२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पुनर्निर्माण अन्तिम चरणमा मितेरी पुल

रसुवा — रसुवागढी नाकाको नेपाल र चीन जोड्ने मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । तिब्बत इन्जिनियरिङ कम्पनी तान् सुन रोड एन्ड ब्रिजले मितेरी पुल पुनर्निर्माण गरिरहेको छ । 

पुनर्निर्माण अन्तिम चरणमा मितेरी पुल

०७२ वैशाख १२ को भूकम्पले नेपाल-चीन जोड्ने पुलमा क्षति पुर्‍याएको थियो । भूकम्पका बेला पहिरोसँगै आएको ढुंगाले लागेर पुरानो पुलको बीचमा ठूलो प्वाल पारेको थियो । पुल काम नलाग्ने भएपछि पुनर्निर्माण गरिएको हो । पुल निर्माण करिब सकिसकेको छ ।


अहिले पुलको दुवैतर्फ गेट निर्माण गर्ने काम पनि हुँदै गरेको सशस्त्र प्रहरीबल राजस्व तथा भन्सार सुरक्षा गुल्मपति जीवन केसीले बताए । ‘पुलको एकातर्फ बार लागिसकेको छ,’ उनले भने, ‘अर्कोतर्फ पनि बार लाग्दै छ ।’


पुल निर्माणसँगै नेपालतर्फ करिब १ सय ५० मिटर डबल लेनको सडक ढलान गर्ने कामसमेत सकिएको छ । निर्माण सकिएपछि पुल जेठको अन्तिममा हस्तान्तरण गर्ने चिनियाँ पक्षले बताएको छ । पुरानो पुलभन्दा ५ मिटर उत्तरपूर्वमा नयाँ पुल बनाइएको हो ।


चीन सरकारको पूर्णसहयोगमा पुलको पुननिर्माण भएको हो । पुलको पुन निर्माण गर्न नेपाल सरकार र चीन सरकार बिच सन् २०१८ जुन २१ मा सहमति पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्दा सहमति पत्रमा हस्ताक्षर भएको हो । पुल चीन सरकारले पुनर्निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।


प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गत भदौ २३ मा ल्हासाबाट मितेरी पुलको शिलान्यास गरेका थिए । पुलको लम्बाई १ सय १० मिटर र चौडाइ १२ मिटर रहेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि व्यापार सहजीकरणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रकाशित : जेष्ठ २२, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?