प्रदेश बजेट अधिवेशन : राजधानी मुख्य एजेन्डा

मकवानपुर — प्रदेश ३ को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेको २० दिनपछि प्रदेशसभाको बैठक बस्न लागेको हो । वैशाख ५ गतेदेखि स्थगित रहेको प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १० गते प्रदेश सरकारले अन्त्य भएको घोषणा गरेको थियो ।

प्रदेश बजेट अधिवेशन : राजधानी मुख्य एजेन्डा

प्रदेश सरकारको चौथो अधिवेशन बजेट अधिवेशन भए पनि मुख्य एजेन्डाको रूपमा प्रदेशको स्थायी राजधानी र नामकरण विषय रहेको छ । हिउँदे अधिवेशनमा सभामुख सानुकुमार श्रेष्ठले कार्यविधि तयार गरी राजधानी टुंगो लगाउने विषयलाई औपचारिक रूपमा सदनमा प्रवेश गराएका हुन् ।


प्रदेशसभाअन्तर्गतको आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले प्रदेश स्थायी राजधानी र नामकरणको विषयलाई जेठको दोस्रो साता मात्र औपचारिक रूपमा सदनमा प्रवेश गराउने प्रस्ताव पेस गरेका थिए । त्यसलाई प्रतिपक्षी दलका नेताहरूले विरोध गरेका थिए । सत्तापक्ष दलका सांसदहरूले समेत प्रदेशसभामा रकेर्डका रूपमा रहेको यस विषयलाई सहमतिपूर्वक टुंग्याउन सकारात्मक भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरेका थिए ।


'सभामुखको प्रस्तावअनुसार प्रदेश राजधानीको विषय जेठको १० गते मात्र सदनमा प्रवेश हुनेछ तर हामीले कुनै पनि हालतमा वैशाख महिनाभित्रै ल्याउनुपर्छ भनेका छौं,' कार्यव्यवस्था परामर्श समितिका सदस्य तथा सचेतक छिरिङ दोर्जे लामाले संवैधानिक व्यवस्थाअनुसार जेठ १ गते प्रदेश सरकारको वाषिर्क विनियोजनको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सभामा पेस गर्नुपर्ने बाहना देखाएर राजधानीको विषयलाई मोड्न खोजेको आरोप लगाए । 'हिउँदे अधिवेशन जहाँबाट अन्त्य भएको छ, त्यहींबाट यो बैठक सुरु हुनुपर्छ,' उनले भने ।


सत्तापक्षका मुख्य सचेतक रामेश्वर फुयाँलले स्थायी राजधानीका विषयमा मुख्यमन्त्री डोरमणि पौडेल र सभामुखले सदनमा बोलेको विषय रेकर्डमा रहेको र त्यस विषयलाई टुंग्याउन पहल गर्नुपर्ने बताएका थिए । 'सरकारले बाध्यताका कारण प्रदेशसभाको बैठक स्थगित गरेको होला । यस विषयलाई सभामुखले नै टुंग्याउनुहुनेछ,' फुयाँलले सरकारको बचावट गर्दै भने ।


जवाफमा सभामुख श्रेष्ठले मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँसँग छलफल गरेर यस विषयलाई टुंग्याउने प्रतिबद्धता जनाए । सभामुख श्रेष्ठले मंगलबारदेखि जेठ २ गते बिहीबारसम्म सदन सञ्चालन गर्ने र तीन दिन स्थगित गरी पुनः जेठ ६ सोमबारदेखि १० गते शुक्रबारसम्म सदन सञ्चालन गर्ने प्रस्ताव बैठकमा पेस गरेका थिए । प्रस्तावअनुसार स्थायी राजधानीको विषयले जेठ १० गते मात्र विधिवत रूपमा सदनमा प्रवेश पाउनेछ ।


सभामुखको भूमिकाप्रति रुष्ट

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रदेशसभा सदस्यहरूले सदन अवरुद्ध भएको विषयसमेत आफूहरूले मिडियामार्फत थाहा पाउनुपरेको भन्दै सभामुख श्रेष्ठको भूमिकाप्रति रुष्ट भएका थिए ।


