कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सामुदायिक विद्यालयमा चाप

वडा कार्यालयले निःशुल्क ड्रेस तथा बालविकासका लागि खेलौना सहयोग, विद्यालय छात्रामैत्री

सिन्धुली — निजी विद्यालयको जस्तै ड्रेसमा सजिएर बालबालिकाहरू विद्यालय आउँछन्  । विद्यालय हाताभित्रै रहेको सालको रूखमा झुन्ड्याएर राखिएको खानेपानीको धारामा बोतलबाट पानी भर्छन्  ।

सामुदायिक विद्यालयमा चाप

कक्षाकोठामा ब्याग राखेपछि उनीहरूको दैनिक फोहोर देखे टिपेर डस्टबिनमा हाल्ने हुन्छ । यो काम ९ र १० का विद्यार्थीहरूले गर्छन् । पछिल्लो पुस्ताले पनि उनीहरूले गरेको कामलाई नियालिरहेका हुन्छन् ।


कमलामाई नगरपालिका १३ माथिल्लो रानीवासमा रहेको प्रभात मावि जिल्लाकै नमुना सामुदायिक विद्यालय बन्दै गएको छ । प्राथमिक तहमा सामुदायिक विद्यालयहरूमा दिनानुदिन विद्यार्थीको संख्या घट्दै गइरहेको भए पनि प्रभात माविमा भने चाप छ । विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर एक कक्षादेखि ५ कक्षासम्म ९ वटा विषयमा अध्यापन गराउँछ । दुई वर्षअघि नजिकै खुलेको निजी विद्यालयले ८ वटा विषयमा पढाइ सुरु गरेको थियो । प्रभात माविले ९ वटा विषयको पढाइ सुरु गरेपछि यतिखेर निजी विद्यायल बन्द भएको छ । अभिभावकहरूले निजी विद्यालयको भन्दा गुणस्तरीय शिक्षा निःशुल्क पाएपछि आफ्ना बालबालिकाहरूलाई सामुदायिकमा ल्याएको विद्यालयले जनाएको छ ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन वडा कार्यालयले निःशुल्क ड्रेस तथा बालविकासका लागि खेलौना सहयोग गरेको छ । निजी विद्यालयलाई विस्तापित गरी सबै बालबालिकाहरूलाई सामुदायिकमा अध्यापन गराउने लक्ष्य रहेको वडाध्यक्ष किरण माझीले बताए । ‘स्थानीय तहबाट शिक्षकको समेत व्यवस्था गरेका छौं,’ उनले भने, ‘शिक्षामा सबैको पहुँच र समानताका लागि लागिपरेका छौं ।’


चारैतिर रुखहरूले विद्यालयलाई घेरेकाले समेत शान्त वातावरणमा अध्यापन हुने गरेको छ । त्यसका अलावा सोही विद्यालयमा अध्यापन हुने विद्यालय तहकै बाली विज्ञान समूहका विद्यार्थी र शिक्षक, शिक्षिका मिलेर व्यवस्थित बगैंचासमेत बनाएको छ । विद्यालयमा सबैभन्दा रोचक पक्ष भनेको छात्रामैत्री हुनु हो । विद्यालयमै सेनेटरी प्याड बनाएर छात्राहरूलाई निःशुल्क वितरण गरिन्छ । १० कक्षामा अध्ययनरत छात्राले ९ कक्षाकालाई प्याड बनाउन सिकाउने गरेका छन् । त्यो क्रम प्रत्येक वर्ष चलिरहन्छ । प्याड बनाउन चाहिने सामग्री भने विद्यालयले जुटाइदिने गरेको छ । सस्तो पनि पर्ने र आफैंले बनाउँदा छात्राहरूमा आत्मवल बढ्ने विश्वास विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले बताए । ‘ प्याड नभएर कुनै पनि छात्राले विद्यालयबाहिर बस्न नपरोस् भनेर उनीहरूलाई नै तालिम दिएर बनाउन लगाइएको हो,’ उनले भने, ‘विद्यालयले चाहिने सामग्री गज, कटन, कैंची लगायत सामानको व्यवस्था गरेका छौं ।’ न्यूनतम सिकाइ उपलब्धि भएका विद्यार्थीहरूलाई छुट्टै कोचिङ कक्षाको व्यवस्था गरिएको छ । प्रभात माविमा शिक्षकहरू खेर जाने बिदामा पनि विद्यालय छाड्दैनन् ।


बिदा नलिएर पढाएबापत केही प्रोत्साहन भत्ता भने उनीहरूलाई दिने गरिएको छ । निजीको जस्तै साना बालबालिकाहरूलाई अभिभावकले नै विद्यालयसम्म ल्याउने–लाने गर्नाले पनि शिक्षकहरूमा उत्साह थपिएको सहायक प्रधानाध्यापक मीनप्रसाद बरालले बताए । विद्यालयमा शिक्षकहरूलाई कोड भाषाबाट बोलाइने गरेको छ । २०१८ सालमा स्थापना भएको विद्यालयमा बालविकासमा २२ जना, कक्षा एकदेखि ५ सम्म १००, कक्षा ६ देखि ८ सम्म एक सय ५४ र ९ र १० मा एक सय ४० विद्यार्थी छन् । त्यसका अलावा बाली विज्ञानतर्फ ९१ जना विद्यार्थी रहेका छन् । विद्यालयमा भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सके सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने प्रधानाध्यापक थिङको धारणा छ । ‘निजी विद्यालयमा चर्को शुल्क हुनाले सामुदायिक गुणस्तरीय शिक्षा निःशुल्क हुँदा कुनचाहिँ मूर्ख हुन्छ र पैसा धेर भएको ?’ उनले प्रश्न गरे ।

राजकुमार कार्की रानीवास

प्रकाशित : जेष्ठ २, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?