कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उमेर २६, कक्षा ४

राजेन्द्र मानन्धर

दोलखा — रमेश कुसुलेको उमेर २६ वर्ष भयो । यस वर्षको भर्ना अभियानले उनलाई स्कुल पढ्ने इच्छा जगायो । प्रयास गर्दै जाँदा उनले कक्षा ४ मा भर्ना पाए । कालिञ्चोक माध्यमिक विद्यालय कक्षा ४ का यी युवा आफूभन्दा आधा नै कम उमेरका बालबालिकाहरूका सहपाठी हुन् ।

उमेर २६, कक्षा ४

साना उमेर समूहसँग बसेर पढ्न उनलाई अप्ठेरो देखिँदैन । हाजिरी प्रमाणले देखाउँछ, उनी प्रत्येक दिन स्कुल उपस्थित हुन्छन् ।

विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेका अनुसार जेहेनदार र अनुशासित देखिएपछि रमेशलाई कक्षाको अगुवा बनाइएको छ । पढाइमा रुचि राख्ने उनी दैनिक आउँछन् र ध्यानपूर्वक कक्षामा सक्रिय सहभागी हुन्छन् । कक्षा नेतृत्वको जिम्मेवारी पाएपछि सहपाठीलाई अनुशासित हुन भन्छन् । कहिलेकाहीं डन्डा पनि चलाउनुपर्ने उनले बताए ।


२०५० साल चैत १६ का दिन जन्मिएका उनी पाँच वर्षको हुँदा पहिलोपटक स्कुल भर्ना भए । १ देखि ४ कक्षासम्म राम्रैसँग स्कुल अध्ययन गरे । अचानक किडनीमा समस्या देखिएपछि उनले स्कुल छाडे । यही वैशाख महिनादेखि स्कुल आउन थालेका उनी भन्छन्, 'पढ्ने इच्छा थियो, पूरा भयो ।' झन्डै २० वर्षपछि फेरि ४ कक्षामा प्रवेश पाएका उनले अघिल्लो वर्ष पनि स्कुल भर्ना हुने कोसिस गरे । विद्यालयहरूले भर्ना लिन मानेनन् । अघिल्लो वर्ष भर्ना नलिएको कालिञ्चोक माविले यस वर्ष भर्ना लियो । प्रधानअध्यापक न्यौपानेका अनुसार पाँच कक्षामा भर्ना लिन दक्ष देखिएपछि अवसर दिइएको हो ।


उनलाई कक्षामा सहपाठी हल्ला गरेको मन पर्दैन । शिक्षक कक्षाबाट निस्कनेबित्तिकै सहपाठी बाहिर गएको पनि मन पर्दैन । उनी विद्यालयले तोकेको समय कक्षाभित्रै हुन्छन् । 'साथीहरूलाई नकराउन र बाहिर जान भन्छु, मान्दै मान्दैनन्,' उनले भने, 'त्यसैले अलिअलि लाठी चलाउनुपर्छ ।' उनका सहपाठी १३ वर्षका कविराज भुजेल भन्छन्, 'सर नहुँदा उहाँले अनुशासन सिकाउनुहुन्छ ।'


कक्षामा अरू विद्यार्थी १३ वर्षभन्दा कम उमेका छन् । एसईईसम्म अध्ययन गर्न जस्तोसुकै दुःख आइपरे पनि बेहोर्ने उनी बताउँछन् । उनले सानो उमेरमा अंग्रेजी माध्यमबाट अध्ययन गरेकाले अंग्रेजी सजिलो लाग्छ । गणित र विज्ञान ठिकै लाग्छ । नेपाली गाह्रो पर्ने उनले बताए । सधैं स्कुल आउने र पढाइलाई निरन्तर गर्ने उनको इच्छालाई अम्रेला संस्थाले मासिक २५ सय सहयोग गर्छ । त्यसबाट उपचारमा पनि सहयोग पुग्ने उनले बताए ।

प्रकाशित : वैशाख ३०, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?