कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँभरि काठैकाठका घर

पुनर्निर्माणमा प्रयोग गरिएन इँटा, ढुंगा, सिमेन्ट र माटो
बलराम घिमिरे

रसुवा — पहिले इँटा, ढुंगा र काठका घर थिए । भूकम्पपछि पुनर्निर्माणमा भने काठैकाठ प्रयोग भए । नयाँ तरिकाले बनाइएका घरले थुमन गाउँ सुन्दर र चिटिक्क देखिएको छ । इँटा, ढुंगा, सिमेन्ट तथा माटाको प्रयोगबिनै थुमन गाउँमा घर पुनर्निर्माण गरिएको छ ।

गाउँभरि काठैकाठका घर

भूकम्पअघि यस गाउँमा ढुंगाको गारो र स्थानीय भाषामा ‘पाङलिङ’ भनिने काठको फलेकका छाना थिए । स्थानीय मौलिक परम्पराका घर थिए । पुनर्निर्माणसँगै गाउँको पुरानो संरचना फेरिएको छ । अहिले जस्ताको छाना, काठैकाठ र सिसा प्रयोग गरेर घर पुनर्निर्माण गरिएको छ तर चिटिक्क र सुन्दर देखिएको छ । थुमन गाउँ तामाङ समुदायको बसोबास भएकाले सांस्कृतिक रूपमा समेत पनि धनी छ ।

चाडपर्वमा बौद्ध धर्मावलम्बीले टाँग्ने रंगीविरंगी झन्डा, लुङदरले थुमनको सौन्दर्य अझ बढाएको छ । यो गाउँ तामाङ सम्पदा पदमार्गभित्र पर्छ । गोसाइँकुण्ड गाउँपलिका १ थुमनका निमा तामाङले तीन लाख अनुदान पाएर घर निर्माण गरिसकेका छन् । उनले काठैकाठको प्रयोग गरेर घर निर्माण गरेका छन् । थुमनलाई नमुना पर्यटकीय गाउँ बनाउनकै लागि काठैकाठको प्रयोग गरेर घर निर्माण गरेको निमाले बताए । स्थानीयले पुरानै तामाङ शैलीमा घर निर्माण नगरे पनि अहिलेको घरमा इँटा, ढुंगा र सिमेन्टको प्रयोग गरेका छैन्न ।

इँटा, ढुंगा र सिमेन्टको प्रयोग गर्दा राम्रो नदेखिने भएकाले काठको प्रयोग गरेको औं तामाङले बताए । घर निर्माणका लागि गाउँको माथि जंगलबाट काठ ल्याउनुपर्छ । इँटा, ढुंगा र सिमेन्टभन्दा पनि काठको प्रयोग गरे घर निर्माण गर्दा महँगो पर्छ । काठको घर निर्माण गर्दा महँगो परे पनि गाउँ सुन्दर र चिटिक्क देखिएको छ ।

पर्यटक पनि यस्तै काठले बनेका घरमा बस्न रुचाउने स्थानीयले बताए । पुनर्निर्माणसँगै थुमन गाउँ भूकम्पभन्दा अगाडिकै अवस्थामा पुगेको छ । करिब ९५ प्रतिशतभन्दा बढी भूकम्प प्रतिरोधी घर निर्माण भइसकेको वडा अध्यक्ष फुर्पुसोनाम तामाङले बताए । ‘करिब एक सय वटा घर होटल सञ्चालन गर्ने हिसाबले निर्माण भएका छन्,’ उनले भने । साबिकको थुमन गाविसमा ३ सय ४४ जना लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले बताएको छ ।

भूकम्पपछि थुमन गाउँमा आउने पर्यटक पनि बिस्तारै बढदै गएको होटल व्यवसायी पासाङ तामाङले बताए । पुनर्निर्माणपछि गाउँमा होटलको संख्या पनि थपिएको उनले बताए । गाउको माथि नकथली रहेको छ । नकथलीबाट तिब्बतको भूभाग, लाङटाङ हिमाल, गणेश हिमाललगायत थुप्रै मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । तामाङ कला र संस्कृति, रहनसहनलगायत विभिन्न क्षेत्रको अवलोकन गर्न पर्यटक आउने गर्छन् ।

थुमन गाउँलाई होम स्टेका रूपमा विकास गर्ने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । आन्तरिक पर्यटक बढाउन प्रदेश सरकारसँग समन्वय गरेर थुमन गाउँमा होमस्टे बनाउने गाउँपालिकाको योजना रहेको उनले भने । तामाङ सम्पदा मार्गको स्याफ्रुबेंसीबाट गोल्जुङ, गत्लाङ चिलिमे, नाकथली हुँदै थुमन पुग्न सकिन्छ । स्याफ्रुबेंसीबाट सिधै दुई घण्टा पैदलयात्राबाट पनि पुग्न सकिन्छ । भूकम्पले धेरै भौतिक क्षति पु‍र्‍याएको स्थानमध्येमा पर्ने यो गाउँ पनि एक हो । भूकम्पमा परेर उक्त गाउँमा २ जनाको मृत्यु भएको थियो भने ९९ सय प्रतिशत घरमा क्षति पुगेको थियो ।

भूकम्प गएको ४ वर्षमा रसुवा जिल्लामा ९ हजार ६ सय ७३ घर निर्माण सम्पन्न भएको छ । पछिल्लो समय जिल्लामा पुनर्निर्माणले गति लिइरहेको छ । जिल्लामा १२ हजार ४ सय ९२ जना लाभग्राही रहेका छन् । त्यसमध्ये ११ हजार ७ सय ४४ जनाले पहिलो किस्ताबापतको ५० हजार बुझिसकेका छन् । दोस्रो किस्ता बुझ्नेको संख्या १० हजार ९ सय ११ रहेको छ ।

९ हजार ६ सय ७३ जनाले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले बताएको छ । करिब ७७ प्रतिशतले घर निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका सामाजिक विकास विशेषज्ञ तथा सूचना अधिकारी मौलीधन राईले बताए ।

प्रकाशित : वैशाख १७, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?