वृद्ध दाजुभाइको घर बनाउने धोको

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — बुढ्यौली ज्यानमा थोत्रा र च्यातिएका लुगा । चार वर्षको घाम पानीले टहराको जस्तापाता जताततै प्वाल परिसकेका छन् । बिहानबेलुकीको छाक टार्न मुस्किल छ । आँखा र शरीर सुन्निँदा हिँडडुल गर्न पनि हम्मेहम्मे परेको छ । इन्द्रावती गाउँपालिका— १० का बडहरेका ८६ र ८२ वर्षका दाजुभाइ तुलसीदास र बलराम श्रेष्ठको अवस्था हेर्दा जोकोहीलाई नरमाइलो लाग्छ ।

इन्द्रावती–१० बडहरेका तुलसीदास र बलराम श्रेष्ठ । तस्बिर : कान्तिपुर 

‘छाकको जोहो गर्नमै दिन जान्छ । टहराबाट कहिले लघारिनुपर्ने हो थाहा छैन, के गर्नु यस्तै लेखेको रहेछ,’ तुलसीदासले स्वाँस्वाँ गर्दै भने, ‘अरूको जग्गामा टहरो छ ।’

अर्काको जग्गामा बसाइ भए पनि दुवैको धोको आफ्नै घर बनाउने छ । २०६२ सालसम्म वरपरको जग्गामा तुलसीदासका पाँच दाजुभाइ खेतीपाती गरेर गुजारा चलाउँथे । जेठा र माइलाले तराई पुगेर बिहेवारी चलाए । यता बुबाआमा र आफैंलाई विभिन्न समस्या पर्दा लिएको ऋण थुप्रियो । भूकम्पले पुर्ख्यौली घर ढलाएपछि झनै नराम्रो दिन सुरु भयो । घरवरिपरिको जग्गा बेच्दै ऋण तिर्दै जाँदा सम्पत्ति सकियो ।

‘धेरैको वचन सहन नसकेपछि सबै बेचेर ऋण तिरिदियौँ तर आफू बस्नुपर्ने जग्गाको बारेमा सोचेनौँ, अहिले दिक्क लाग्छ,’ बलरामले भने । जेठा र माइला उतै बितेको र केही समयअघि साइला भाइको मृत्यु भएको उनले सुनाए । दयनीय अवस्थामा बाँचिरहेका दाजुभाइ कसैले केही जग्गा सहयोग गरिदिए घर बनाउने धोको राख्छन् ।

‘दिनरात योबूढो शरीर घोटाएर भए पनि घर बनाएर छाड्थ्यौं,’ उनले भने, ‘जग्गा किन्ने हैसियत छैन । सानो घरको सपना मात्रै देखेर मरिन्छजस्तो छ ।’ अविवाहित दाजुभाइ वृद्धावस्थामा एक्लै परेका छन् । कुखुरा र बाख्रा पालेर घर बनाउने जोहो गर्दै रहेका उनीहरू अझै ज्याला मजदुरी गर्न खोज्छन् । ‘बुढेसकालमा किन चाहियो घर ?’ भनेर केहीले गिज्याइरहे पनि आफ्नो सुर नछाडेको दुवैको भनाइ छ । मर्नुअघि सुरक्षित घरमा बस्ने इच्छा उनीहरूको छ ।

दुवै वृद्ध र बिरामी भएकाले स्थानीयले आवश्यक सहयोग गर्दै आएका छन् । समस्या बुझेपछि दुवैलाई वृद्धाश्रममा लैजान खोजेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए । ‘उहाँहरूको त्यही घर बनाउने इच्छा देखिएको छ, त्यसको लागि पहल गर्दै छौँ,’ उनले भने । आवास अनुदान उपलब्ध भए पनि घर बनाउने जग्गा नभएका कारण दुवै अन्योलमा परेको उनले प्रस्ट्याए ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

गढीमा पुग्यो बिजुली

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको विकट गाउँपालिका हरिरहपुरगढीमा बिजुली बत्ती पुगेपछि स्थानीय खुसी भएका छन् । यसअघि टुकी बत्तीको भरमा रहेका स्थानीय बिजुली बत्तीको उज्यालोमा बस्न पाएसँगै दंग छन् । 

