१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सदरमुकाम पुग्न ३ जिल्लाको फन्को

नगेन्द्र अधिकारी

(तालढुंगा, काभ्रे) : आफ्नै जिल्लाभित्रै भएर जाने भरपर्दो सडक नहुँदा खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाबाट सदरमुकाम धुलिखेल आउन तीन जिल्लाको फन्को लगाउनुपर्छ  । जिल्लाभित्रैको सडक हुँदै यातायात सञ्चालन हुने अवस्था नभएपछि तालढुंगावासी ललितपुर, काठमाडौं र भक्तपुरको फन्को लगाएर मात्रै धुलिखेल पुग्न सक्छन्  ।

सदरमुकाम पुग्न ३ जिल्लाको फन्को

(तालढुंगा, काभ्रे) : आफ्नै जिल्लाभित्रै भएर जाने भरपर्दो सडक नहुँदा खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाबाट सदरमुकाम धुलिखेल आउन तीन जिल्लाको फन्को लगाउनुपर्छ । जिल्लाभित्रैको सडक हुँदै यातायात सञ्चालन हुने अवस्था नभएपछि तालढुंगावासी ललितपुर, काठमाडौं र भक्तपुरको फन्को लगाएर मात्रै धुलिखेल पुग्न सक्छन् । उक्त रुटमा ठूला दुर्लुङ खोला पर्छ । वर्षाका बेला यही मार्गमा पनि बाढीले बस सेवा अवरुद्ध हुने गरेको छ । यातायातको असुविधाका कारण तालढुंगाका बासिन्दा दुई महिनाअघि नै खाद्यान्नको जोहो गर्न बाध्य छन् ।
खानी खोलाको तालढुंगाबाट ललितपुर जिल्लाको ग्रामीण बस्ती वाग्मती र महाँकाल गाउँपालिका हुँदै कान्ति लोकपथ भएर चापागाउँ निस्केर भक्तपुर हुँदै काभ्रे आउन १२ घण्टा लाग्छ । ‘सडक सजिलो नहुनुको पीडा यहाँका स्थानीयले भोगिरहेका छन्,’ खानीखोला गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक शुकदेव थपलियाले भने, ‘खोपासी तालढुंगा सडक बस चल्न योग्य बनाउने हो भने जनताले सास्ती खेप्नु पर्दैनथ्यो ।’
उनका अनुसार असुविधाका कारण गाउँले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यात्रुबाहक बसमा सिमेन्ट र रडजस्ता निर्माण सामग्री पनि बोकिने भएकाले बढी भारका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । डाँडापारि क्षेत्रमा यातायात सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको खोपासी–तालढुंगा सडकमा निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि गाडी चलाउन सहज भइसकेको छैन । करिब ४० करोड खर्च भइसक्दा पनि खोपासीदेखि तालढुंगा जोड्ने ६४ किलोमिटर सडक अझै पूरा भइसकेको छैन ।
एसियाली विकास बैंकको ऋण सहयोगमा २०५४ सालबाट सञ्चालित ग्रामीण पूर्वाधार विकास कार्यक्रमले २०६४ सालसम्ममा २२ किमि सडक बनाएपछि तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेको थियो । कोत्रे भीरको पहरा फुटाउन कठिन भएकाले सडक दुईतर्फी हुन सकेको थिएन । खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल आगामी असारमा नै बस सेवा सञ्चालन गर्नेगरी तयारी भइरहेको दाबी गर्छन् । ‘बाटो सुधारको काम भइरहेको छ, मोडहरू फराकिलो गर्ने र बस चलाउन योग्य बनाउने काम भइरहेको छ,’ उनले भने, ‘मर्मत र सुधार गरेर तत्काल नियमित बस सेवा सञ्चालन गर्न लागेका छौं ।’
पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार सडक विभागको १ करोड र प्रदेश सरकारको ३ करोड बजेटबाट सडक फराकिलो पार्ने र ग्रेड मिलाउनेलगायतका काम भइरहेका छन् । प्रदेश सरकारले जिल्ला सदरमुकामबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने घोषणा गरेपछि खानीखोलाले खोपासी–तालढुगा सडकलाई नै सिफारिस गरेको छ । ‘कालोपत्रे गर्न यही सडकलाई नै सिफारिस गरेका छौं । क्रमशः स्थितिमा सुधार हुँदै छ,’ अध्यक्ष खुलालले भने ।
डाँडापारिका विकट साविक १० गाविसमा सडकका लागि विभिन्न समय करोडौँ रकम खर्च भइसकेको छ । अझै पनि सडक सन्जालमा जोडिएका छैनन् । दलहरूका नेतापिच्छेका योजनाका कारण सदरमुकाम जोड्ने स्थायी सडक बन्न नसकेको हो । जिल्लाको भीमखोरी–सिन्धुली हुँदै महाभारत गाउँपालिकाको केन्द्र बनखुसम्म बस चल्न थालेको छ । ट्र्याक मात्रै खोलिएको सडकमा वर्षामा भने गाडी चल्दैन । ललितपुरको चापागाउँबाट वाग्मती किनार हुँदै ठूलादुर्लुङबाट खानीखोला गाउँपालिकाको तालढुंगासम्म मोटरबाटो सञ्चालनमा आए पनि वर्षामा अवरुद्ध हुन्छ । साबिक मिल्चे महाँकालदेखि साल्मेचाकल गाविसको तालढुंगासम्म डेढ दशकअघि नै ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत ट्र्याक खोलिएको थियो । पनौती, च्याम्राङबेंसी, मिल्चे र बोराङ सडक शीर्षकमा १० वर्षअघिदेखि बजेट विनियोजन भएको भए पनि उक्त मार्ग अझै गाडी चलाउन सहज भइसकेको छैन ।
यातायात सुविधा नभएका क्षेत्रका बासिन्दा बिरामी पर्दा धेरै मर्कामा हुन्छन् । केहीले स्वास्थ्य सेवा लिनकै लागि लाखौँ रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?