दुर्गम गाउँमा मोटरबाटो

नुवाकोट — दुर्गम बरचेतवासीलाई म्यागङ गाउँपालिका देउरालीसम्म आउन र स्थानीयस्तरमा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउनका लागि मोटरबाटो निर्माण गरिएको छ  । ‘गाउँपालिका आउन पैदल हिँडेर एक दिन लाग्छ,’ स्थानीय छेपोन तामाङले, भने, ‘अहिले गाउँमा मोटर पुग्यो  ।

गाउँमा फलेका चिजबिज बजार पुर्‍याउन पाइयो ।’ स्थानीयलाई एक दिन पैदल हिँडेर त्रिशूली बजारसम्म झर्नुपर्ने बाध्यता हटेको छ । स्थानीयवासी डोको र थुन्सेमा सामान बोकेर गाउँ र त्रिशूली बजार आवतजावत गर्थे । उनले भने, ‘बिजुली नहुँदा मट्टितेल किन्न, लत्ताकपडा, जिरा मसाला किन्न त्रिशूली बजार नगइ हुँदैनथ्यो ।’

अहिले गाउँमै मोटर पुगेपछि भूकम्पले भत्किएका घरहरूको पुनर्निर्माणका लागि चाहिने निर्माण बजारबाट ल्याउन सहज भएको स्थानीयवासी बताउँछन् । ‘बजारबाट सामान बोकेरै ल्याउनुपर्थ्यो,’ स्थानीय लक्ष्मी तामाङले भनिन्, ‘बाटो आएर गाडीले अब सामान ल्याउँछ । सजिलो भयो ।’

बरचेत मेघाङ गाउँपालिका–२ मा पर्छ । वल्लो भेगमा बुङताङ गाउँ पर्छ । बुङताङमा मोटरबाटो पुगिसकेको छ । बुङताङ हुँदै भीर काटेर बरचेतमा मोटरबाटो बनाइएको हो । बरचेतका लागि बुङताङगाउँबाट दुइवटा मोटरबाटो लगिएको छ । बुङताङ गाउँको बीचबाट एउटा र अर्को गाउँमाथिबाट बाटो खनिएको छ । बुङताङगाउँबाट बरचेत ३ किमि अर्को बुङताङगाउँमाथिबाट डेढ किमि सडक भीर काटेर बनाइएको छ ।

यी दुवै सडकले किस्पाङ गाउँपालिका–४ भल्चे जोड्छ । ‘गाउँमा फलेका चिजबिज बजारसम्म पुर्‍याउन सडकले स्थानीयवासीलाई सजिलो बनाएको छ,’ म्यागङ–२ का वडाध्यक्ष रुपबहादुर तामाङले भने, ‘हाम्रो वडालाई मात्र नभई किस्पाङ–४ भाल्चेवासीलाई समेत सुविधा पुग्छ ।’

बरचेत र भाल्चेमा सुन्तला, आलु, मकै, कोदो, लोक्ता, ढोको, थुन्सेलगायतका वस्तुहरू उत्पादन हुन्छन् । बाटो निर्माण भएपछि संघीय सांसद बहादुरसिङ लामा तामाङ, जिविस सदस्य गणेश शाही र म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ लगायतले मोटरबाटो निरीक्षण गरेका थिए ।

उक्त बुङताङ गाउँबाट खनिएको मोटर बाटोलाई गाउँपालिका र प्रदेश सरकारको १ करोड २५ लाखभन्दा बढी बजेट परेको जनप्रतिनिधिले बताएका छन् । बुङताङ गाउँ माथिबाट खनिएको डेढ किमि सडकलाई प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट परेको गाउँपालिकाले जनाएको छ । म्यागङ र किस्पाङ गाउँपालिकालाई जोड्ने सडकले बरचेतमा १ सय ३८ घरधुरी र भाल्चेमा ७ सय घरधुरी लाभान्वित भएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?