बैठकमा राप्रपा प्रजातान्त्रिककी सांसद रीना गुरुङले सभामुखको भूमिका कमजोर हुँदा प्रदेशसभा र सांसद कमजोर भएको आरोप लगाइन् । 'प्रदेशसभाको बैठक स्थगित, स्थायी राजधानी तथा नामकरण सबै विषय मिडियाबाट थाहा पाउनुपरेको छ । हाम्रो भूमिकालाई कमजोर बनाइयो । नागरिकले सोधेको प्रश्नको समेत जवाफ दिन गाह्रो भइसक्यो,' उनले भनिन् ।


राप्रपाकी सांसद रीता माझीले प्रदेशको स्थायी राजधानीको विषय प्रदेश सरकारको नभएर प्रदेशसभाको भएको बताइन् । 'सरकारले आफ्नो अधिकार प्रयोग गरेर पटक पटक राजनीतिक बेइमानी गरिसकेको छ । अब स्थायी राजधानी कहिले टुंग्याउने हो, समय नै तोकेर त्यस विषयको प्रदेशसभा सदस्यहरूलाई जानकारी दिनुपर्‍यो,' उनले माग गरिन् ।


'कांग्रेस अवरोध गर्ने तयारीमा’

प्रदेश ३ को वर्षे अधिवेशनको पहिलो दिनमै प्रदेशको स्थायी राजधानीले प्रवेश नपाएको खण्डमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ ।


'प्रदेशसभाको बैठक जहाँबाट स्थगित भएको हो, त्यहींबाट सुरु हुनुपर्छ भनेर हामीले सभामुखलाई भनेका छौं,' कांग्रेसका संसाद छिरिङ दोर्जेले यस विषयमा मंगलबार बिहान कांग्रेस संसदीय दलको बैठक बसेर टुंग्याउने बताए । स्रोतका अनुसार यसअघि कांग्रेस संसदीय दलको बैठक दुई पटक संघीय राजधानी काठमाडौंमा बसिसकेको छ । उक्त बैठकले सदनमा अवरोध सिर्जना गर्ने सहमति गरे पनि औपचारिक रूपमा भने बाहिर ल्याइएको छैन । 'कांग्रेसभित्र नै एकमत नभएका कारण सहमित बाहिर नल्याएको हो,' स्रोतले भन्यो ।


नेकपाको संसदीय दलको बैठक स्थगित

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाको सोमबारका लागि बोलाएको संसदीय दलको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।


संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानी काठमाडौंमा रहेका कारण बैठक स्थगित भएको बताएको छ । स्थायी राजधानीका विषयमा नेकपाभित्र एकमत नरहेका कारण बैठकबाट स्थायी राजधानीका विषयमा निर्णय नहुने देखिएपछि बैठक स्थगित गरिएको बुझिएको छ ।


प्रदेश सरकारमा नेकपाको मात्र सुविधाजनक दुई तिहाइ बहुमत छ । स्रोतका अनुसार मुख्यमन्त्री पौडेल स्थायी राजधानीको विषयलाई सहमतिमा टुंग्याउनका लागि नेकपाभित्र लबिङमा छन् । 'बैठकमा आउनका लागि केही प्रदेशसभा सदस्यले समस्या देखाएपछि बैठक स्थगित गरिएको हो तर बैठक वैशाख ३१ गते मंगलबार बिहानका लागि बोलाइएको छ,' फुयाँलले जानकारी दिए ।

२६ वटा विधेयक प्रमाणीकरण

प्रदेश ३ मा हालसम्म २६ वटा विधेयक प्रमाणीकरण भइसकेको छ । प्रदेशप्रमुख अनुराधा कोइरालाले हिउँदे अधिवेशनमा प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेसँगै २६ वटा विधेयक प्रमाणीकरण भएका हुन् ।


प्रदेशप्रमुख कोइरालाले हिउँदे अधिवेशनबाट पारित भएको प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७५ तथा प्रदेशसभाको सार्वजनिक लिखत प्रमाणीकरण गर्न बनेको विधेयक २०७५ को प्रमाणीकरण गरेसँगै २६ वटा विधेयक प्रमाणीकरण भएको हो ।


–सुवास विडारी

प्रकाशित : वैशाख ३०, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?