२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मल नपाएपछि प्रशासन घेराउ

हरिहरसिंह राठौर

धादिङ — वर्षेबाली लगाउने बेला भइसक्दा पनि युरिया मल नपाएको भन्दै धादिङका किसानहरूले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । रित्तो बोरासहित सदरमुकाम पुगेका उनीहरूले नाराबाजी गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन । 
दिनहुँजसो मलका लागि सदरमुकाम धाउँदासमेत नपाएपछि उनीहरू आक्रोशित बनेका छन् । 

मल नपाएपछि प्रशासन घेराउ

मल वितरण हुने सूचना पाएपछि आइतबार बिहानैदेखि ६ सयभन्दा बढी किसान सदरमुकामस्थित युरिया वितरण हुने सहकारीमा पुगेका थिए । उनीहरू घन्टौं लाइनमा बसेका थिए । तर, सहकारीले २ सय बोरा मात्रै आएकाले सबैलाई बाँड्न नसक्ने बताएपछि किसानहरू प्रदर्शन र विरोधमा उत्रेका थिए ।


‘मलका लागि धेरै दिन धायौं, आज आइतबार बाँड्ने भनेपछि आएका हौं तर रित्तो फर्कन बाध्य भएका छौं,’ स्थानीय कृषक सन्तोष पोखरेलले भने । खेतबारीमा लगाइएको मकै र धान गोड्नका लागि राम्रो मौसम भएकाले पनि युरिया मल खोज्दै नीलकण्ठ नगरपालिका आसपासका किसानहरू सदरमुकाम पुगेका थिए । नीकलण्ठ सहकारीका व्यवस्थापक हरि रिजालले भने, ‘२ सय बोरा मल मात्रै आएको छ । तर ६ सयभन्दा बढी कृषक लाइनमा बसेपछि वितरणमा समस्या भयो ।’


सहकारीले मल नबाँड्ने भनेपछि आक्रोशित बनेका कृषकहरू प्रदर्शनमा उत्रेका हुन् । प्रशासन घेराउका क्रममा किसानहरूले ‘रित्तो बोरा मलले भर’, ‘कृषिमन्त्री राजीनामा देऊ’, ‘कृषकको समस्या समाधान गर’ लगायतका नारासमेत लगाएका थिए ।


सहकारी संस्थाका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीबीच छलफलपछि प्रजिअ भागीरथ पाण्डेले साल्ट ट्रेडिङलाई थप मल उपलब्ध गराउन अनुरोध गरेका थिए । ‘लिखित अनुरोध गर्नुबाहेक हाम्रो हातमा केही छैन,’ उनले भने । आक्रोशित किसानहरूले सदरमुकामका मुख्य सडकसमेत अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?