१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गढीमा पुग्यो बिजुली

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको विकट गाउँपालिका हरिरहपुरगढीमा बिजुली बत्ती पुगेपछि स्थानीय खुसी भएका छन् । यसअघि टुकी बत्तीको भरमा रहेका स्थानीय बिजुली बत्तीको उज्यालोमा बस्न पाएसँगै दंग छन् । 

हरिहरपुरगढी–१ मा बत्ती बलेपछि स्थानीय बिर्खबहादुर योञ्जन टुकी बत्तीको भरमा बस्नुपर्ने समस्याको हल भएको बताउँछन् । वर्षौंदेखि बिजुलीको उज्यालोमा बस्ने सपना पूरा भएको योञ्जनले सुनाए । अर्का स्थानीय माइली तामाङ पनि बिजुली बत्ती बलेपछि निकै नै खुसी छिन् । बिजुली बत्ती नहुँदा दैनिकी निकै नै कष्टकर रहेको सुनाउने उनी बत्ती बलेसँगै उज्यालोमा खाना बनाउन र खान पाएको बताउँछिन् ।


बिजुली बत्ती बलेसँगै वडाका झन्डै १ सय घरपरिवार लाभान्वित भएका छन् । नयाँ वर्षबाट वडाका १ सय घरपरिवार बिजुलीको उज्यालोमा बस्न पाएका हुन् । वडाले चालु आवमा बिजुली बत्तीका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम सुरु गरेको वडाध्यक्ष कार्साङ घलानले बताए । ७ सय ७८ घरधुरी रहेको वडामा अझै ६ सय भन्दा बढी घरधुरी बिजुली बत्तीको उज्यालोबाट वञ्चित छन् ।


गाउँपालिकाले सबै वडामा विद्युतीकरणका लागि काम गरिरहेको छ । यस अघि पालिकाको कुनै पनि वडामा बिजुली बत्ती पुगेको थिएन । गाउँपालिकाले विद्युत् विस्तारका लागि रकम विनियोजन गरेको गापा अध्यक्ष कार्साङ थिङले बताए । विद्युत्कीरणका लागि गाउँपालिकाले आव ०७५/७६ मा ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


कमलामाई नगरपालिकामा भने आगामी आर्थिक वर्षभित्रमा नगरका सबै वडामा विद्युत् पुर्‍याउने योजनामा रहेको छ । नगरका १४ वटै वडामा आगामी आर्थिक वर्षमा विद्युत्कीरणको कार्य पूरा हुने नगर प्रमुख खड्गबहादुर खत्रीले बताए । उज्यालो नगरको अवधारणालाई साकार पार्न कमलामाई नगरपालिका विद्युत् विस्तारमा लागि परेको नगरप्रमुख खत्रीले सुनाए ।


स्थानीय तहको निर्वाचनका बेला घोषणा पत्रको पहिलो बुँदामा नै ‘नगरबासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भन्ने नारा राखिएकाले त्यस नारालाई सार्थक बनाउनका लागि आफूहरू लागि परेको उनले बताए । विद्युत् विस्तारका लागि चालु आवका लागि नगरले २ करोड रकम विनियोजन गरेको छ । दुधौली नगरपालिकाले पनि विद्युत् विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।


नगरपालिकामा १४ वडाहरूमध्ये ५ वटाका नागरिकले हालसम्म पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । अन्य वडामा भने आंशिक विस्तार भएको छ । विद्युत् सेवा नहुँदा नगरपालिकाको विकासमा बाधा पुगेको भन्दै नगरले विद्युतीकरणलाई प्राथमिकता दिएको नगर प्रमुख घनश्याम राहुतले बताए । नगरका सबै घरमा बिजुली पुर्‍याउने योजनाका साथ आफूहरू लागि परेको नगरप्रमुख राहुत बताउँछन् ।


जिल्लाको फिक्कल, सुनकोसी, गोलञ्जोर, मरिण र ध्याङलेख गाउँपालिका पनि विद्युत् नपुगेका आआफ्नो स्थानीय तहका विभिन्न स्थानमा विद्युत् विस्तारमा लागि परेका छन् । सबै नागरिकलाई बिजुलीको उज्यालोमा राख्ने चुनावको बेला गरेको वाचा पूरा गर्न लागि परिरहेको पालिका प्रमुख बताउँछन् ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?