१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अन्तिम चरणमा साँधीखोल्सा बेलिब्रिज

आउँदो बर्खाको अवस्थालाई हेरेर क्षति रोक्न पुल जडान धमाधम
अनिश तिवारी

सिन्धुपाल्चोक — अघिल्लो बर्खामा बाढीले बगाएको बाह्रबिसेबाट तातोपानी जोड्ने साँधीखोल्सामा निर्माणाधीन बेलिबि्रज अन्तिम चरणमा पुगेको छ ।

अन्तिम चरणमा साँधीखोल्सा बेलिब्रिज

बाह्रबिसे नगरपालिका र सडक डिभिजनको समन्वयमा थालिएको बेलिबि्रज राख्ने काम सकिनै लागेको हो । सडक डिभिजन चरिकोटका प्रमुख धर्मेन्द्र झाका अनुसार केही सामग्रीबाहेक अन्य जडान भइसकेकाले आउँदो सातामै पुल तयार हुँदै छ । 'अब थोरै काम मात्रै बाँकी छन्,' उनले भने, 'प्रायः संरचना पूर्ण रूपमा ठडिसकेको छ ।' आउँदो बर्खाको अवस्थालाई हेरेर क्षति रोक्न बेलिबि्रज जडानलाई धमाधम बनाएको उनले बताए ।


'नगरपालिकाले पनि बेलिबि्रज जडानको कार्यमा जोडतोडसँग सघाइरहेको छ,' उनले भने । उनका अनुसार हालैलाई बेलिबि्रज बन्ने भए पनि सिन्धुपाल्चोकबाट सीमावर्ती क्षेत्र तातोपानी जोड्ने अवरोध साँधीखोल्सालाई नियन्त्रण गर्दै ४ करोड बराबरको मोटरबेल पुल बनाइनेछ ।


बाह्रबिसे नगरले निर्माण कार्यमा हुने सबै खर्च व्यहोरिरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए । 'तत्कालै बेलिबि्रज तयार भइसकेको छ, वर्षात् अघि यहाँको बजार जोगाउने अन्य सुरक्षित वातावरण मिलाइसक्नेछु,' उनले भने । भोटेकोसीमा पुल बगेलगत्तै पर्यटन वन तथा उद्योगमन्त्री अरुण नेपाल, प्रतिनिधिसभा सांसद अग्नि सापकोटासहितको टोलीले निरीक्षण गर्‍यो ।


साँधीखोल्सा पुलसँगै सडक डिभिजन इन्जिनियर प्रदीप निरौलाका अनुसार अरनिको राजमार्गको बाह्रबिसे खण्डदेखि महभीर, जुरे, कोठेमा क्षतिग्रस्त सडकलाई मर्मत सम्भार भइरहेको छ । 'जाली, टेवा पर्खालदेखि प्लम क्रंकिटलगायतको झन्डै १७ करोड बराबरको काम भइरहेको छ,' उनले भने ।


साँधीखोल्सामा बेलिब्रिजसँगै भीरकुना र कोसिनडाँडाको पहिरो रोकथाम गर्न पहल नगरिँदा त्रास कायम रहेको स्थानीयको गुनासो छ । 'भीरकुनाको पहिरो रोकथाम नगरीकन साँधीखोल्सा नियन्त्रण कसरी हुन्छ ?' बाह्रबिसे नगरपालिका ओखरेनीका हीरा खडकाले प्रश्न गरे । साँधीखोल्सा दिनहुँ बढदै गइरहेकाले अस्थायी कच्ची सडकको भर नभएको उनको कथन छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?