१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मनहरीमा समान ज्याला नीति

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकाले ‘समान कामको समान ज्याला’ कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले ऐन नै बनाएर पुरुष र महिलालाई समान कामका लागि समान ज्याला पाउने प्रावधान कार्यान्वयनमा ल्याएको हो । 

मनहरी गाउँपालिका–३ लामिटारमा कोरियन फाउन्डेसन र गाउँपालिकाको लगानीमा निर्माण भइरहेको विद्यालयमा महिला डकर्मीले अहिले काम गरिरहेका छन् । समान कामको समान ज्याला लागू भएपछि जिल्लामा महिला डकर्मीहरूको संख्यासमेत बढेको छ । महिला डकर्मीका रूपमा विद्यालय भवन निर्माणको काम गरिरहेकी मनहरी–३ की फूलमाया छुमीले पुरुष सरह ज्याला पाउदा श्रमको सम्मान भएको भएको बताइन् ।


निर्माण मजदुरका रूपमा काम थालेकी उनी अहिले डकर्मीको काम गर्छिन् । विगतमा पुरुष सरह श्रमको काम गरेपनि ज्यालामा विभेद भएको तीतो अनुभव छ । गाउँपालिकाले ‘समान काम समान ज्याला’ को नीति कार्यान्वयन गरेपछि महिला मजदुरमाथि न्याय भएको उनले बताइन् । अहिले उनले डकर्मी काम गरेको दैनिक ७ सय रुपैयाँ पाउँछिन्, पुरुष डकर्मीले पनि त्यति नै पाउँछन् ।


‘कृषि कर्म गर्ने महिला र पुरुषले पनि मनहरीमा समान ज्याला पाउन थालेका छन्,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘ऐन बनाएर समान कामको समान ज्यालाको नीति कार्यान्वयनमा ल्याएपछि श्रममा लैंगिक विभेद पनि हटेको छ ।’ गाउँपालिकाले ऐनमै ल्याएका प्रावधानविपरीत कसैले काम गरे कारबाहीका लागि उजुरी दिन सकिने उनले बताए ।


मनहरी–३ कै मञ्जु लामा लामो समयदेखि अनौपचारिक क्षेत्रमा मजदुरी काम गर्दै आएकी छन् । पुरुष सरह ज्याला पाउन थालेपछि उनलाई बल्ल आनन्द लागेको छ । ‘आलु खन्न, मकै गोड्न होस् वा खेतबारीमा मल बोक्न, ज्याला भने पुरुष सरह दिइँदैनथ्यो,’ उनले भनिन्, ‘उति नै बलको काममा उति नै समय लागे पनि ज्याला कम दिइनु महिलामाथि विभेद नै थियो ।’


महिलाको पसिनाको मूल्य भर्खर मात्र गाउँका जनप्रतिनिधिहरूले बुझ्न थालेको उनले बताइन् । संविधान २०७२ को दफा १८ को उपदफा ४ मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै विभेद गरिने छैन भनी उल्लेख गरिएको छ । सोहीअनुसार स्थानीय स्तरमा प्रभावकारी कामका लागि ऐन नै तयार पारेर कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताए ।


‘समान कामको समान ज्यालाको नीति क्रमशः कार्यान्वयनको तहमा गइरहेको छ,’ उनले भने । जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित स्थानीय तहको नियमित संयुक्त बैठकले स्थानीय तहले कानुन निर्माण गरेर समान कामको समान ज्यालाको नीति कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयका आधार कानुन निर्माण गर्न मनहरी गाउँपालिकाले छिटो गरेको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?