नाका खुल्ने आसमा फर्कंदै

भूकम्प र भोटेकोसी बाढीले तहस नहस बनाएपछि भौंतारिँदै राजधानी, दसकिलोदेखि विभिन्न स्थानमा पुगेका सीमाबासी आफ्नै थलोमा फर्किसकेका छन्
अनिश तिवारी

तातोपानी, सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–२ चौकीडाँडाकी चेंगा शेर्पा नाका खुल्ने कुरा सुनेलगत्तै लिपिङ जोड्ने पुलछेउमा आएर बस्न थालेकी छिन् । चार महिना अघिदेखि मासिक २ हजार रुपैयाँ तिर्दै सानो होटेल सुरु गरेकी हुन् । 

नाका खुल्ने आसमा फर्कंदै

शेर्पा ५ वर्षपछि आएकी हुन् । ‘नाका खुलेपछि त यहाँ टेक्न पनि मुस्किल हुन्छ, त्यही भएर हतारिएर कोठा लिइराखेको नि,’ शेर्पाले भनिन् । लिपिङ बजारसम्म वरिपरि गरी पाँच परिवारले होटल आफूले जस्तै भाडामा लिएर चलाइरहेको उनले सुनाइन् । ‘राङबुसा, तातोपानी कोदारीका ५ परिवार यहाँका घर मर्मत गरेर बस्न थालेका छन्,’ उनले भनिन् ।


६ वर्षपछि बल्ल पसल व्यवसायमा फर्किएकी तातोपानीकी माया तामाङ नाका खुल्ने खबर पक्का मानेर खुब हौसिइन् । भूकम्प, भोटेकोसी बाढी अनि बर्खे पहिरोले भागभाग बनाएपछि राजधानी पसेकी उनी हालै मात्रै व्यवसायमा फर्किइन् । ‘सुक्खा बन्दरगाह, सडकलगायतका संरचना बन्न थालेपछि नाका खुल्छ भन्ने पक्का भो, त्यही भएर यहाँ पसल थापें,’ उनले भनिन् ।


चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने जीर्ण सडकको मर्मतसम्भार र सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुर्‍याइसकेको छ । तान सुन रोड एन्ड ब्रिज कम्पनीले पुलको ढलान कार्य सकाउनै लागिसकेको छ । ‘अब पहिलेजस्तै चहलपहल हुने आशाले सबै व्यवसायी फर्कन थालेका छन्, यहाँको क्षतिग्रस्त संरचना व्यवस्थित बनिसकेको छ,’ तातोपानी बजारका पुराना व्यवसायी माइला मगरले भने ।


नाका खुल्ने खबर पाएपछि राजधानीबाट केही व्यवसायी पुरानै थलो फर्कन थालेको उनको भनाइ छ । भूकम्प र भोटेकोसी बाढीले तहस नहस बनाएपछि भौंतारिँदै राजधानी, दस किलोदेखि विभिन्न स्थानमा पुगेका सीमाबासी आफ्नै थलोमा फर्किसकेका छन् ।


‘तातोपानी र कोदारी क्षेत्रको बजारमा स्थानीय र व्यवसायीको जमात बाक्लो बन्दै गएको छ,’ भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले भने । सडक बलियो रुपमा जोडिएपछि सीमावर्ती क्षेत्र तातोपानीमा आउनेको चहलपहल बढ्न थालेको उनले सुनाए ।


सीमा सिँगारिँदै

जेठ १७ मा नाका खुल्ने निश्चत ठानेर तातोपानी, लिपिङ क्षेत्रसम्म विभिन्न धार्मिक पूजा गर्दै स्थानीयले ध्वजाले बेहुलीझैं सिँगारेका छन् । सोही दिन मितेरी पुल र सुक्खा बन्दरगाहसहित अत्याधुनिक पुल र कोदारी राजमार्ग सरकारलाई हस्तान्तरण गर्ने तयारीका लागि योजना लिएर जनप्रतिनिधि जुटेका छन् ।


‘नाका खोल्ने दिन भएकाले कार्यक्रम तयार बनाइरहेका छौँ, सबैतिरबाट जनप्रतिनिधिले सांस्कृतिक झल्को लिएर भव्य स्वागत गर्नेछन्,’ भोटेकोसी गाउँपालिका ३ का अध्यक्ष कैलाश पौडेलले भने । नेपालतर्फ नयाँ भवन नबनेका कारणले अध्यागमन, भन्सार चेकपोस्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?