कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विद्यालय भवन हस्तान्तरण

हेटौडा — मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङस्थित महालक्ष्मी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

विद्यालय भवन हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्माण गरिएको १६ कोठे नवनिर्मित भवन शनिबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । भारतीय महावाणिज्यदूत काउन्सिलर बीसी प्रधानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर लम्साललाई विद्यालयको साँचो हस्तान्तरण गरेका हुन् ।


भारत सरकारको १ करोड ६० लाख ६५ हजार र नेपाल सरकारको २० लाख ७० हजार रुपैयाँमा बानियाँ निर्माण कम्पनीले बनाएको हो । कम्पनीलाई भारतीय महावाणिज्य दूतावासले तत्कालीन जिल्ला विकास समितिमार्फत २०७१ साल जेठ १४ गते निर्माणको जिम्मा दिएको थियो ।


कम्पनीले २०७२ मंसिर २६ गते सम्पन्न गर्ने भनेर सम्झौता गरे पनि विभिन्न कारणले २०७४ साल पुस ३० गते निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि शनिबार विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।


नवनिर्मित भवनको साँचो हस्तान्तरण गर्दै महावाणिज्यदूत प्रधानले भारत सरकार नेपाल सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको बताए । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भारत सरकारले सहयोग गर्दै आएको भन्दै विकट सुपिङमा विद्यालय भवन बनेकामा खुसी व्यक्त गरेका थिए । असल छिमेकीको नाताले भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्ने गरेको उनको भनाइ थियो ।


भारत सरकारले सन् २००६ मा सुरु गरेको साना विकास परियोजनाअन्तर्गत नेपालमा हालसम्म करिब २ सय ८० वटा विद्यालय निर्माण गरिसकेको जानकारी गराएका थिए । काउन्सिलर प्रधानले भारत सरकारले नेपालका ३ हजार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै उल्लेख गरेका थिए ।


विद्यालयमा हाल प्राविधिकसहित कक्षा १ देखि १० सम्म २ सय २१ विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र २०७५ बाट प्राविधिकतर्फ विद्यालयले बाली विकास कक्षासमेत सञ्चालन गरेको छ । विद्यालयमा अहिले दरबन्दी शिक्षक ११ जना र निजी स्रोतका ४ गरी १५ जना शिक्षक रहेको प्रधानाध्यापक उषा आचार्यले बताइन् ।


विकट स्थानमा विद्यालय भएका कारण पनि विद्यालयमा विद्यार्थी र शिक्षकको संख्या न्यून रहेको उनले बताइन् । शिक्षक अभावमा शैक्षिक गतिविधिमा समेत प्रभाव परेको उनको तर्क थियो ।

प्रकाशित : वैशाख १६, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?