगाका लार्भाले भित्रभित्रै खाएर बिगार्ने गरेका छन् । ‘प्रोटिन वेट’ नामक विषादीमा दुई भाग पानी मिसाएर १० देखि १२ सातासम्म छर्दा ढाडे झिँगा नियन्त्रण हुने प्राविधिकहरूको सुझाव किसानले मानेका हुन् । ‘सातामा एकपटक विषादी छिट्ने गरिएको छ,’ प्राविधिक जहानबहादुर कार्कीले भने, ‘पोहोर विषादी नछिटेको जुनार ५० प्रतिशत कुहिएको थियो । यो विषादिले झिँगा मार्छ, मान्छेलाई बिगार गर्दैन ।’


मुलुकमै सबैभन्दा बढी जुनार उत्पादन हुने यहाँको महाभारत क्षेत्रको गोलन्जोर गाउँपालिकाका ५ वटा वडा, तीनपाटन गाउँपालिकाको तोश्रामखोला, सुनकोसी गाउँपालिकाको मझुवा र कमलामाई नगरपालिकाको जलकन्यामा गरी २६ जना ‘स्प्रे म्यान’ परिचालित भएका छन् । यसपटक विषादिका लागि जुनार सुपर जोन कार्यक्रमको १० लाख र कृषकको १० लाख गरी २० लाख रुपैयाँ खर्च हुनेछ । जुनारका २० हजार बोटमा विषादी छिटेर यो वर्ष ८५ प्रतिशत उत्पादनलाई सुरक्षित बनाउने कार्यक्रमको लक्ष्य छ ।


जुनारलाई रोगकीराबाट सुरक्षित गर्नका लागि स्थानीय तहले पनि लगानी गर्ने जनाएका छन् । ‘अब जुनारलाई चक्लावन्दी खेतीमा लैजाने तथा सुरक्षित र गुणस्तरीय फल उत्पादनका लागि नीति नै बनाएर गाउँपालिका लागि परेको छ,’ गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले भने, ‘हाम्रो जिल्लाको पहिचान बोकेको र कृषकको आय वृद्धि गर्ने जुनारलाई जोगाउन अभियानका रूपमा योजना नल्याए उत्पादन घट्छ ।’


जुनार क्षेत्रमा नमुनाको रूपमा प्रयोग गरिएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएको जुनार कृषक दीपक थापाले बताए । गोलञ्जोर–४ तीनकन्यामा नमुनाका रूपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको विषादी परीक्षण प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरी कीरा नियन्त्रण गर्ने काम थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाई जुनार सुपर जोन कार्यालयले जनाएको छ ।


कार्यालय प्रमुख देवराज अधिकारीका अनुसार चालू वर्ष जिल्लाका विभिन्न स्थानका कृषकहरूलाई जुनारमा लागेको कीरा मार्नका लागि विषादी वितरण गरी बगैँचामा छरिएको हो । ‘प्रत्येक तीन बोट बराबर एक बोटको केही भागमा औषधि स्प्रे गरिन्छ,’ उनले भने, ‘लागत अनुमान गरेर बजेट जुटाइ विषादी खरिद गरेर किसानका खेतबारीमा स्प्रेकर्तामार्फत पुर्‍याइएको हो ।’


जुनारको फल कुहाउने औंसा पार्ने कीराको पोथी झिँगालाई फूल पार्नका लागि प्रोटिनको आवश्यकता पर्छ । ‘यो सिजनमा कीराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोटमै कीरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको छ,’ प्राविधिक जहानबहादुर कार्कीले भने, ‘यो सस्तो र भरपर्दा विषादी हो । औषधि स्प्रे गरेको ठाउँमा कीराहरू झुम्मिएर आउँछन् र मर्छन् ।’


बगैँचामा स्प्रे गर्दै गरेका स्प्रेकर्ता ध्रुव बरालका अनुसार जुनार सखाप पार्ने कीरा मार्नका लागि उक्त औषधि प्रभावकारी देखिएपछि कृषक हौसिएका छन् । जुनारको फल दिन सुरु गरेका प्रत्येक कृषकले बगैचामा आलोपालो विषादी स्प्रे गरेका छन् ।


