२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

गोसाइँकुण्डमा ‘ईआईए’

केबलकारका दुइटा योजना प्रस्तावित

रसुवा — गोसाइँकुण्डसम्म केबलकार निर्माण गर्नका लागि दुइवटा संस्थाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रिया अघि बढाएका छन् । ईआईए गर्न हालसम्म दुई ठाउँबाट प्रस्ताव आएको छ ।

गोसाइँकुण्ड गाउँपालिका र घ्याङफेदी–गोसाइँकुण्ड केबलकार कम्पनी प्रालि महाराजगन्जले प्रक्रिया अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । केबलकार निर्माण गर्न प्रस्तावित क्षेत्र निकुञ्जभित्र पर्छ । गोसाइँकुण्ड गाउँपालिका–६ सदरमुकाम धुन्चेदेखि वडा ५ मा पर्ने धार्मिक तथा पर्यटकीय तीर्थस्थल गोसाइँकुण्डसम्म केबलकार बनाउने प्रस्ताव छ ।


निर्माण गर्न गाउँपालिका र दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माण गर्न घ्याङफेदी–गोसाइँकुण्ड केबलकार कम्पनी प्रालि महाराजगन्जले प्रस्ताव अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए ।


‘केबलकार बनाउने भनेर दुवै स्थानबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस भएको थियो,’ उनले भने, ‘उक्त प्रस्तावमा विभागले निकुञ्जसँग केबलकारको संरचना रहने फिल्डको अनुगमन तथा प्रिफिजिबिलिटी प्रतिवेदन माग गरेको थियो ।’

केबलकारको संरचना रहने भनिएका दुवै ठाउँमा स्थलगत अध्ययन गरेर निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि प्रिफिजिबिलिटी प्रतिवेदन विभागमा पठाइसकेको उनले बताए । गोसाइँकुण्ड समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा छ । दुप्चेश्वरदेखि गोसाइँकुण्डसम्म निर्माण गरिने भनिएको केबलकारको दूरी करिब १० किलोमिटर लम्बाइको हुनेछ ।


उक्त दूरीमा २ देखि ३ वटा टर्मिनल र २५ वटा टावर राखिने कम्पनीले प्रस्ताव गरेको छ । त्यसैगरी सदरमुकाम धुन्चेदेखि गोसाइँकुण्डसम्म निर्माण गरिने केबलकार दूरी करिब ६.५ किमि लामो हुने छ । उक्त दूरीमा २ वटा टर्मिनल र २८ वटा टावर राखिने प्रस्ताव गरिएको छ । सदरमुकाम धुन्चेदेखि–गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि गाउँपालिका आफैंले नै पहल गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।


‘धुन्चेदेखि–गोसाइँकुण्ड केबलकार निर्माणको प्रिफिजिबिलिटी रिर्पोट तयार भइसकेको छ,’ उनले भने । भ्रमणका लागि फ्रान्स पुगेका तामाङले फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई प्रिफिजिबिलिटी रिर्पोट बुझाएका छन् । केबलकार निर्माणका लागि वातावरण निर्माण तथा प्रचारमा सहयोग पुर्‍याउनका लागि प्रतिवेदन बुझाएको उनले बताए ।


सार्वजनिक निजी साझेदारीमा धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माण गर्ने योजना गाउँपालिकाको छ । निर्माण गर्न करिब १ अर्ब ७५ करोड लाग्ने प्रारम्भिक अध्यनबाट देखिएको छ । धुन्चे–गोसाइँकुण्ड केबलकार छोटो दूरीको साथै सस्तोमा निर्माण हुने अध्यक्ष तामाङले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?