अटो चलाउँदै पूर्वलडाकु

देश र जनताका लागि ज्यान अर्पेर गरेका संघर्ष र त्याग केही नेताको उद्देश्य प्राप्तिका लागि प्रयोग भएकोमा गुनासो 
प्रमिता ढकाल

भरतपुर — चितवनको कालिका नगरपालिकाका पीताम्बर पौडेल तीनपांग्रे अटो चालक हुन् । उनी दैनिक कालिका नगरपालिकाबाट भरतपुर अटो लिएर आउँछन् । दिनभरि यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँछन् । साँझ घर फर्किन्छन् । दैनिक आम्दानीले उनको घर खर्च चल्छ ।

चितवनको भरतपुरमा अटो रिक्सा चलाउँदै पीताम्बर पौडेल । तस्बिर : प्रतिमा/कान्तिपुर

छोरालाई स्नातक र छोरीलाई १२ कक्षा पढाउने खर्च पनि उनले जोहो गर्छन् । पौडेलले अटो चलाउन सुरु गर्दा भरतपुर महानगरका सबै ठाउँमा अटो चलाउन खुला थियो । कतै कुनै रोकतोक थिएन । सुरुसुरुमा उनले दैनिक ४ हजारसम्म आम्दानी गरेका थिए ।

अहिले भरतपुर महानगरले राजमार्गमा तीनपांग्रे सवारीसाधन निषेध गरेको छ । पौडेलले अटो चलाउन सुरु गरेको केही महिनामै महानगरले गरेको निर्णयले उनको आम्दानीमा धक्का पुग्यो । भित्री सडकमा मात्र तीनपांग्रे चल्न पाउने भएपछि आम्दानी आधाभन्दा बढी घटेको छ । दैनिक १५ सयसम्म मात्र उनको आम्दानी हुन थालेको छ ।

२ लाख ६० हजार ऋण लिएर अटो खरिद गरेका पौडेललाई बैंकको किस्ता तिर्न र परिवार चलाउन धौधौ छ । भरतपुर महानगरले राजमार्गमा तीनपांग्रे निषेध गरेका बेला पौडेलले तीनपांग्रे संघर्ष समितिको नेतृत्व गरेका थिए । उनले आफूजस्त्ाा सयौं तीनपांग्रे चालकलाई जम्मा गरेर महानगरको निर्णयविरुद्ध संघर्ष गर्न सडकमा उतारे ।

तर राजमार्गमा तीनपांग्रे निषेध गरे मात्र महानगर कुरुप बन्नबाट जोगिने र दुर्घटना कम हुने भन्दै मेयरले गरेको निर्णयलाई विभिन्न मजदुर संगठनले सहमति जनाएपछि उनले नेतृत्व गरेका मजदुर चालकहरू आआफ्नो संगठनको निर्णयअनुसार भित्री सडकमा मात्र सवारी चलाउन तयार भए । पौडेलले पनि साथीहरूसँगै संघर्ष त्यागे ।

४४ वर्षका पौडेलले आफ्नो जीवनको २१ वर्ष माओवादी केन्द्रका लागि काम गरेका थिए । माओवादी लडाकु उनको परिचय थियो । एरिया इन्चार्ज हुँदै ताम्सालिङ राज्य कमिटी सदस्यसम्मका विभिन्न भूमिकामा रहेर माओवादी केन्द्रको उद्देश्यका लागि समर्पण पौडेलले द्वन्द्वका समयमा जेल जीवन पनि बिताए । विसं २०५८ सालमा उनलाई सेनाले नियन्त्रणमा लिएपछि ३ वटा जेलमा बिताएका त्रासदीपूर्ण भोगाइका खत उनको शरीरमा अझै छ ।

टाउको मात्र देखाएर जमिनमुनि गाडेर राखिएका कैयौं दिन, पत्तीले चिरेका घाउमा नुनखुर्सानी दलिएको यातना होस् वा फलामको रडले ढाडमा पिट्दा बनेका घाउ जीवनभर भुल्न नसक्ने मानसिक यातना खेपेका पौडेलले लामो समय मानसिक रोगको उपचारसमेत गराउनुपर्‍यो । विगतको संघर्ष उनी सम्झन चाहन्नन् ।

आफूले गरेका संघर्ष र त्याग केही नेताको उद्देश्य प्राप्तिका लागि प्रयोग भएको उनले गुनासो गरे । 'क्रान्तिको सपना त भ्रम भयो,' पौडेलले भने, 'केही नेताको जीवनस्तर सुधार्ने क्रान्ति पो गरिए छ ।' उनलाई आजभोलि पार्टी र पार्टीका नेतृत्वको बोलीमा विश्वास लाग्दैन ।

यातना भोगेका पौडेलको शरीर कुँजोजस्तै छ । बिहान जुरुक्क उठ्न सक्दैनन् । उठेको धेरै बेरपछि मात्र नियमित काम गर्न सक्छन् । गह्रौं सामान उठाउन उनको हात र ढाड कमजोर छन् ।

