चन्द समूहका इन्चार्ज घलान फेरि पक्राउ

हेटौंडा — चन्द समूहका मकवानपुर इन्चार्ज वीरवहादुर घलान (ज्वाला) लाई प्रहरीले सोमबार पुनः पक्राउ गरेको छ  । जिल्ला अदालत मकवानपुरमा १८ हजार धरौटी राखेर तारेखमा सोमबार छुटेका घलानलाई अदालतको प्रवेशद्वारबाट निस्कनेबितिक्कै प्रहरीले पक्राउ गरेको थियो  ।

प्रहरीले गत चैत २८ गते घलानलाई हेटौंडा उपमहानगरपालिका ८ वटा पक्राउ गरेको थियो ।

उनलाई अदालतमा विस्फोटक पदार्थमा मुद्दा चलाएको थियो । जिल्ला अदालतले उक्त मुद्दामा १८ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको थियो । अदालतमा धरौटी नराखेका कारणले उनलाई वैशाख २ गते क्षेत्रीय कारागार भीमफेदीमा पठाएको थियो ।

घलानले आइतबार अपराहृनमा जिल्ला अदालतमा १८ हजार रुपैयाँ धरौटी बुझाएका थिए भने जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हातहतियारसम्बन्धी मुद्दाको ६० हजार रुपैयाँ जरिवाना पनि बुझाएका थिए ।


भीमफेदी कारागार प्रशासनले सोमबार अदालतमा उपस्थित गराएको थियो । अदालतले वैशाख ३० गतेलाई तारेख दिएको थियो । तारेख लिएर अदालतको परिसरवाट बाहिरिँदै गर्दा प्रहरीले घलानलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले घलानको अर्को मुद्दा भएकाले पुनः पक्राउ गरिएको बताए ।

उनलाई नेपाल बन्दको क्रममा मकवानपुर हेटौंडा उपमहागनरपालिका १९ नेवारीपानी नजिकै गाडीमा आगजनी गरेको आरोपमा मुद्दा लगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले हेटौंडाले हालसम्म ७ जना चन्द समूहका कार्यकर्ता भएको आरोपमा पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । घलानसहित चार जना अझै प्रहरी हिरासतमा छन् ।

प्रकाशित : वैशाख १७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?