कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्न सकेन सम्पदा बस्ती

राजेन्द्र मानन्धर

दोलखा — प्राचीन सभ्यताका दुई दर्जन सार्वजनिक पाटीहरू देख्दादेख्दै भत्किए । अहिले त्यहाँ व्यक्तिका घर र आँगन छन् । यही पुस्ताका आँखा अगाडि किरात, मल्ल र शाहकालीन मठमन्दिर नासिँदै गए । धारा र ढलहरू पुरिए । अहिले त्यहाँ व्यक्तिका निजी संरचना छन् ।

पौराणिक राज्यको इतिहास बोकेको दोलखा बजारका सम्पदाहरू इतिहासका पानामा सीमित हुने खतरा बढेपछि स्थानीयहरू चिन्तित छन् । बाटाहरू मिचिएपछि यस वर्ष कष्टपूर्वक मच्छिन्द्रनाथको रथ गन्तव्यमा पुर्‍याइयो । कतिपयले यस वर्ष उक्त रथ तान्दातान्दै ढल्नुको कारण सार्वजनिक बाटाहरू अतिक्रमणलाई लिन्छन् ।


आधुनिक नेपालका सुरुवातकालसम्म दोलखाको चौघेरा स्वतन्त्र राज्यको अस्तित्वमा थियो । राजाहरूले शासनको बागडोर समाल्दै मन्दिर र मूर्तिहरूको सहरका कला, संस्कृति सिर्जना गर्दै जोगाउँदै छोडेका थिए । 'पुर्खाहरूले जात्रा र पर्वहरूलाई विचार गरेर बनाएका १० मिटर चौडासम्मका बाटाहरू नयाँ पस्ताले मिच्दै गए,' स्थानीय राजनीतिक प्रतिनिधि ज्ञानेन्द्र प्रधान भन्छन्, 'यहाँका मानिस भेला हुने सार्वजनिक चौरसम्म नापी गरेर व्यक्तिको पोल्टामा पारियो ।'


नेवारी संस्कृति र परम्पराका सयौं थरीका जात्रा, चाडपर्व र परम्पराले भरिएको दोलखा बजार आधुनिक आवरणमा ढालिँदै गइरहेकामा नयाँ पुस्ता चिन्तित छन् । एकपछि अर्को सार्वजनिक सम्पदामाथि कब्जा जमाइँदा सरकारी निकाय भने चुपचाप बसिरहेको आरोप भीमेश्वर नगरपालिका २ स्थित दोलखा बजार क्षेत्रका वडा सदस्य चरित्रकृष्ण श्रेष्ठ बताउँछन् ।


'योजनाबिनै प्राविधिकले सार्वजनिक जग्गा मिचेर बनाइएका नक्सालाई कानुनी हैसियत दिँदै गएकाले जटिल बन्दै गयो,' उनले आरोप लगाए । उक्त वडाका वडाअध्यक्ष विराजमान श्रेष्ठ मठमन्दिर, देवल, पाटीपौवा, डबली मिचेर बनाइएका संरचना यकिन गरी भत्काउनेसम्मको योजना बनाइरहेको बताउँछन् ।


प्राचीन सहरको सम्पदा बस्ती पुनर्निर्माणसम्बन्धी संवाद कार्यक्रममा राजनीतिक प्रतिनिधि प्रेमकृष्ण श्रेष्ठले ढल, धारा, कुलो मठमन्दिर, विद्यालय क्षेत्रभित्रका सार्वजनिक जग्गा मिच्नेलाई कारबाही नभएको गुनासो गरे । 'हामीलाई भने दुइटा बाख्रा बाँध्ने खोर पनि सार कि सार भनेर किचकिच गरिन्छ, मिच्नेले मिचेको मिचै छन्,' उनले भने ।


पुर्खाहरूबाट निर्मित दोलखा बजारभित्रका धार्मिक मार्गहरू मिचेर व्यक्तिका घरका दलान, आँगन र मलखाद बनाइएका छन् । भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठका अनुसार चरम अतिक्रमणले जात्रा पर्व चलाउन पनि कठिन पर्दै गएको छ । उनी पुरातत्त्व विभागले गरिरहेको सम्पदाहरूको पुनर्निर्माणप्रति पनि असन्तुष्ट छन् ।