उनलाई चिन्नेहरू अझै पनि पुराना दिन सम्झाइदिन्छन् । 'तपाईंले हामीकहाँ आएर १५/२० जनालाई भात पकाएर खुवाउन भन्नुहुन्थ्यो, हामीले केही नबोली सहयोग गरेका थिएम्, अहिले अटो चढेको पैसा दिनुपर्छ र, भातको पैसा कटाए हुन्न ?' यस्ता भनाइ पौडेललाई नौलो लाग्दैन । उनले भने, 'ठिकै त भन्नुभयो, मैले भनेको भरमा कति जनालाई खाना खुवाउनुहुन्थ्यो, अहिले पैसा मागिहाल्न मलाई पनि अप्ठेरो लाग्छ ।' पौडेलले पार्टी त्यागे पनि उनको पुरानो परिचय फेरिन सकेन । ११ महिना भयो उनी कुनै पनि पार्टी निकट नरहेको घोषणा गरेको ।

भरतपुर महानगरमा पौडेलजस्ता थुप्रै पूर्व लडाकु अटो चलाएर गुजारा चलाउँछन् । अरुका लागि काम गर्नुभन्दा आफैं मालिक हुन पाउने गरी अटो चलाउनु ठीक लागेर ऋण खोजेरै भए पनि अटो किनेको सुधीर देवकोटाले बताए । २० वर्षको छँदा विसं २०६० सालमा माओवादी लडाकुको रूपमा प्रवेश गरेका उनी प्राविधिक जिम्मेवारीमा थिए । आईएससी पढेर माओवादी लडाकु बनेका उनले पढाइ छाडे र पार्टीमा होलटाइमर भए । देशमा शान्तिसम्झौता भएपछि बम बारुद बनाउने सुधीरको दैनिकी फेरियो ।

इलेक्ट्रोनिक काम जानेका उनले केही समय यसैमा जीविका खोजे । ग्राफिक्स डिजाइनको काम गरे । तर आम्दानीको बलियो स्रोत नभएपछि उनी बिदेसिन बाध्य भए । ३ वर्ष दुवईमा श्रम गरे । २०७२ सालमा भूकम्प गएपछि उनले परिवार छोडेर टाढा बस्न चाहेनन्, स्वदेश फर्किए । दुध डेरी चलाए । किसानले गरेको दुःखअनुसार मूल्य नपाएको महसुस गरेका उनी बिरक्तिएर त्यो पेसा पनि छोडे ।

विदेशबाट आउँदा ल्याएको कमाइले अटो किने र चलाउन सुरु गरे । साढे दुई वर्षदेखि उनी भरतपुरमा अटो चलाएर जीविकोपार्जन गरिरहेका सुधीरलाई आफू पूर्वलडाकु हुँ भनेर कसैले नचिनून्जस्तो लाग्छ । २९ वर्षका हेटौंडाका सोनाम लामा पनि पूर्व लडाकु हुन् । उनी १४ वर्षको किशोरावस्थामा माओवादी लडाकु बनेका थिए । देशमा शान्ति सम्झौतापछि सेना समायोजनका बेला चितवनको शक्तिखोरमा क्यान्टोनमेन्टमा रहेका उनले अवकास रोजे ।

लामो समय चितवनमै बिताएकाले चितवनकै पदमपुरमा बस्न रुचाए । यहीँ अन्तरजातीय बिहे गरे । उनी श्रीमती र छोरीसँग चितवनमा बस्छन् । हेटौंडामा उनकी आमा र बहिनी छन् । उनीहरूलाई घरखर्च सोनामले नै पठाउँछन् । भारी बोक्ने, मजदुरी गर्ने, लेबर काम सबै गरे । ६ महिना भयो उनी अटो चलाउन थालेका छन् । भाडाको अटो चलाउने सोनामले दैनिक १५ सय जति कमाउँछन् । ७ सय रुपैयाँ साहुलाई दैनिक भाडा बुझाउनुपर्छ । पेट्रोल हालेर बचेको रकमले अभाव नटर्ने उनले बताए ।

गोर्खाका बद्रबहादुर थापा पनिजीविकोपार्जनका लागि चितवनमा अटो चलाउँछन् । पूर्वलडाकु उनले ४ वर्ष वैदेशिक रोजगारमा बिताए । विगतमा सेनाको नियन्त्रणमा जेलमा भोगेका यातनाले उनलाई साउदी अरबमा मजदुरी गर्न गाह्रो भयो । उनी नेपाल फर्किए । ४७ वषर्ीय थापा अहिले चितवनमा अटो चलाउँछन् । 'भारी काम गर्न शरीरको पुरानो घाउचोटले दिँदैन,' थापाले भने, 'अटो चलाउँदा शारीरिक बोझ नपर्ने रहेछ ।' अटो चलाएर मासिक बैंकको १० हजार किस्ता, चितवनको महँगो घरभाडा तिरेर ४ जनाको परिवार जेनतेन पालेको छु ।

