२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सडक सुविधासँगै होटल थपिँदै 

सुजता लामा

सिन्धुलीमाढी — यातायात आवागमनका लागि सडक सडक सुवधिासँगै सिन्धुली होटल खुल्ने क्र म बढेको छ । पछिल्लो समय जिल्लामा ठूला तथा साना लगानीमा होटल खुल्ने क्रम बढिरहेको छ ।

बीपी राजमार्गले काठमाडौं र तराईलाई छोटो दूरीमा जोडेसंँगै होटल खुल्ने क्रम बढेको होटल व्यवसायी संघका महासचिव सीताराम पहाडीले बताए । राजमार्गअन्तर्गत सिन्धुली सदरमुकाम सिन्धुलीमाढी, माझीटार, भिमान, ढुंग्रेबास, भद्रकाली, खनियाँखर्क, खुर्कोट, खाल्टे, मुलकोट, रामटार, झागाझोली र रातमाटा लगायतका क्षेत्रमा होटल खुल्ने क्रम बढिरहेको हो ।


राजमार्ग सञ्चालनले जिल्लामा आन्तरिक तथा बाहृय पर्यटकको आवागमन बढेपछि व्यवसायीहरूले होटलमा लगानी गर्न उत्साहित छन् । नयाँ खोल्ने र पुरानाले सुविधा थप्न थालेपछि होटल व्यवसायमा लगानी बढेको छ । बीपी राजमार्गका छेउछेउमा यात्रुको सुविधाका लागि होटलहरू सञ्चालन हुने क्रम बढेको हो ।


पछिल्लो समय सिन्धुलीमाढीमा सिन्धुली इन र प्रयास होटलजस्ता ठूला लगानीका होटलहरू खुलेका छन् भने अरू पनि खुल्ने क्रममा छन् । सिन्धुलीगढी होटल, होटल भ्याली भ्यु, संगम होटल, महाभारत र हिमशिखरजस्ता ठूला लगानीका होटलहरू पहिल्यैबाट सिन्धुलीमाढीमा सञ्चालित छन् । उनीहरूले पनि सुविधा विस्तार गरिरहेका छन् ।


कमलामाई नगरपालिकाको उद्योग विकास शाखाका अनुसार २०७६ वैशाखसम्ममा ४ सय २४ वटा होटल दर्ता भएका छन् । यिनमा दुइटा ठूला लगानीका रिसोर्ट दर्ता भएका छन् । नगर क्षेत्रमा होटलको आम्दानी वार्षिक २५ करोड हाराहारी छ । ठूला लगानीका रिसोर्ट पनि धमाधम खुल्ने क्रममा छन् । कम्तीमा ७ लाखदेखि बढीमा १० करोडसम्मका लागानीमा होटल खुलेका छन् ।


पछिल्लो समय सबैभन्दा बढी सुनकोसी गाउँपालिकामा होटल खुलेका छन् । मुलकोटमा मात्रै ठूला लगानीका ४० भन्दा बढी होटल तथा रेस्टुरेन्टहरू खुलेका छन् । यहाँ कम्तीमा १० लाखदेखि १६ करोडसम्मका होटल सञ्चालनमा आएको मुलकोट होटल व्यवसायी संघका अध्यक्ष मनोज श्रेष्ठले बताए ।


मुलकोटमा १० करोड लागतमा ताज रिसोर्ट सञ्चालनमा आइसकेको छ भने १६/१६ करोड लागतका दुइवटा रिसोर्ट सञ्चालनका लागि तयारी अवस्थामा छन् । बीपी राजमार्ग हुँदै दैनिक सयौंको संख्यामा यात्रु आवतजावत गर्ने भएकाले व्यापारीहरू होटलतर्फ आकर्षित भएका उनले बताए । बीपी राजमार्गमार्फत काभ्रेको धुलिखेल हुँदै सिन्धुलीमाढी निस्केर महोत्तरीको बर्दिबाससम्मको १ सय ५८ किलोमिटरको दूरी ४ घण्टामै पार गर्न सकिने भएपछि यात्रुको आवतजावत बढेको छ ।


‘प्रायः गाडीहरू सबै एकैपटक आइपुग्छन् । ग्राहकले भनेको बेलामा खाना र खाजा पुर्‍याउनै सकिन्न,’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले ठूला–ठूला होटलहरू खुल्न थालेका छन् । ग्राहकलाई भएका होटलहरूले मात्र सेवा दिन नसकेपछि होटलहरू खुल्ने क्रम बढेको हो ।’


सिन्धुलीमा सञ्चालित ४ सय २४ होटलमध्ये ३ सय १८ पुरुषले सञ्चालन गरेका छन् भने १ सय ६ वटा होटल महिलाले नै दर्ता गरेर सञ्चालन गरेका छन् । हाल सञ्चालित होटलमा १ हजार २ सय ६८ जनाले रोजगारी पाएका छन् । जसमा पुरुष ८ सय ५६ जना र महिला ४ सय १२ जनाले रोजगारी पाएको कमलामाई नगरपालिकाको उद्योग विकास शाखाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?