दोलखा बजारका मौलिक र परम्परागत शैलीभन्दा पनि ठेकेदारलाई सजिलो पर्ने गरी पुनर्निर्माण भइरहेको आरोप उनको छ । भीमेश्वरको भण्डार घर बनाउने बेला पुरातत्त्वको कार्यशैलीको विरोध नै गर्नुपरेको सुनाउँदै संवाद कार्यक्रममा दोलखाको परम्परागत मौलिकता जोगाउन व्यक्तिदेखि राज्यपक्षसमेत उत्रिएको बताए ।


'दोलखाको इतिहास नलेखी नेपालको इतिहास पूरा हुँदैन' भन्ने इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइ स्मरण गर्दै स्थानीय राजनीतिक प्रतिनिधि राकेश श्रेष्ठ दोलखाको इतिहास मेटिँदै गएकोमा चिन्ता गर्छन् । उनको भनाइमा नगरपालिकाले दिएको नक्सा डिजाइनका कारण सम्पदा बस्ती बिगि्रँदै गएको हो ।


दोलखाको इतिहासको जानकार अगुवा शिक्षक तीर्थनारायण जोशीले भनेे, 'दोलखा बजारभित्र बटुवा आराम गर्ने, भजकिर्तन गर्ने र भेला हुने ३५ वटा पाटी थिए । 'खै कहाँ गए ती पाटीहरू ? हेर्दाहेर्दै धेेरैजसो पाटीहरू व्यक्तिका घर र पसलकौलमा परिणत भए,' उनले कार्यक्रममा सबैलाई सुनाए ।


दोलखा बजारभित्र ११ वटा गल्लीहरू थिए । अहिले ती गल्लीहरू खुम्चँदै व्यक्तिको हुन पुगेको दुःखेसो उनको छ । पुरातात्त्विक सम्पदाहरू चोरीको शृंखला सुरु हुनुपूर्व दोलखा बजारका प्रायःजसो घरमा मन्दिर थिए र मन्दिरभित्र पुरातात्त्विक देवताको मूर्तिहरू थिए । दुंगल टोलको एक मन्दिरका मूर्तिहरू हराएपछि देवताको फोटो अंकित कागजका पोस्टरलाई पूजा गर्नुपर्ने दुर्दशा आएको स्थानीय टीका जोशी बताउँछन् ।


हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा बस्ती पुनर्निर्माणबारे नीति नपठाएकाले दोलखा बजारका घरहरू मौलिकता हराएको ढाँचामा बनिरहेका छन् । बलिया घरहरूमा पुर्खाहरूले बनाए जस्तैगरी दलान, ढु‌ंगामा कमेरो माटो लिपिएका गारा, त्यस्तै प्रकृतिका झयाल ढोकाका आकृति दिने योजना पुनर्निर्माणको ढिलासुस्तीले समाप्त हुँदै गएको वडा अध्यक्ष विराजमान श्रेष्ठ बताउँछन् ।


लगभग तीन सय ६५ वटा किरात, मल्ल र शाहकालीन कलाकृति झल्कने स्वरूप दिन सकिने घरहरू बन्ने सूचीमा थिए । वडा कार्यालयका अनुसार ६५ प्रतिशत घरहरू पुनर्निर्माण प्राधिकरणले दिएको नमुनाकै घरहरू बनिसकेका छन् । सम्पदा बस्तीका लागि भूकम्पपीडितलाई दिन तीन लाखबाहेक थप ५० हजार निकासासमेत नभएकाले उक्त बजारले सम्पदा बस्तीमा पुनिर्निर्माण हुने अवसर गुमाएको हो ।


प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदा बस्तीसम्बन्धी कार्यविधि बनिसकेको बताउँछन् । तर, स्थानीय तहमा कार्यान्वयन गर्ने निकाय भवन डिभिजन कार्यालय भने कार्यविधिको अभावले सम्पदा बस्ती सम्बन्धमा केही गर्न सकिने अवस्था नभएको बताउँदै आएको छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?