सिन्धुलीमा गत वर्ष ८ हजार ५ सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । जुनारबाट कृषकले करिब ३० करोड रुपैयाँ हात पारेका थिए । जिल्लामा १ हजार ३ सय २५ हेक्टरमा जुनार खेती हुँदै आएको छ । जुनारमा जस्तो सुन्तलामा भने कीराको प्रकोप छैन ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

मनहरीमा समान ज्याला नीति

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकाले ‘समान कामको समान ज्याला’ कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले ऐन नै बनाएर पुरुष र महिलालाई समान कामका लागि समान ज्याला पाउने प्रावधान कार्यान्वयनमा ल्याएको हो । 

मनहरी गाउँपालिका–३ लामिटारमा कोरियन फाउन्डेसन र गाउँपालिकाको लगानीमा निर्माण भइरहेको विद्यालयमा महिला डकर्मीले अहिले काम गरिरहेका छन् । समान कामको समान ज्याला लागू भएपछि जिल्लामा महिला डकर्मीहरूको संख्यासमेत बढेको छ । महिला डकर्मीका रूपमा विद्यालय भवन निर्माणको काम गरिरहेकी मनहरी–३ की फूलमाया छुमीले पुरुष सरह ज्याला पाउदा श्रमको सम्मान भएको भएको बताइन् ।

निर्माण मजदुरका रूपमा काम थालेकी उनी अहिले डकर्मीको काम गर्छिन् । विगतमा पुरुष सरह श्रमको काम गरेपनि ज्यालामा विभेद भएको तीतो अनुभव छ । गाउँपालिकाले ‘समान काम समान ज्याला’ को नीति कार्यान्वयन गरेपछि महिला मजदुरमाथि न्याय भएको उनले बताइन् । अहिले उनले डकर्मी काम गरेको दैनिक ७ सय रुपैयाँ पाउँछिन्, पुरुष डकर्मीले पनि त्यति नै पाउँछन् ।

‘कृषि कर्म गर्ने महिला र पुरुषले पनि मनहरीमा समान ज्याला पाउन थालेका छन्,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘ऐन बनाएर समान कामको समान ज्यालाको नीति कार्यान्वयनमा ल्याएपछि श्रममा लैंगिक विभेद पनि हटेको छ ।’ गाउँपालिकाले ऐनमै ल्याएका प्रावधानविपरीत कसैले काम गरे कारबाहीका लागि उजुरी दिन सकिने उनले बताए ।

मनहरी–३ कै मञ्जु लामा लामो समयदेखि अनौपचारिक क्षेत्रमा मजदुरी काम गर्दै आएकी छन् । पुरुष सरह ज्याला पाउन थालेपछि उनलाई बल्ल आनन्द लागेको छ । ‘आलु खन्न, मकै गोड्न होस् वा खेतबारीमा मल बोक्न, ज्याला भने पुरुष सरह दिइँदैनथ्यो,’ उनले भनिन्, ‘उति नै बलको काममा उति नै समय लागे पनि ज्याला कम दिइनु महिलामाथि विभेद नै थियो ।’

महिलाको पसिनाको मूल्य भर्खर मात्र गाउँका जनप्रतिनिधिहरूले बुझ्न थालेको उनले बताइन् । संविधान २०७२ को दफा १८ को उपदफा ४ मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै विभेद गरिने छैन भनी उल्लेख गरिएको छ । सोहीअनुसार स्थानीय स्तरमा प्रभावकारी कामका लागि ऐन नै तयार पारेर कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताए ।

‘समान कामको समान ज्यालाको नीति क्रमशः कार्यान्वयनको तहमा गइरहेको छ,’ उनले भने । जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित स्थानीय तहको नियमित संयुक्त बैठकले स्थानीय तहले कानुन निर्माण गरेर समान कामको समान ज्यालाको नीति कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयका आधार कानुन निर्माण गर्न मनहरी गाउँपालिकाले छिटो गरेको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×