कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

डाइभर्सन बन्दा ३ किमि सडक डुब्ने

टीकाप्रसाद भट्ट

रामेछाप — सुनकोसी–मरिन डाइभर्सन आयोजना निर्माण गर्दा बीपी राजमार्गको तीन किमि सडक डुबानमा पर्ने भएको छ । यसले पूर्व उत्तरतर्फ पर्ने खुर्कोट–मन्थली सडकलाई भने असर गर्दैन । 

सुनकोसीमा १ सय ६२ मिटर लामो डाइभर्सन निर्माण गरी पानी डाइभर्ट गरिने आयोजना प्रमुख सुशील आचार्यले जानकारी दिए । यसो गर्दा सुनकोसी र तामाकोसीमा पानीको सतह १४ मिटर माथि उठ्छ । यसले नदी किनारको तीन किमि सडक डुब्नेछ । यसबाट कति प्रभावित हुन्छन् भन्नेबारे बस्ती र जग्गाको विवरण लिइरहेको उनले बताए । डुबानमा पर्ने व्यक्तिगत सम्पत्ति अधिग्रहण गरिनेछ । डाइभर्सनका कारण समुद्री सहतदेखि ४ सय ७४ मिटर उचाइसम्म पानी जम्ने र त्यो बाँधभन्दा करिब ६ किलोमिटर उत्तरसम्म मात्र पुग्ने आचार्यको भनाइ छ ।


सुनकोसीमा बाँध बाँधेर फर्काउने पानी महाभारत पर्वतको भित्री भागबाट १३ किलोमिटर लामो सुरुङ निर्माण गरी सिन्धुलीको कमलामाई नगरपालिका २ कुशुमटार पुर्‍याइनेछ । यो ठाउँमा साढे २७ मेगावाट बिजुली उत्पादन गरिनेछ । विद्युत् गृहबाट बाहिरिएको पानी मरिन खोला हुँदै वाग्मती नदीमा पुग्ने र त्यसबाट पूर्व र पश्चिम नहरमार्फत दुई भागमा वितरण गर्ने आयोजनाको लक्ष्य छ ।


आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्नेछ । राष्ट्रिय गौरवको उक्त आयोजनाको लागत भने यकिन भइसकेको छैन । सबै काम निर्बाध भएमा ५ वर्षमा विद्युत् र सिँचाइको दुवैको काम सम्पन्न गर्ने लक्ष्य रहेको आचार्यले बताए ।


आगामी आवको पहिलो चौमासिकमा आयोजना बनाउन टनेल बोरिङ मेसिन खरिद उनको भनाइ छ । सिँचाइ विभागले भेरी बबई आयोजनामा टीबीएममार्फत सुरुङ निर्माण गरेर द्रुतगतिमा काम भएको अनुभवका आधारमा सुनकोसी मरिन डाइभर्सनमा समेत उक्त मेसिन प्रयोगमा ल्याउन लागिएको हो ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?