हरिहरपुरगढी–१ मा बत्ती बलेपछि स्थानीय बिर्खबहादुर योञ्जन टुकी बत्तीको भरमा बस्नुपर्ने समस्याको हल भएको बताउँछन् । वर्षौंदेखि बिजुलीको उज्यालोमा बस्ने सपना पूरा भएको योञ्जनले सुनाए । अर्का स्थानीय माइली तामाङ पनि बिजुली बत्ती बलेपछि निकै नै खुसी छिन् । बिजुली बत्ती नहुँदा दैनिकी निकै नै कष्टकर रहेको सुनाउने उनी बत्ती बलेसँगै उज्यालोमा खाना बनाउन र खान पाएको बताउँछिन् ।

बिजुली बत्ती बलेसँगै वडाका झन्डै १ सय घरपरिवार लाभान्वित भएका छन् । नयाँ वर्षबाट वडाका १ सय घरपरिवार बिजुलीको उज्यालोमा बस्न पाएका हुन् । वडाले चालु आवमा बिजुली बत्तीका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम सुरु गरेको वडाध्यक्ष कार्साङ घलानले बताए । ७ सय ७८ घरधुरी रहेको वडामा अझै ६ सय भन्दा बढी घरधुरी बिजुली बत्तीको उज्यालोबाट वञ्चित छन् ।

गाउँपालिकाले सबै वडामाविद्युतीकरणका लागि काम गरिरहेको छ । यस अघि पालिकाको कुनै पनि वडामा बिजुली बत्ती पुगेको थिएन । गाउँपालिकाले विद्युत् विस्तारका लागि रकम विनियोजन गरेको गापा अध्यक्ष कार्साङ थिङले बताए । विद्युत्कीरणका लागि गाउँपालिकाले आव ०७५/७६ मा ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कमलामाई नगरपालिकामा भने आगामी आर्थिक वर्षभित्रमा नगरका सबै वडामा विद्युत् पुर्‍याउने योजनामा रहेको छ । नगरका १४ वटै वडामा आगामी आर्थिक वर्षमा विद्युत्कीरणको कार्य पूरा हुने नगर प्रमुख खड्गबहादुर खत्रीले बताए । उज्यालो नगरको अवधारणालाई साकार पार्न कमलामाई नगरपालिका विद्युत् विस्तारमा लागि परेको नगरप्रमुख खत्रीले सुनाए ।

स्थानीय तहको निर्वाचनका बेला घोषणा पत्रको पहिलो बुँदामा नै ‘नगरबासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भन्ने नारा राखिएकाले त्यस नारालाई सार्थक बनाउनका लागि आफूहरू लागि परेको उनले बताए । विद्युत् विस्तारका लागि चालु आवका लागि नगरले २ करोड रकम विनियोजन गरेको छ । दुधौली नगरपालिकाले पनि विद्युत् विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

नगरपालिकामा १४ वडाहरूमध्ये ५ वटाका नागरिकले हालसम्म पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । अन्य वडामा भने आंशिक विस्तार भएको छ । विद्युत् सेवा नहुँदा नगरपालिकाको विकासमा बाधा पुगेको भन्दै नगरले विद्युतीकरणलाई प्राथमिकता दिएको नगर प्रमुख घनश्याम राहुतले बताए । नगरका सबै घरमा बिजुली पुर्‍याउने योजनाका साथ आफूहरू लागि परेको नगरप्रमुख राहुत बताउँछन् ।

जिल्लाको फिक्कल, सुनकोसी, गोलञ्जोर, मरिण र ध्याङलेख गाउँपालिका पनि विद्युत् नपुगेका आआफ्नो स्थानीय तहका विभिन्न स्थानमा विद्युत् विस्तारमा लागि परेका छन् । सबै नागरिकलाई बिजुलीको उज्यालोमा राख्ने चुनावको बेला गरेको वाचा पूरा गर्न लागि परिरहेको पालिका प्रमुख बताउँछन् ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्