चितवन र नवलपुरको गैंडाकोटमा करिब २३ सयको हाराहारीमा तीनपांग्रे सवारीसाधन चल्छन् । तीमध्ये १८ सय चितवनमा मात्र चल्छन् । जसमा करिब एक सयवटा अटो पूर्वलडाकुले चलाउँछन् । लामो समय लडाकु बनेर हिँडेका उनीहरूले सामाजिक जीवनमा र्फकन यो पेसा रोजेको बताएका छन् । द्वन्द्वका बेला विभिन्न शारीरिक चोट खेपेकाले धेरै परिश्रम गर्न नसक्ने पूर्वलडाकु अटो चलाउन इच्छुक देखिन्छन् ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

गर्भवती चेपाङ महिलामा कुपोषणको समस्या

प्रमिता ढकाल

भरतपुर — चितवनको कालिका नगरपालिका–१० की लालीमाया चेपाङ एक साताअघि सुत्केरी भएकी हुन् । उनको पाँचौं सन्तान मृत अवस्थामा जन्मिएको थियो । पछिल्लो सन्तान गर्भमा आएदेखि स्वास्थ्य परीक्षण गराउन लालीमाया नियमित स्वास्थ्य चौकी जाने गर्थिन् ।

गर्भावस्थामा तौल निकै कम भएकाले उनलाई स्वास्थ्यकर्मीले पोसिलो खाना खान र आराम गर्न सुझाएका थिए । गर्भावस्थामा नियमित जाँच गराउनुपर्ने सचेतना भए पनि आर्थिक अभावका कारण पोसिलो आहार र आराम सम्भव थिएन । बच्चा जन्माउन आएकी लालीमायाको तौल जम्मा ४० किलो थियो ।

जटिलतालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीले जोखिम लिन चाहेनन् र अस्पताल जान सुझाए । गर्भवती लालीमाया एक्लै जान सम्भव थिएन । उनका श्रीमान् तथा परिवारले घरतिरै फर्काए । सुत्केरी व्यथा सुरु भइसकेकी उनले अन्नततः गर्भमै मरेको छोरालाई जन्माइन् । सुत्केरी लालीमायाको अवस्था अहिले थप जटिल छ ।


सात वर्षदेखि साविकको सिद्धि गाविसमा स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत सानुमाया तामाङका अनुसार यो लालीमायाको एक्लो कथा होइन । कालिका नगरपालिकाका विकट पहाडी भेगमा विपन्नताकै कारण कुपोषणको समस्या धेरै छ । सानुमायाले भनिन् ,‘खाने कुरै छैन भने हामीले पोसिलो खान खानुस् भनेर मात्र कहाँ हुनु ।’ ९ महिनाकी गर्भवती महिलाको तौल उनको सुरुवाती तौलभन्दा १२ किलो बढी हुनुपर्छ ।

तर कुपोषणका कारण चेपाङ समुदायका गर्भवती आमाहरूमा आवश्यक तौल पुग्नै नसक्ने अवस्था विकराल छ । बिहीबार स्वास्थ्यचौकीमा २४ वर्षीया पुतली चेपाङ गर्भवती जाँच गराउन आएकी थिइन् । ८ महिनाकी गर्भवती पुतलीको पनि तौल कम देखियो । ८ महिना पुग्दा उनको तौल ७ किलो मात्र बढेको थियो । नियमित जाँचमा आउने गरेकी उनलाई स्वास्थ्यकर्मीले पोसिलो आहारमा जोड दिए पनि अभावकै कारण व्यवहारमा उतार्न सम्भव नरहको बताइन् ।

‘घरमा जहान धेरै छौं,’ पुतलीले भनिन्, ‘मैले मात्र खाएर भएन ।’ दुई घण्टा हिँडेर स्वास्थ्य चौकी आइपुगेकी पुतलीलाई चौथो पटक स्वास्थ्यचौकीसम्म आउन पनि सकस छ । भेगका स्थानीयलाई स्वास्थ्य चौकीसम्म आउन न्यूनतम दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । खोलिएका ट्र्याकमा पानी पर्दा हिलाम्मे भएर चिप्लिने डर छ ।


विसं २०५९ सालमा बर्थिङ सेन्टर सुरु गरिएको सिद्धि स्वास्थ्य चौकीमा सुरुवातमा १२ जनाले सुत्केरी गराएका थिए । १७ वर्षपछि अर्थात यस आर्थिक वर्षको ९ महिनासम्म स्वास्थ्यचौकीमा १९ जनाले मात्र सुरक्षित सुत्केरी गराएका छन् । कालिका नगरपालिका १० र ११ का सेवाग्राही आउने स्वास्थ्यचौकीमा करिब १ हजार २ सय जना प्रजनन् उमेरका महिला छन् । सरकारले पहाडी भेगका गर्भवती महिलालाई स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा लिएबापत यसै आर्थिक वर्षबाट १ हजार ८ सय उपलब्ध गराउन सुरु गरेको छ । नियमित चार पटक स्वास्थ्य जाँच गराएका र स्वास्थ्यचौकीमा पुगेर सुत्केरी सेवा लिनेलाई मात्र यो सुविधा दिने व्यवस्था छ । गाउँकै स्वास्थ्यचौकीसम्म आउन असम्भव हुने चेपाङ समुदायले अस्पताल पुगेर सेवा लिने संख्या न्यून छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्