कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दासढुंगादेखि गोलाघाटसम्म एकीकृत विकास

रमेशकुमार पौडेल

चितवन — तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप त्रिशूली नदीमा खसेर ज्यान गुमाएको ठाउँ दासढुंगादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइने भएको छ । 

दासढुंगादेखि गोलाघाटसम्म एकीकृत विकास

मदन भण्डारी फाउन्डेसनको सक्रियतामा प्रदेश-३ को नीति तथा योजना आयोगले गुरुयोजना निर्माणको काम सुरु गरेको छ । २६ वर्षअघि जेठ ३ मा जिप खस्दा आश्रितको शव घटनास्थलमै भेटिएको थियो । भण्डारीको शव घटनास्थलदेखि लगभग २५ किमि पश्चिम नारायणी नदीको गाँजीपुरमा फेला परेको थियो । दासढुंगादेखि गोलाघाटको बीचमा गाँजीपुर पनि पर्दछ । दासढुंगा र गाँजीपुरमा दुई नेताको स्मृति जोडिएको स्मारक बनाउने काम आउँदो आर्थिक वर्षबाटै सुरु हुने मदन भण्डारी फाउन्डेसनका चितवन अध्यक्ष तिलचन्द्र भट्टराईले बताए ।


‘राजनेताहरूको स्मृतिमा स्मारकहरू बनाउने चलन विश्वभर नै छ । भण्डारी र आश्रित पनि नेपालका ठूला नेताहरू हुनुहुन्थ्यो,’ भट्टराईले भने, ‘उहाँहरूको स्मृतिलाई चिरस्थायी राख्न दासढुंगा र गाँजीपुरमा तत्कालै केही काम हुन्छ । यी दुई क्षेत्रसँग जोडिएका अन्य ठाउँको पनि विकास गर्ने योजना छ ।’ फाउन्डेसनले नदी किनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमहरू अगाडि सारेको छ ।


दासढुंगादेखि तल नदी किनारमा देवघाट, दियालोबंगला क्षेत्र, नारायणगढको नदी तट, नगरवन, ज्ञानेश्वर सामुदायिक वन क्षेत्र र गोलाघाट पर्छन् । गोलाघाट सूर्यास्तको दृश्य हेर्न पाइने ठाउँ हो । नवलपुर क्षेत्रमा पनि धार्मिक र पर्यटकीय क्षेत्र छन् । यी सबै क्षेत्रको विकासका लागि फाउन्डेसनले अगाडि सारेको अवधारणाअनुसार प्रदेश सरकारले विज्ञ टोलीलाई सम्मिलत गराएर गुरुयोजना बनाउन सुरु गरेको हो ।


दासढुंगा क्षेत्रमा मदन र आश्रितको अर्धकदको सालिक र जिप खसेको ठाउँमा रेलिङ राखिएको छ । त्यो क्षेत्र अलपत्रजस्तै रहेको भरतपुर महानगरपालिका-२९ का वडाध्यक्ष मनबहादुर मगरले बताए । दासढुंगा भरतपुर-२९ मा पर्छ ।


त्यसैगरी, भरतपुर-१७ मा पर्ने गाँजीपुरमा पनि सामान्य कामबाहेक ठोस केही हुन सकेको छैन । नारायणगढ-मुग्लिन सडकमै पर्ने भए पनि धेरैले दासढुंगा कहाँ छ भन्ने भेउ पाउँदैनन् । ‘दुर्घटनास्थलदेखि पारी देवघाटको पहाडी थुम्कोमा दुई नेताको मूर्ति राख्ने जुन सडकमा यात्रा गर्नेहरूले पनि देख्नेछन् । दासढुंगा क्षेत्रमा संग्रहालयदेखि नीतिका विषयमा अनुसन्धान र तालिम कार्यक्रमहरू सञ्चालन गर्ने ठाउँ बनाउने योजना छ,’ गुरुयोजना निर्माण समितिका रहेका सहरी योजनाकार, आर्किटेक्चर बाबुराम भट्टराईले भने । नदी र वन क्षेत्रका आडमा भएका कारण अनुसन्धान र तालिमका लागि उपयुक्त भएको उनले बताए ।


त्यस्तै, गाँजीपुरमा मदन भण्डारीको शव त्यो बेला जेजसरी देखिएको थियो, त्यही अवस्था झल्कने गरेर प्रतिमूर्ति राख्ने योजना बनाएको उनले जानकारी दिए । ‘शव नदी किनारदेखि केही पर भेटिएको रहेछ । त्यहाँ त्यो बेला जुन अवस्थामा शव देखिएको थियो, त्यसैको झल्को दिने गरेर संरचनाहरू बनाउन सकिन्छ,’ भट्टराईले भने । जलयात्रा र अन्य गतिविधि राखेर पर्यटन विकासमा पनि योगदान दिन सकिने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?