पानीले पुनर्निर्माण सहज

नगेन्द्र अधिकारी

काभ्रे — भूकम्पपछि साविक चण्डेनीमण्डन गाविसमा पानीका मूल सुके । नजिकमा पानीका मूल सुकेका कारण स्थानीयले धेरै सास्ती खेप्नुपर्‍यो । पुनर्निर्माण नै असहज भयो । स्थानीय कृष्णबहादुर तामाङले प्रति लिटर दुई रुपैयाँ पानी किनेर घर बनाए ।

'पानी पनि किनेर घर बनाउनुपर्ने बाध्यता आइपर्‍यो, ४७ हजारको त पानी मात्रै खरिद गरेँ,' कृष्णबहादुरले भने, 'मेरो जस्तो समस्या अरुले भोग्नु नपरोस् भनेर पानी ल्याउने उपाय खोज्न थाले, अहिले सबैको घरघरमा धारा झरेको छ ।'

खानेपानीको चरम समस्या भोगेपछि चण्डेनीमण्डनको माथिल्लो भेगका स्थानीयले धेरै निकाय धाए । उनीहरूको समस्या सरकारी, गैरसरकारी सबै क्षेत्रले सहयोग गरेका छन् ।

खानेपानीको क्षेत्रमा कार्यरत शान्ति जनआदर्श सेवा केन्द्रको पहलमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले ७० लाख ८८ हजार बजेट विनियोजन गरेपछि यहाँका २५२ घरधुरीको खानेपानीको सपना साकार भएको छ ।

फ्याफुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत भएको काममा जिल्ला समन्वय समितिले १४ लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ७ लाख ४० हजार, मण्डनदेउपुर नगरपालिकाले ६ लाख, कारितास नेपालले १५ लाख, गाउँ सामुदायिक समितिले ४ लाख, साविक चण्डेनीमण्डन गाविसले ५ लाख सहयोग गरेका छन् ।

'खानेपानी योजनाको लागि धेरै दुःख पाएका थियौं, अहिले घरघरमा धारा हुँदा धेरै खुसीका भएका छौं,' उपभोक्ता समितिका अध्यक्ष कुमार तामाङले भने, 'मिहेनतको प्रतिफल पाएका छौं, यसले अब पुनर्निर्माणमा पनि सहज हुनेछ ।'

अनुदान तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्याकंअनुसार, साविक चण्डेनीमण्डन गाविसमा ७२ प्रतिशत पुनर्निर्माण सम्पन्न भएका छन् । लाभग्राही सम्झौता गरेका १ हजार ५३ मध्ये ७८७ लाभग्राहीले निर्माण सम्पन्न गरेर तेस्रो किस्ताबापतको रकम बुझिसकेका छन् । वडाअध्यक्ष विष्णुमणि नेपालले सबैको सहयोगले पुनर्निर्माणले तीव्रता लिएको बताए ।

जिल्लाको साविक ज्याम्दी, चण्डनीमण्डन, महादेवस्थान, गैरिबिसौना, कुशादेवी, शंखुपाटीचौर, कोसीपारि तथा डाँडापारिका गाविसहरूमा खानेपानीका मूल बढी सुकेका थिए । भूकम्पले पानीको मूल सुकेपछि मण्डनदेउपुर ९ (साविक चण्डेनीमण्डन) को माथिल्लो भेगका स्थानीयहरू छिमेकी गाविससम्म पानी लिन पुगेका थिए ।

काकाकुल नै हुने स्थिति देखेपछि किनेर पानी ल्याउन थाले । धेरैले २ रुपैयाँप्रति लिटर किनेर पुनर्निर्माण गरे । तर अहिले कथा फेरिएको छ । '४ कोठे पिलरसहितको घर बनाए, पानीकै समस्याका कारण ढलान गरिनँ,' कृष्णबहादुर भन्छन्, 'गारोमा हाल्ने बेला पानी किन्न पैसा भएन तर अरूले सहजै घर बनाएको देख्दा अहिले खुसी लाग्छ ।' चण्डेनीमण्डनको माथिल्लो भेगमा अधिकांशले पानी किनेर घर बनाएका छन् । स्थानीय लोकनाथ नेपालले पानीमा मात्रै १३ हजार खर्च भएको बताए ।

उनका छिमेकी काले तामाङले भने घर बनाउनको लागि पानीमा धेरै पैसा खर्च गर्नुपरेन । २ महिनाभरि धारामा आएको पानी प्रयोग गर्दा १६ सय मात्रै खर्च भयो । 'पानी किनेर ल्याउन पैसा नभएको कारण घर बनाउन नै ढिला गरेको हुँ,' काले तामाङले भने, 'आउँछ अनि बनाउला भन्दै कुरा ढिला भयो, तर पानी भएपछि निकै सजिलो भयो ।'

प्रकाशित : वैशाख १८, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशूली थ्रीएको संरचनाको परीक्षण

कान्तिपुर संवाददाता

नुवाकोट — ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रीए जलविद्युत् आयोजनाको संरचना र उपकरणहरूको सफल परीक्षण गरिएको छ  । आयोजनाले विद्युत् उत्पादन सुरु गर्नुअघि परीक्षण गरेको हो  ।

आयोजनाले विद्युत् उत्पादन सुरु गर्नुअघि परीक्षण गरेको हो । विद्युत् उत्पादन गर्नुपूर्व विद्युत् गृहमा रहेका उपकरणहरूको परीक्षण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।


नुवाकोट र रसुवामा निर्माण भइरहेको आयोजनाबाट पहिलो युनिट (३० मेगावाट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य लिएकोमा ती संरचना र त्यहाँ रहेका उपकरणहरूको परीक्षणमा समय लागेकाले व्यावसायिक उत्पादन केही ढिलाइ भएको घिसिङले बताए । भूकम्प र पहिरोलगायतका समस्या झेल्दै बनेको आयोजनालाई निरन्तरको प्रयास स्वरूप अब विद्युत्् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्‍याएको कार्यकारी निर्देशक घिसिङले बताए ।


‘ननलोड टेस्टिङ सफलतापूर्वक सम्पन्न भएको छ,’ उनले भने, ‘सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए/नभएको हेर्ने, पानी खाली गर्न र भर्न ५/६ दिन लाग्छ ।’ आयोजनाका अन्य कामहरू यथावत् चल्छन् ।


यही १ जेठमा एउटा युनिटबाट विद्युत्् उत्पादन गर्ने जनाइएको छ । अर्को ३० मेगावाटको दोस्रो युनिटले असार महिनाभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना स्थल शान्ति बजारबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण कार्य सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना जनाएको छ । सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण भइरहेको छ । ईपीसी (इन्जिनियरिङ, खरिद र निर्माण) मोडलमा सिभिल विद्युत् गृह, सुरुङ, बाँध लगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा (सीजीजीसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको विषयमा विगतमा विद्युत् गृह भूमिगत वा जमिनमाथि बनाउने, ६०/९० क्षमता बढाउने लगायतका कारणले निर्माण ढिलाइ भएको थियो । पछि १६ असार २०७३ (३० जुन २०१६) मा म्याद थप गरिएको थियो ।


भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँधस्थल, प्रवेश मार्ग क्षति पुर्‍याएको थियो । नेपाली सेनाले पहिरोको रोकथाम गरी सडक मर्मत गरेको थियो ।

प्रकाशित : वैशाख १८, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्