१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेशसभा अवरुद्ध

राजधानी र नामकरणको विषयले औपचारिक रुपमा प्रवेश नपाएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेको हो

मकवानपुर — प्रदेश ३ को प्रदेशसभा बैठकमा स्थायी राजधानी र नामकरणको विषयले औपचारिक रूपमा प्रवेश नपाएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेको छ ।

प्रदेशसभा अवरुद्ध

सोमबार सुरु प्रदेशसभाको बजेट अधिवेशनमा राजधानीको विषयलाई लिएर कांग्रेसले अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले मंगलबार अपराहृन ४ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । प्रदेशसभा बैठक पहिलो पटक विपक्षीको अवरोधका कारण स्थगित भएको हो ।


‘मुख्यमन्त्रीले हिउँदे अधिवेशनको सुरुवातमा सदनमा बोलेको विषय र सभामुखले गरेको प्रतिबद्धता पूरा नभएपछि हामीले बाध्य भएर सदन अबरुद्ध गरेका हौं,’ कांग्रेस संसद्यी दलका नेता इन्द्रबहादुर बानियाँले भने, ‘हिउँदे अधिवेशनमा सभामुखले स्थायी राजधानीको विषयलाई कार्यविधि बनाएर टुंग्याउने प्रतिबद्धता सदनमा जाहेर गरेको र उक्त विषय रेकर्डमा रहेकाले कार्यान्वयन गराउन सदन अवरुद्ध गरेको बताए ।


‘सरकार पक्षबाट प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउने काम भयो । आगामी बजेटमा प्रदेशको राजधानीमा आवश्यक भौतिक पूर्वाधार बनाउन बजेट छुट्याउनुपर्ने हुन्छ । सधैं एउटै विषयमा अल्झिएर बस्नुहुँदैन भनेर संसद्को गरिमालाई कायम राख्न हामीले यस्तो कदम चालेका हौं ।’ नेता बानियाँले सरकार कसरी प्रस्तुत हुन्छ हेरेर अगाडि बढ्ने बताए । ‘राजधानीको विषयले सदनमा प्रवेश पाएसँगै सदन चल्छ अन्यथा हामी अवरोध जारी राख्नेछौं,’ उनले भने ।


प्रदेशसभाको बैठक कार्यसूचीअनुसार प्रत्येक दलका प्रमुखले वर्षे अधिवेशनका विषयमा बोलेर सकिनेबित्तिकै कांग्रेसले उठेर सभामुखलाई प्रदेशसभा अगाडि नबढाउने आग्रह गरेका थिए । यसअघि सभामुख श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आहृवान, विधेयक प्रमाणीकरण र कार्यवाहक मुख्यमन्त्री जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाएका थिए ।


प्रत्येक दलका प्रमुखहरूको मन्तव्यपश्चात प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्ने, प्रदेश बीउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले बनाएको प्रतिवेदन पेस गर्ने र प्रादेशिक कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले बनाएको प्रतिवेदनको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो ।


प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेको २० दिनपछि प्रदेशसभाको बैठक बसेको थियो । वैशाख ५ गतेदेखि स्थगित रहेको प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १० गते प्रदेश सरकारले अन्त्य भएको घोषणा गरेको थियो । सरकारले अधिवेशन अन्त्य गरेको विषयको समेत आलोचना भएको थियो ।


'प्रतिपक्षले द्वन्द्व बढाउन खोज्यो’

सत्तापक्ष दल नेकपाका संसद्यी दलका उपनेता शालिकराम जमरकट्टेलले प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गरेर द्वन्द्व बढाउन खोजेको आरोप लगाएका छन् ।


प्रदेशको स्थायी राजधानी र नामकरणको विषय कांग्रेसको मात्र नभएर सम्पूर्ण प्रदेशसभा सदस्यहरूको भएका कारण प्रतिपक्ष दलले सदनमा अवरोध सिर्जना गरेर द्वन्द्व बढाउन खोजेको आरोप लगाए । उनले भने, ‘प्रतिपक्षीले गरेको अवरोधबाट स्थायी राजधानी र नामकरण कायम भइहाल्दैन । सदनमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व मात्र बढ्छ ।’


आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका जमरकट्टेलले प्रदेशसभा राजनीतिक मुद्दा समेत भएको कारण यस विषयलाई गम्भीरतापूर्वक लिन प्रतिपक्षी दललाई आग्रह गरे । ‘सरकार र सभामुखले केही कार्यविधि बनाएका छौं । हामी छलफलबाट यस प्रस्तावलाई अगाडि लैजाने तयारीमा छौं,’ उनले थपे ।


'बजेट कार्यान्वयनमा सरकार असफल’

बजेट अधिवेशनको सुरुवातमा बोल्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरूले बजेट कार्यान्वयनमा प्रदेश सरकार असफल भएको आरोप लगाए । आगाामी आर्थिक वर्षको बजेट निर्माण प्रदेश सरकार जुटिसक्दासमेत चालु आर्थिक वर्षको बजेट कार्यान्वयन कमजोर रहेको भन्दै बजेट कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका थिए ।


कांग्रेसका संसद्यी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गफ धेरै काम कम गरेको आरोप लगाए । ‘प्रदेश सरकारले नीति सुन्दर ल्यायो तर, कार्यान्वयन गर्न सकेन । उद्योग वर्षमा कति उद्योग थपिए थाहा छैन ।


नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईंले प्रदेश सरकार बजेट कार्यान्वयनमा पछाडि परेको र गतिहीन हुँदै अगाडि बढेको आरोप लगाए । ‘प्रदेश सरकार गतिहीन हुँदा संघीयतामाथि नै प्रश्नचिहृन खडा हुने समय आएको छ,’ उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रिता माझीले प्रदेशभर भ्रष्टाचार मौलाएको आरोप लगाउँदै तत्काल न्यूनीकरणको दिशामा अगाडि बढ्न सुझाइन् । राप्रपा संयुक्तकी रिना गुरुङले दुईतिहाइ बहुमत रहेको सरकारलाई संवैधानिक अधिकार प्रयोग गर्न र समृद्धि ल्याउन कसले रोक्यो भन्दै प्रश्न गरिन् ।


नेकपा संसदीय दलको बैठक बस्दै

स्थायी राजधानी र नामकरणको विषयलाई लिएर कांग्रेसले सदन अवरुद्ध गरेसँगै सत्तारूढ दल नेकपाको संसद्यी दलको बैठक मंगलबार बिहान बस्दै छ ।


आइतबारका लागि तोकिएको नेकपा संसदीय दलको बैठक मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेल संघीय राजधानीमा रहेका कारण स्थगित गरिएको थियो । नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालका अनुसार मंगलबार बिहान ८ बजेका लागि बैठक राखिएको छ । नेकपाभित्र प्रदेशको स्थायी राजधानीलाई लिएर विवाद रहेको छ । सहमतिका आधारमा वा मतदानबाट स्थायी राजधानी तोक्ने भन्ने विषयलाई लिएर नेकपाभित्र विवाद रहेको छ ।


–सुवास विडारी

प्रकाशित : वैशाख ३१, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?