१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

किसानलाई आलु खन्न भ्याइनभ्याइ

थाहा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका कृषकलाई आलु खन्न भ्याइनभ्याइ छ । अहिले बारीको होइन खेतको आलु खन्ने गर्छन् । ‘बारीको आलु ढिलै लगाएको हुँदा खन्ने बेला पनि अलिपछि नै हुन्छ । गत वर्षजस्तो यो वर्ष आलु उत्पादन भएको छैन । आलुको गेडा लागेको छ तर स–सानो छ,’ स्थानीयवासी विमल ढकालले भने, ‘आलु पोहोरको जस्तो फलेको पनि छैन, वजारमा भाउ पनि छैन ।’

किसानलाई आलु खन्न भ्याइनभ्याइ

गत वर्षका आलु खन्दाखन्दै कृषकले खेतवाट नै रातो सेतो दुवै प्रतिकेजी २० देखि २५ रुपैयाँमा बिक्री गरेका थिए ।


अहिले व्यापारीले बढीमा प्रतिकेजी १७ रुपैयाँमा खरिद गर्ने गरेका छन् । आलुको बोट सप्रेको थियो तर आलुचाहिँ राम्रोसँग फलेको छैन । आलु खन्दै अधिकांश कृषकले खेतबाट नै व्यापारीलाई बिक्री गर्ने गरेका छन् । आलु सुरक्षित ढंगले भण्डारण गर्ने शीतभण्डार नभएकाले कुहिने डरले खन्नेबिक्तिकै बित्री गर्ने गरेका छन् । थाहा नगरपालिकाको अधिकांश खेतमा आलु खन्ने काम कृषकहरू व्यस्त छन् ।


थाहा नगरपालिकाको सबै क्षेत्रका जमिनहरूमा आलु खेती गर्ने गरिन्छ । पानी धेरै परेर घाम नलागेकाले आलुको उत्पादनमा कमी आएको थाहा नगरपालिकाका कृषि संयाजक सञ्जय तिवारीले भने, ‘पानी धेरै पर्‍यो, आलुको बोट हलक्क आयो तर आलु राम्रोसँग उत्पादन भएन ।’


गत वर्ष थाहा नगरपालिकामा आलुको उत्पादन राम्रो हुनाले किसानले आम्दानी राम्रै गरेका थिए । जेठको पहिलो सातादेखि थाहा नगरपालिकाको दामन, पालुङ, वज्रवाराही क्षेत्रका कृषकले आलु खन्न सुरु गर्छन् । यस क्षेत्रमा कार्डिनल, कुखुरेज्योति, डेजुरे र स्थानीय जातका आलु लगाउने गर्छन् । थाहा नगरपालिकाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी हो । त्यसमा पनि सबैभन्दा बढी आलु हो ।


‘आलु उत्पादनले नै यस क्षेत्रका अधिकांश बासिन्दाको वर्ष दिनको आर्थिक कारोबार चल्ने गरेको छ । साविकको दामन, पालुङ, आग्रा, टिस्टुङ, चित्लाङ र वज्रवाराही गाविस समेटेर बनेको थाहा नगरपालिकाका ६ हजार रोपनी जग्गामा आलु खेती गरिन्छ’ थाहा नपाका कृषि शाखाका प्रमुख तिवारीले भने, ‘प्रतिरोपनीमा सरदर १५ क्विन्टल आलु उत्पादन हुन्छ ।’


जेठको पहिलो सातादेखि अन्तिम सातासम्म आलु किसानले खनिसक्छन् । आलु खन्नेबित्तिकै त्यस जग्गामा काउली, बन्दाकोपी मुलालगायत अन्य तरकारी खेती गर्छन् । आलु सुरक्षितसाथ भण्डारन गर्ने स्थानको अभावले गर्दा कृषकहरूले आलु खन्दाखन्दै खेतबाट नै बिक्री गर्ने गर्छन् ।


कृषि शाखाका अनुसार थाहाबाट बर्सेनि करिब ६० करोड रुपैयाँको आलु निर्यात हुने गर्छ । यहाँ उत्पादन हुने बेमौसमी आलु भारतका विभिन्न भागसहित मुलुकको काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत विभिन्न सहरमा पुग्ने गर्छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?