३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सडकमा सास्ती : ठेक्का सम्झौता सकियो, निर्माण भएन

विमल खतिवडा

काठमाडौँ — पानी पर्नासाथ सडक हिलाम्मे बन्छन् । जब घाम लाग्छ, सडक रूप फेरिएर धुलाम्य हुन्छ । यो समस्या अहिले जताततै छ । सडक निर्माणका कारण खाल्डाखुल्डी बढी छन् ।

सडकमा सास्ती : ठेक्का सम्झौता सकियो, निर्माण भएन

कतै निर्माण सामग्री थुपारेर सडक साँघुरिएका छन त कतै खाल्डखुल्डी बढी भएकाले पानी पर्न साथ ताल बन्ने गर्छ । राजधानीमा अधिकांश सडक निर्माण क्रममा छन् । तर निर्माण सुरु भएको समयावधि सकिँदासमेत सडकले पूर्णता पाउन सकेको छैन ।


निर्माणको काम थालेदेखि नै सडक लथालिंग छन् । राजधानी भित्रिने र बाहिरिने मुख्य नाकासंँग जोडिएको त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्ड अझै निर्माण पूरा हुन सकेको छैन । यो खण्डलाई चार भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । ०७२ असार ३१ मा सम्झौता भएको चार खण्डकै ठेक्का सम्झौता सकिएको छ ।


काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार ऊक्त खण्डको साढे १२ किमि सडक निर्माणको त्रममा छ । पहिलो र दोस्रो खण्डमा ७० प्रतिशत काम सकिएको छ । तेस्रो र चौथोमा क्रमशः ५० र ८० प्रतिशत काम भएको उनले बताए । ‘दुई तह (लेयर) को पिच गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पहिलो तहको करिब २ किमि पिच गर्न बाँकी छ ।’


उनले दोस्रो तहको पिच पनि करिब ५० प्रतिशत सकिएको दाबी गरे । ‘असारसम्म सबै काम सक्ने लक्ष्य छ,’ उनले भने, ‘समग्रमा यो खण्डमा करिब ७० प्रतिशत काम सकिएको छ ।’ चार खण्ड मध्य तीन खण्डको निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सनले लिएको छ । कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीले गत भदौमा कान्तिपुरसंँग चैत अन्तिमसम्म उपत्यकामा ठेक्का लिएको सबै सडकको निर्माण सक्ने दाबी गरेका थिए । अहिलेसम्म निर्माणको काम नसकिँदा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।


लथालिंग सडकै कारण जाम खेप्नुपर्ने बाध्यता छ । त्यति मात्र होइन । सडक नजिकै घर भएका स्थानीय निर्माणको क्रममा भत्काइएका सडकले गर्दा समस्यामा परेका छन् । मास्क नलगाई सडक वरपर हिँडडुल गर्न सकिँदैन । कलंकी–नागढुंगा भएर सबैभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । पूर्व–पश्चिमबाट यही खण्ड भएर सवारी साधन भित्रिने र बाहिरिने गर्छन् ।


यस्तै, समस्या चाबहिल–जोरपाटी–वाग्मती–साँखु खण्डमा पनि छ । यो सडक खण्डलाई पनि ५ भागमा विभाजन गरेर ठेक्का गरिएको छ । सबैको ठेक्का सम्झौता सकिइसकेको छ । तर निर्माणले गति लिन सकेको छैन । १२ किमि सडकमध्ये बल्ल साढे २ किमि पिच भएको छ । ‘पानीले गर्दा समस्या भएको छ, पानी नपरेको भए काममा धेरै प्रगति हुने थियो,’ उनले भने, ‘पानीकै कारण काम हुन पाएको छैन, जसले गर्दा २ महिना त्यतिकै खेर गयो ।’


उनले उक्त खण्डको काम पनि यही वर्ष सक्ने दाबी गरे । ‘पानीले समस्या थपेको छ,’ उनले भने, ‘एक दिन पानी पर्‍यो भने १० दिनसम्म पिच गर्न पाइँदैन, सडकको सतह सुक्खा नभई पिच गर्न मिल्दैन, पानी परेकै बेला पिच गर्दा भत्कन्छ ।’


उनका अनुसार टुसाल, बौद्धतिर पुरानो ढल फुटेर समस्या थपिएको छ । त्यस्तै मुअब्जाको समस्या छ । ‘मुअब्जाको समस्या टुंगिइसकेको छैन, अदालतले जग्गाको पनि मुअब्जा दिन भनेकाले यसको पाटो बाँकी नै छ,’ उनले भने, ‘मुआब्जा एउटा समस्या हो, तर ठूलो समस्या पानी परेर भएको छ ।’ अहिले पिच निर्माणको काम बौद्ध र मूलपानी नजिकै भइरहेको उनले बताए । भित्री सडकको हालत पनि उस्तै छ । सडक र नाली बनाएपछि ह्युम पाइप राख्न जथाभावी सडक भत्काइएको छ ।


‘सुरुमा सडक बनाउँदै ह्युम पाइप राखेको भए पानी पर्दा सडक हिलो हुने थिएन, ओहोरदोहोर गर्न समस्या हुने थिएन,’ कपनका एक स्थानीयले आक्रोश पोख्दै भने, ‘जसरी पनि काम ढिलाइ गरेर दुःख मात्र दिने नियत ठेकदारको छ ।’ यो समस्या उनको मात्र होइन । जहाँ सडक निर्माण गरी राखिएको छ । त्यहाँका स्थानीय बढी समस्यामा छन् । धूलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित बन्दै आएको छ । कतै सडक निर्माण अलपत्र पर्दा त कतै मेलम्चीको पानी ल्याउन बिगारिएको सडकका कारण धूलोको जोखिम बढेको छ ।


सडकका जथाभावी थुपारिएको गिट्टी बालुवाको थुप्रोले जाम र दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रहरीले जनाएको छ । ‘जहिलेदेखि सडक भत्काउन थालियो, त्यही दिनदेखि व्यापार घटदै गयो,’ बौद्धका कपडा व्यापारी मीनकुमार तिमल्सिनाले भने, ‘धूलोले गर्दा नयाँ लुगा छिनभरमै पुराना हुन्छन्, हिलो उछिट्टेर पसलभित्रै पस्छ, सडकले गर्दा पाउनु दुःख पाएका छौं ।’

प्रकाशित : वैशाख १५, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?