गैंडा मुद्दामा पनि कैद माफी

रमेशकुमार पौडेल

चितवन — जिल्ला कारागार चितवनले गैंडा मुद्दामा कैद सजाय पाएका ३६ जनालाई माफीका लागि सिफारिस गरेको छ । नयाँ मुलुकी संहितामा कैद मिनाहा लागु नहुने सूचीमा ‘गैंडा मुद्दा समावेश नभएको’ आधार देखाउँदै यस्तो सिफारिस भएको हो । 

सरकारले गणतन्त्र दिवस वा अन्य अवसरहरूमा कैद माफी मिनाहा दिने गर्छ । कारागार व्यवस्था विभागले आधा कैद सजाय पूरा गरेका, असल चालचलन भएका, भविष्यमा यस्तो अपराधमा नफकर्ने प्रतिबद्धहरूको नाम पठाउन भनेको थियो ।


‘हामीले नाम पठाइसकेका छौं,’ चितवन जिल्ला कारागारका सूचना अधिकारी रामबाबु श्रेष्ठले भने । सूचना अधिकारी श्रेष्ठका अनुसार, प्रमुख जिल्ला अधिकारीसमेतको सिफारिस भएका ५४ जना कैदीमध्ये ३६ जना गैंडासम्बन्धी मुद्दाका छन् । कारागार व्यवस्था विभागले नाम सिफारिस गर्नुको प्रयोजन भने खुलाएको छैन ।


विभिन्न १५ मुद्दाबाहेकका कैदीहरूको नाम पठाउन भनेको थियो । भरतपुर कारागार गैंडा मुद्दाका कैदीहरू अत्याधिक हुने कारागार हो । अहिले कारागारमा सवा सयको हाराहारीमा कैदी तथा थुनुवा छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार गैंडा मारेको र खाग बिक्री व्यवसायमा लागेको अपराधमा सजाय भोगेका कैदी मात्रै भरतपुर कारगारमा ९६ जना छन् ।


जसमध्ये एकजना महिला हुन् । कैद मिनाहा भएमा गैंडा मुद्दामा जेलमा रहेका कैदीहरूको संख्या घट्नेछ । ‘पहिला गैंडा मुद्दामा पनि कैद मिनाहा हुन्थ्यो । पछि नहुने व्यवस्था भएको हो । अहिले फेरि त्यो प्रावधान हटेको छ,’ कारागारका सूचना अधिकारी श्रेष्ठले भने । ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकले पनि सजाय छुट पाउने व्यवस्था छ । भरतपुर कारागारमा तीनजना जेष्ठ नागरिक कैदी छन् । उनीहरू तीनैजनाले पनि गैंडा मुद्दामा सजाय पाएको श्रेष्ठले जानकारी दिए । तीनै जनाको नाम पनि विभागमा गएको छ ।


कारागार विभागले वैशाख १५ गते भरतपुर कारगारमा पत्र पठाएको थियो । ‘थप अन्य मुद्दा भए नभएको यकिन गरेर, जरिवाना तिरे/नतिरेको विषयमा प्रस्ट भएर र अरू सबै प्रक्रियाहरू पूरा गरेर हामीले वैशाख ३० नाम विभागमा पठाएका छौं,’ कारागारमा सूचना अधिकारी श्रेष्ठले भने ।


गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि चोरी सिकारीले गैंडा मार्दछन् । खागलाई तस्करहरूले अन्तर्राष्ट्रिय बजारमा बेच्छन् । गैंडा मारेमा र यसको अंगको कारोबारमा संलग्न भएमा पाँचदेखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । गैंडा मुद्दामा खाग कारोबारमा संलग्न ठूला तस्करहरूभन्दा गैंडा मार्ने सिकारी र स्थानीय कारोबारीहरू मात्रै बढी पक्राउ पर्ने गरेको गुनासो आउने गरेको छ ।


गैंडा विश्वमा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । ‘६५ सालपछि गैंडाको चोरी सिकार अत्याधिक मौलाएपछि सरकारले यसलाई जघन्य अपराध मानेर कैद माफी मिनाहा नहुने व्यवस्था गरेको थियो ।


कैद मिनाहा पाएर छुटेका चोरी सिकारी पनि त्यस्तो काममा फर्केको देखेपछि माफी नहुने व्यवस्था आएको थियो,’ हाल राष्ट्रिय निकुञ्ज विभागमा कार्यरत चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने ।


गैंडा संरक्षण र चोरी सिकारीको विषयमा लेखिएको चर्चिच पुस्तक ‘गैंडालाई चार वर्ष’ का लेखक पनि रहेका कुँवरका अनुसार माफी पाएर छुटेपछि बुद्धि प्रजाले १३ र रामशरण विकले एउटा गैंडा मारेका थिए । केही वर्षयता गैंडाको चोरी सिकार नियन्त्रणमा आएको छ । कुनै बेला वर्षमा ३८ वटासम्म गैंडा पर्ने चितवन राष्ट्रिय निकुञ्जमा अहिले चोरी सिकार ठप्पजस्तै छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?