२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रदेश सरकारले विभूषण बाँड्ने

मकवानपुर — प्रदेश ३ सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई विभूषित गर्ने भएको छ । सरकारले प्रदेशसभामा दर्ता गराएको 'विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' अनुसार विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २२ जनालाई हरेक वर्ष विभूषित गरिने भएको हो । प्रदेशस्तरमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गरिने विधेयकमा उल्लेख छ ।

आन्तिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको विधेयकमा प्रदेश शान्ति तथा सुरक्षाअन्तर्गत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुदअन्तर्गत शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मृत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, प्रदेश कृषि तथा सहकारीअन्तर्गत कृषितर्फ कृषिकिरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, प्रदेश उद्योग, पर्यटन विकास तथा वातावरण संरक्षणअन्तर्गत उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेश स्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गरिनेछन् ।


प्रदेश पूर्वाधार विकासअन्तर्गत विकाससेवी, प्रदेश सूचना तथा सञ्चारअन्तर्गत प्रदेशदूत, प्रदेश विज्ञान तथा प्रविधिअन्तर्गत विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नवप्रवर्तन, प्रदेश भाषा, कला तथा संस्कृति र साहित्यअन्तर्गत भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतदीप र साहित्यतर्फ प्रदेश स्रष्टा पदक दिइने विधेयकमा उल्लेख छ ।


विधेयकमा प्रदेश सार्वजनिक प्रशासन तथा सुशासनअन्तर्गत जनसेवा, विपद् व्यवस्थापनअन्तर्गत विपद्सेवी र समाजसेवा लोककल्याणअन्तर्गत प्रदेश परोपकार पदक दिइने उल्लेख छ । सिफारिस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री अध्यक्ष, प्रदेश सरकारका प्रमुख सचिव सदस्य, प्रदेशमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद्ले तोकेको एक महिलासहित तीन जना सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्यसचिव रहेको ६ सदस्यीय समिति रहने व्यवस्था गरिएको छ ।


समितिले सिफारिस गरेको व्यक्तिलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते पदकसहित सम्मानपत्र प्रदान गरिने विधेयकमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?