चिसापानीगढीको संरक्षण

प्रताप विष्ट

हेटौडा — मकवानपुरको भीमफेदी गाउँपालिकाले ऐतिहासिक महत्त्व रहेको चिसापानीगढीको संरक्षण र पुनर्निर्माण गरिरहेको छ । भीमफेदी गाउँपालिका–६ चिसापानीमा रहेको गढीको संरक्षणमा तीनै तहका सरकारको योगदान रहेको छ ।

‘संरक्षण र पुनर्निर्माणको कार्य भने गाउँपालिकाले गरिरहेको छ,’ भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘ऐतिहासिक र सामारिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको उक्त गढी संरक्षण र पुनर्निर्माण अभावले जीर्ण बन्दै गएको थियो ।’


तीनै तहका सरकारले उक्त गढीको संरक्षण पुनर्निर्माण र पैदल मार्ग बनाउन लागि ४६ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले ३० लाख, संघीय सरकारले १० लाख र भीमफेदी गाउँपालिकाले ६ लाख रुपैयाँ गरी ४६ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।


अहिले गढी संरक्षण, पुनर्निर्माण, सरसफाइ गढी घुम्नका लागि पैदल मार्गलगायत कार्य भइरहेको छ । चिसाफानीको गढी जग्गा अतिक्रमण गरेर घरहरू बनाइएका छन् । ‘अतित्रमण गरेर बनाइएका संरचना तत्कालै हटाउन सम्बन्धित व्यक्तिलाई परिपत्र गरिसकेका छौं,’ गापा अध्यक्ष लामाले भने, ‘अतिक्रमण गरेर बनाइएका संरचना हटाइएन भने गापाले हटाउनेछ ।’ चिसापानीगढीको जग्गा अतिक्रमण गरेर तीन वटा घर र एउटा स्कुल भवन निर्माण गरिएको छ । गढी चार बिघा जमिनमा फैलिएको छ ।


विक्रम संवत् १८०१ मकवानपुरमा राज्य गरेर बसेका सेन राजाको पहलमा नजिकैको महत गाउँका बासिन्दाले गढीको निर्माण गरेको इतिहास रहेको छ । त्यसपश्चात विभिन्न समयमा भत्किएको गढी संरक्षण काम हुन सकेको थिएन । अहिले भने यसलाई तीनै तहको सरकारले संरक्षण गर्न लागिएको हो । चिसापानीगढीको मजबुतीका कारणले युद्ध गर्न आएका अंग्रेज फौजका कर्नेल निकोलको नेतृत्वको सैनिक टोली उक्त क्षेत्रमा आउन नसकेर सिम भन्ज्याङतर्फ मोडिन बाध्य भएको इतिहास रहेको छ ।


त्यतिबेला उक्त गढीको कमान्डर काजी चामु भण्डारी रहेका थिए । उक्त चिसापानीगढीभित्र वटुकभैरवको मन्दिर रहेको छ । वटुकभैरवको नाममा नेपाली सेनाको वटुक दल कम्पनी गठन गरेको थियो । उक्त दल चिसापानीगढीमा १८५२ देखि २०२६ साल साउन १ सम्म यहीं नै बसेको थियो ।


गढीभित्र रहेको वटुकभैरवका कारणले पोथी जातलाई अहिलेसम्म त्यस क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । नेपाल एकीकरणपश्चात चिसापानीगढी नाकालाई सैनिक, प्रशासनिक, व्यापारिक, परराष्ट्र र अध्यागमनका रूपमा प्रयोग गरिएको थियो । चिसापानीगढीमा अदालत, कारागार, चेकपोस्ट र बडाहाकिम बस्ने थलोको रूपमा रहेको थियो । त्रिभुवन राजपथको निर्माण र बडाहाकिमको अन्त्यसँगै चिसापानीगढी ओझेलमा परेको हो ।


अहिले हेटौंडा–भीमफेदी, कुलेखानी, फर्पिङ र दक्षिणकाली हुँदै राजधानी प्रवेश गर्ने मोटरबाटोसँगै गढी जोडिएको छ । गढीमा रहेको कालीतोप, वटुकभैरवलगायत ऐतिहासिक किल्लाको अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । गाउँपालिकाले आगामी आवमा भीमफेदीबाट चिसापानीगढीसम्म पैदल हिंड्नका लागि सिंढी बनाउने भएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?